चौधरीको वैवाहिक समारोहलाई भारतीय सञ्चारमाध्यमहरूले समेत शाही विवाहका रूपमा प्रस्तुत गरेका थिए ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
वैशाख २६, २०७४-  
उद्योगपति विनोद चौधरीले आफ्ना छोरा वरुण चौधरीको विवाह भारतको उदयपुरमा भव्यताका साथ सम्पन्न गरेका छन् । चौधरीको वैवाहिक समारोहलाई भारतीय सञ्चारमाध्यमहरूले समेत शाही विवाहका रूपमा प्रस्तुत गरेका थिए । भारतको उदयपुरमा आयोजित वैवाहिक समारोहमा वरुणले राजस्थान राज्यको जयपुर सहरकी अनुश्री टोंग्यासँग परम्परागत विवाह गरेका हुन् । उनीहरूको इन्गेज्मेन्ट गत मंसिर महिनामा भएको थियो ।

वैवाहिक समारोह यति भव्य थियो कि भारतको पुष्कर, बनारससहित थुप्रै सहरबाट आएका ३५ जना पण्डितले मारवाडी शैलीमा दुलाहा–दुलहीलाई जग्गे घुमाएका थिए । वरुण र अनुश्रीको शाही विवाहमा श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे, बलिउड अभिनेता सलमान खान, शत्रुघ्न सिन्हा, गायक मिका सिंह, मोडल डिनो मोरियो, गायिका कनिका कपुर, लेखिका शोभा डेसहित नेपाल तथा भारतका थुप्रै प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए ।मारवाडी शैलीको यो वैवाहिक समारोहमा संगीत कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
 संगीत कार्यक्रममा कनिका–श्यामकको जोडीले बेजोड प्रस्तुति दिएको थियो । विवाहको एक दिनअघि उदयविलास होटलमा सम्पन्न सांगीतिक प्रस्तुतिबीच मेहन्दी लगाउने कार्यक्रमसमेत सम्पन्न भयो । 
होटलको माणक चौकमा तिलक सम्पन्न गरिएको थियो भने वैवाहिक कार्यक्रमअन्तर्गत शुक्रबार साँझ फतह प्रकाश प्यालेसमा साफा बंधीको कार्यक्रम सम्पन्न गरिएको थियो । त्यही दिन साँझ ७ बजे फतह प्रकाशबाटै जन्ती निस्किएको थियो ।

 राति ८ बजेपछि जग मन्दिरमा वरुण तथा अनुश्रीको वैवाहिक समारोह प्रारम्भ भएको थियो । विवाहका लागि चाँदीको मण्डपलाई विशेष प्रकारको क्रिस्टलले सजाइएको थियो । मण्डपको सजावटका लागि नयाँ दिल्ली तथा अहमदावादबाट कालीगढहरू झिकाइएका थिए । जग मन्दिरमा दुलाहाको फेटा बाँध्ने प्रक्रिया रजवाडा शैलीमा सम्पन्न गरियो । विवाहका लागि तयार पारिएको चाँदीको मण्डपलाई पूर्ण रूपमा दियोले सजाइएको थियो ।वैवाहिक समारोहमा उपस्थित पाहुनाहरूका लागि ३० भन्दा बढी विशेष परिकार उपलब्ध थिए ।
 पाहुनाहरूलाई पिक एन्ड ड्रपका लागि ५ सयभन्दा बढी कारको व्यवस्था गरिएको थियो भने उनीहरूका लागि विभिन्न लक्जरी होटलमा करिब ७ सय वटा कोठा बुक गरिएको थियो । वैवाहिक समारोहमा सहभागिता जनाउन नेपालबाट चलचित्रकर्मी नीर शाहसहित केही सेलिब्रेटी तथा व्यवसायी उदयपुर पुगेका थिए ।

को हुन् अनुश्री ?
जयपुरका आभूषण व्यवसायी राजकुमार टोंग्याकी छोरी हुन्— अनुश्री टोंग्या । जयपुरस्थित महारानी गायत्री देवी गल्र्स स्कुल तथा इन्टरनेसनल कलेज फर गल्र्सबाट विद्यालय तहको अध्ययन सम्पन्न गरेकी अनुश्रीले बेलायतबाट उच्च शिक्षा पूरा गरेकी हुन् । अनुश्रीले बेलायतको किङ्स कलेज, लन्डनबाट उच्च शिक्षा पूरा गरेको बताइन्छ ।


 

Related Posts: