काठमाडौं महानगरको मतगणना अब तीन ठाउँबाट गरिने

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना मंगलबारदेखि तीन ठाउँबाट गरिने भएको छ । पहिलो दिन सोमबार एक ठाउँबाट गन्दा राति ११ बजेसम्ममा करिब ३ सयमात्र गणना भएको थियो । परिणाम ढिलो भएको भन्दै आमजनताले व्यापक गुनासो गरेपछि निर्वाचन आयोगले महानगरको मतगणनालाई तीब्रता दिने भएको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीले मंगलबारबाट कम्तिमा तीन समूह बनाएर मतगणना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘तत्काल दुईवटा समूह बनाएर काम थाल्न लागिएको छ । आजैदेखि ३ समूह बनाएर गणना थाल्न निर्देशन दिएका हौं ।’ महानगरपालिकाको वडा नम्बर १ स्थित नक्सालको मत गणना गरिरहेकोमा अब ३२ नम्बर वडाको पनि मत गणना गर्न लागिएको हो । सोमबार बिहानैदेखि गणना गर्ने भनिए पनि दिउँसो २ बजेबाट गणना सुरु गरिएको थियो । हालसम्म ७ सय ११ मतमात्र गणना भएको छ ।

काठमाडौं महानगरपालिकाको अन्तिम मतगणना परिणाम एक साताभित्र आउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन मतगणनाको अवलोकन गर्दै निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले मत गणना ढिलो भएका कारण आयोगमाथि दवाव परेको बताउँदै एक साताभित्र मतपरिणाम आउने गरी काम थालिने बताए ।

मंगलबार बिहान राष्ट्रिय सभा गृहमा मतगणना कार्यको अवलोकन गर्दै सचिव मैनालीले मतगणना गर्ने स्थान थप गरी जतिसक्दो चाँडो परिणाम ल्याउने गरी काम अघि बढाउन निर्देशन दिनुभएको थियो । वडा नम्बर ३२ कोटेश्वरमा पर्छ । तेस्रो समूहले कुन वडाको गणना गर्ने भन्ने टुंगो लाग्न सकेको छैन। अन्नपूर्ण पोस्टबाट साभार