काठमाडौं: नेकपा एमालेका ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले मतगणनामा गडबड भएको भन्दै आपत्ति जनाउनु भएको छ। ‘गणकहरुले मत संख्यामा गडबड गरिराखेका छन्। गणकले प्राप्त मतलाई रुजु नगरी सार्वजनिक गर्नुले गणनामा थुप्रै गडवडी भेटिन्छ,’ यो भनाइ ललितपुर महानगरका एमाले मेयरका उम्मेदवार हरिकृष्ण व्याञ्जनकारको हो।
बुधबारसम्म थुप्रै मतले नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनलाई पछि पार्नु भएका हरिकृष्णले बिहीबार चिरीबाबुले हजार बढी मतले अग्रता लिएपछि यस्तो आपत्ति जनाउनु भएको हो। हरिकृष्णले अन्नपूर्णसँग भन्नुभयो, ‘जनताले दिएको एक मतले पनि ठूलो फरक पार्छ। तर, नतिजा प्रकाशन गर्नुअघि रुजु नहुनु गम्भीर देखिन्छ, गणकहरुको लापरबाहीप्रति हाम्रो गम्भीर आपत्ति छ।’ पछिल्लो नतिजा अनुसार कांग्रेसका मेयर उम्मेदवार महर्जनले ११ हजार आठ सय ४३ मत प्राप्त गर्दा एमालेका मेयर उम्मेदवार ब्याञ्जनकारले ११ हजार एक सय तीन मत प्राप्त गर्नु भएको छ।