काठमाडौं महानगरपालिकाको मेयरमा २८ जनाको उम्मेद्वारी परे पनि मुख्य चर्चामा अहिलेसम्म ४ जना छन्- राजुराज जोशी, विद्यासुन्दर शाक्य, किशोर थापा र रञ्जु दर्शना । हामीले चुनावी बहसको डिस्कोर्समा अर्का उम्मेद्वार फेला पार्यौं- पवित्र बज्राचार्य, जसले फ्लाइओभरको साटो महानगरपालिकाको फोहोरको कुरो गरे । नयाँबानेश्वरस्थित एक कफीसपमा अनलाइनखबरको निम्तो स्वीकार्दै एकजना हँसमुख उम्मेद्वार छिरे । हातमा मोटरसाइकलको चाबी थियो । हात मिलाउँदै उनले स्थानीय नेवारी लवजमा भने- ‘ढुलो पनि कत्ति धेरै ! जामले गर्दा गाडी छाडेर मोटरसाइकलमा दौडिएर आएको, जिउभरि ढुलो लाग्यो !
हामीले मेयरका उम्मेदवार बज्राचार्यसँग हल्का ठट्टाबाट कुरो सुरु गर्यौं- ‘काठमाडौंको मेयरको उम्मेदवार बन्नुभएको छ, अरुले जस्तै धुलो र जाम हटाइदिन्छु, फ्लाइओभर बनाउँछु, रेल कुदाउँछु भने भैहाल्यो नि अब । केको धुलो को चिन्ता ?’
जवाफमा उनी एकाएक प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रतिर खनिए । ‘१० वर्षदेखि महानगरपालिकाको संयन्त्रमा बसेर बजेट खेलाएका उनीहरुले चुनावअघि काठमाडौंको धुलो देखेका थिएनन् ?’ बज्राचार्यले भने- ‘यो महानगरलाई यस्तो हालतमा पुर्याउने उनै कांग्रेस, एमाले र एमाओवादी हुन् ।’
ठूला दलविरुद्ध निर्मम रुपमा प्रस्तुत भएका बज्राचार्य मसाल चुनाव चिन्ह लिएर काठमाडौं महानगरपालिकाको मेयरमा लड्दैछन् । उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका साझा उम्मेदवार हुन् । तर, उनी नयाँ शक्तिका कार्यकर्ता होइनन् । उनी संघीय समाजवादीका हुन् । तथापि उनी आफूलाई राजनीतिज्ञ कम र सामाजिक अभियन्ता भन्न बढी रुचाउँदा रहेछन् ।
बज्राचार्यले आफूलाई पूर्वमेयर केशव स्थापितभन्दा लोकपि्रय रहेको दाबी गरे । विगतमा आफू एमालेबाट मेयरमा उठ्नै लागेका बेला स्थापितले टिकट पाएको उनले बताए ।को हुन् पवित्र बज्राचार्य ?काठमाडौंको मेयरका लागि चुनावी प्रतिस्पर्धामा होमिएका पवित्र बजा्रचार्य को हुन् भन्ने धेरै मतदाताहरुलाई थाहा छैन । त्यसैले हामीले उनका चुनावी एजेण्डा र महानगरको विकासे भिजन सुन्नुअघि उनको पृष्ठभूमिबारे जान्न चाह्यौं । उनले आफ्नो परिचय र पहिचान यसरी खुलाएः
म २०१५ सालमा झोंछेमा जन्मिएको हुँ ।त्यहाँ अहिले मेरो पसल छ । मैले व्यवस्थापन विषयमा एमबीए गरेको छु । काठमाडौं महानगरमा विद्यार्थीकालमै वडासमिति सदस्य भएको म तीन कार्यकाल वडा अध्यक्ष निर्वाचित भइसकेको छु । बुहदल आएपछि सूर्यचिन्ह लिएर वडाध्यक्ष जितेपछि कार्यवाहक मेयर भएरसमेत काम गरेको अनुभव छ । पीएल सिंह र केशव स्थापित दुबैको कार्यकालमा म काठमाडौं महानगरपालिकामा वडाध्यक्ष निर्वाचित भएको व्यक्ति हुँ ।
मेरा बुबा परमानन्द बज्राचार्य गणेशमानहरुसँगै राणाविरोधी आन्दोलनमा लालाग्नुभएको थियो । उहाँलाई मृत्युदण्डको सजायँ सुनाइए पनि बच्ँनुभयो । उहाँ राजनीतिक पीडित हुनुहुन्थ्यो ।म सररस्वती क्याम्पसमा आइए पढ्दै थिएँ, त्यही बेला बुबा बित्नुभयो । सानैमा परिवारको दायित्व सम्हाल्नुपर्यो । त्यसपछि हामीले पसल चलाउन थाल्यौं । अहिले पनि म खुद्रा पसलेहरुको व्यवसायिक संगठनको अध्यक्ष छु ।
पञ्चायतकालमा काठमाडौंको स्थानीय चुनाव भयो । मेरो वडाबाट शिद्धिचरण श्रेष्ठका छोरा रविचरण श्रेष्ठ वडाअध्यक्षमा उठ्नुभयो । म सदस्यमा उठें र चुनाव जितें । म त्यसबेला कलेज गइराखेको थिएँ । शंकरदेव क्याम्पसमा बीकम पढ्दै थिएँ ।
रविचरणले वडा कार्यालयमा नससहरुलाई नोकरजस्तै व्यवहार गर्थे । होच्याउथे । अर्को पटक म आफैं वडाअध्यक्षमा उठें र जितें । मैले सबै नससहरुलाई समान व्यवहार गर्न थालें । उनीहरुको काम विभाजन गरें । उनीहरु कोही पनि कामविहीन भएनन् । पाँचैजनाले काम गर्न पाए । मलाई पनि काम हल्का भयो । वडाध्यक्ष हुँदाहुँदै पसलमा बस्न पनि भ्याउने, कलेज जान पनि पाउने । मैले काठमाडौं २३ को वडाध्यक्ष भएकै बेला एमबीए सिध्याएँ ।
पञ्चायतविरुद्ध ०४६ सालको आन्दोलनका बेला हामीलाई पञ्चायतको भण्डाफोर गरेको भन्दै निलम्बन गरियो । हामी त्यसबेला रापंस सदस्य पदमरत्न तुलाधारबाट प्रभावित थियौं । हामी त्यसबेला जनपक्षीय भनेर चिनिन्थ्यौं । त्यसैले कतिपय समय अन्डरग्राउण्ड पनि बस्नुपर्यो ।
आन्दोलन सफल भएपछि ०४९ को स्थानीय चुनावमा पनि मैले २३ नम्बर वडाध्यक्षमा जितें । बहुदल आएपछि मैले स्वतन्त्रबाटै चुनाव जितेको थिएँ । ०५४ को दोस्रो स्थानीय चुनावमा चाहिँ एमालेको सूर्य चिन्हबाट जितेको हुँ ।
पछि मलाई संघीय समाजवादीमा मंगलसिद्धी मानान्धरले लगाउनुभएको हो । उहाँ र हामी एउटै टोलको हो ।दोस्रो संविधानसभामा म संघीय समाजवादीबाट सभासदमा उठेको थिएँ । तर, धेरै भोट आएन । तैपनि केशव स्थापितको भन्दा मेरो दोब्बर भोट आयो । त्यसबेला केशव स्थापितले काठमाडौं ६ मा चुनाव लड्दा १ हजार भोट मात्रै ल्याएका थिए ।
म काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि हुनुका साथै महानगरभित्र विभिन्न सामाजिक संघ संगठनमा आवद्ध छु । म खुद्रा व्यवसायी संघको महासचिव हुँदै अध्यक्ष बनें । अहिले तेस्रो कार्यकालको अध्यक्ष छु । उपभोक्ता हित संरक्षण मञ्चको कोषाध्यक्ष पनि भएँ । त्यसबेला डा. सुन्दरमणि दीक्षित अध्यक्ष हुनुहुन्थ्यो ।