मतगणना रोकिएका ठाउँमा विवादको कारण यस्तो छ

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, जेठ ७ – वैशाख ३१ गते पहिलो चरणमा मतदान भएका ३४ जिल्लाका २ सय ६४ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अब १९ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ । तर पोखरा लेखनाथ महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकामा भने विवाद भएपछि मतगणना रोकिएको छ ।पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएको भन्दै शनिबार दिउँसो एमाले बाहेकका दल बाहिरिएका हुन् ।


मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको र हस्ताक्षर पनि फरक देखिएको भन्दै रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन ।

त्यसको छानबिनको माग गर्दै नेपाली कांग्रेससहितका दलका प्रतिनिधि बाहिरिएपछि मतगणना कार्य स्थगित गरिएको हो । मतगणना स्थगित भएपछि निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखे पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।

पोखरा लेखनाथ महानगरपालिकामा अहिलेसम्म एमालेका मानबहादुर जिसीले अग्रता लिनु भएको छ । उहाँले २० हजार ५ सय १ मत ल्याउँदा नेपाली कांग्रेसका राजमजी कुँवरले १८ हजार ६ सय ७० मत पाउनु भएको छ ।

त्यस्तै उपमेयरमा पनि एमालेकी मञ्जुदेवी गुरुङले १९ हजार ३ सय ६ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसकी सरस्वती गुरुङले १७ हजार ७ सय १२ मतका साथ पछ्याई रहनुभएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा विवादको कारणभक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना पनि शुक्रबार देखि रोकिएको छ । नेपाली कांग्रेस, मजदुर किसान पार्टी र राप्रपाले ३ र ४ नम्बर वडाको मतगणनामा धाँदली भएको भन्दै विरोध गरेपछि मतगणना स्थगित भएको हो । उनीहरुले मतगणनामा बस्ने कर्मचारी परिवर्तन गर्न समेत माग गरेका छन् । एमालेले भने मतगणनामा धाँदली नभएको बताएको छ ।

विवाद मिलाउन छलफलका लागि प्रशासनले पटक पटक बोलाउँदा पनि कांग्रेस, नेपाल मजुदुर किसान पार्टी र राप्रपा छलफलमा गएका छैनन् । आइतबार १० बजे छलफलका लागि आउन सबै दललाई प्रशासनले फेरि अग्रह गरेको छ ।

९ वटा वडा रहेको चाँगुनारायणका १, २, ३ र ४ मा मतगणना सकिएको छ । यसमध्ये १ र २ मा नेपाली कांग्रेस विजयी भएको छ भने ३ नं वडामा एमाले विजयी भएको छ । ४ को मतगणना सकिएपनि विरोधका कारण घोषणा भने हुनसकेको छैन ।

शुक्रबार चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणना स्थगित भएको थियो । तर शनिबार बिहान सर्वदलीय बैठक बसेर १० बुँदे सहमति गरेपछि भरतपुरमा भने मतगणना भइरहेको छ ।

Related Posts: