कान्छा जनप्रतिनिधि भन्‍छन्, ‘अब देश बनाउने पालाे हाम्रो’

भिडियो सहित हेर्नुहोस !
Advertisement


पहिलो चरणको स्थानीय निर्वाचनको परिणाम अब थोरै बाँकी छ । तर, युवा प्रतिनिधित्व कस्तो रह्यो भन्ने कुराले खासै स्थान पाएको छैन । दलीय राजनीतिमा युवाभन्दा सम्पूर्ण पार्टीको विजय महत्वपूर्ण हुने भएकाले पनि यस्तो भएको हुन सक्छ । चुनावअघि युवा नेतृत्वलाई जति आवश्यक ठानिएको थियो, चुनावपछि ती सबै कुरा छायाँमा परे र पार्टीको हारजितको हिसाबकिताब हुन थाल्यो । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको पहिलो शृंखलामा केही युवा अनुहार देखिए पनि त्यो उल्लेख्य रूपमा रहेन । युवावर्गमा जोश, जाँगर तथा काम गर्ने उत्साह हुने भएकाले आफूहरूले देशको नेतृत्व पाउनुपर्ने उनीहरूको माग हो । आफूहरूलाई अवसर दिए जिम्मेवारी बोक्न तयार रहेको कुरा पनि राजनीतिमा आउन चाहेका नयाँ पुस्ताले बताइरहेका छन् । वर्षौंसम्म एकै पात्र र प्रवृत्तिले शासन गरिरहेको र विकास हुन नसकेको कारण राजनीतिमा फरक अनुहार खोज्नुपर्ने आवाज उठिरहेकै छ । काठमाडौं महानगरपालिकाको मेयरमा २३ हजार ४ सय ३९ मत कटाएर विवेकशील नेपालीकी २१ वर्षीया रञ्जु दर्शना युवाको रोल मोडेलका रूपमा देखापरेकी छन् । उनलाई ‘छायाँ मेयर’ पनि भन्न थालिएको छ । थोरै भए पनि यो चुनाबबाट केही नयाँ अनुहारले अवसर पाउनु सकारात्मक पक्ष हो । यसै चुनाबबाट वडाध्यक्षमा विजय हासिल गरेका २६ वर्षीय कान्छालाल जिम्बा भन्छन्, ‘नेपाली जनता युवा प्रतिनिधिको खोजीमा छन् भन्ने कुरा हाम्रो विजयले पनि संकेत गर्छ । तर, नेतृत्वले यो कुरा बुझ्दैन र बुझ्न चाँहदैन पनि ।

जिम्बाजस्तै कविता बराल, रञ्जु तोलांगी, जानुका पराजुली, पम्फा बसेलजस्ता नयाँ अनुहारलाई स्थानीय निर्वाचनले केही जिम्मेवारी दियो । देशको सेवा गर्न आफूहरू तम्तयार रहेको उनीहरूले प्रण गरेका छन् । नयाँ आएका युवा प्रतिनिधिहरूलाई शुभकामना तथा बधाई दिँदै तरुण दलका अध्यक्ष जितजंग बस्नेत नेपाली समाजको मुख्य समस्या भ्रष्टाचार रहेकाले यसलाई समाधान गर्न युवा वर्गलाई आग्रह गर्छन् । उदाउँदो पुस्ता ललितपुर धोबीघाटकी २३ वर्षीया रञ्जु तोलांगी समाजसेवा गर्न मन पराउँछिन् । उनलाई स्कुल पढ्दादेखि नै समाजमा केही राम्रो काम गर्नुपर्छ भन्ने लागेको थियो । विभिन्न कार्यक्रममा सहभागी हुन्थिन् पनि । यही रुचिले उनी स्थानीय तहको निर्वाचनमा ललितपुर वडा नम्बर ३ मा एमालेबाट दलित सदस्यमा निर्वाचित भइन् । महानगरको मेयरमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाको सर्वत्र चर्चा भइरहँदा सानो पदमा विजेता बने पनि तोलांगीले पनि चर्चा बटुलिन् । नेस्फिल्ड कलेजबाट ‘सोसल वर्क’मा स्नातक तह सकेर बसेकी उनलाई आफ्नो गाउँ तहमा राम्रो काम गर्न सक्छु भन्ने लागेको छ ।एमालेबाट विजयी तोलांगी स्थानीय निर्वाचनअघि राजनीतिक दलमा लागेकी थिइनन् ।

उनलाई कुनै पार्टीप्रति झुकाव पनि थिएन । समाजको सक्रिय मान्छे भएकाले अरू दलले पनि आफ्नो पार्टीबाट उम्मेदवारी दिन आग्रह नगरेका पनि होइनन् । तर, गाउँमा एमालेले अरू दलले भन्दा राम्रो काम गरेकाले उनलाई सोही पार्टीबाट चुनावमा उठेर राम्रो काम गर्न सक्छुजस्तो लाग्यो । चौतारा–साँगाचोकगढी नगरपालिकाको उपमेयरमा निर्वाचित ३० वर्षीया जानुका पराजुलीले भर्खरै ग्रामीण विकासमा स्नातकोत्तर गरेकी छन् । माओवादी केन्द्रबाट चुनावमा प्रतिस्पर्धा गरेकी उनले सात जना प्रतिस्पर्धीलाई उछिन्दै उपमेयर जितिन् । उनले ०५५ सालमा एसएलसी दिएपछि बन्दुक बोकेर युद्धमा होमिएकी थिइन् । जनयुद्धका गाह्रो/अप्ठ्यारो उनले नजिकैबाट नियालिन् । शान्ति प्रक्रियापछि पनि उनले राजनीतिबाट विश्राम लिइनन् । बरु अखिल क्रान्तिकारीको केन्द्रीय जिम्मेवारीमा समेत पुगिन् । राजनीतिमा लागेपछि छुटेको पढाइलाई पूरा गरिन् । यस्तै, किराञ्चोक माविमा कक्षा ११ मा अध्ययनरत २२ वर्षीया कविता बराल धादिङ गजुरी गाउँपालिकाबाट महिला सदस्य निर्वाचित भइन् । शिक्षा संकायमा अंग्रेजी अध्ययनरत उनी विजय भएसँगै पढाइलाई पनि निरन्तरता दिने पक्षमा छिन् । भन्छिन्, ‘घरसँगै माइतीको पनि साथ रहेकाले पढाइ र राजनीतिलाई सँगै लिएर जानेछु ।’ अब हाम्रो पालो २६ वर्षमा गाउँपालिका प्रमुख बनेका कान्छालाल जिम्बा माओवादी केन्द्र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य छन् । भन्छन्, ‘मलाई जनताले विश्वास गरे, अब मैले राम्रो काम गर्छु भन्ने विश्वास दिलाउनु छ ।’ लामो समयदेखि नेपाली राजनीति केही सीमित व्यक्तिको वरिपरि मात्रै घुमिरहेको सत्य हो । नेपाल आर्थिक विकासको क्षेत्रमा पछि परेको कुरालाई पनि नकार्न सकिँदैन । तर, परिणाममाथि मात्रै छलफल गर्ने त्यसका कारणहरूलाई नखोतल्ने हो भने समस्याको समाधान गर्न गाह्रो छ । नेपाली राजनीतिको एउटा समस्या भनेको युवा पुस्ता नेतृत्व तहमा नपुग्नु पनि हो । सामाजिक सञ्जालदेखि राजनीतिक बहसहरूमा समेत युवा नेतृत्वको खाँचो औंल्याइन्छ । उमेरभन्दा काम गर्न सक्ने मान्छेलाई जिताउनुपर्ने तरुण दलका अध्यक्ष बस्नेत बताउँछन् ।


Related Posts: