भारतको पश्चिमी क्षेत्रमा पर्ने राजस्थान राज्यमा बिहीबार एक बैबाहिक कार्यक्रम भइरहेको ठाउँमा पर्खाल भत्किएर च्यापिएका मध्ये कम्तीमा २६ जनाको मृत्यु भएको छ । राजस्थानको राजधानी जयपुरदेखि १८६ किलोमिटर पूर्वतर्फ पर्ने भारतपुर जिल्लामा बुधबार अवेर राति विवाह भइरहेको बेला पर्खाल भत्किएको प्रहरी अधिकारीले बिहीबार जनाएका छन् ।
“गएराति अवेर बैबाहिक कार्यक्रम भइरहेको हलमा पर्खाल भत्किएको थियो, त्यसले च्यापेर कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने अरु २७ जना घाइते भएका छन्,” एक वरिष्ठ प्रहरी अधिकृतले भने । उनले थपे, “घाइते भएका सबैलाई अस्पतालमा भर्ना गरिएको छ, मृतकको शव भने उनीहरुका आफन्तलाई बुझाइएको छ ।” विवाह समारोहमा सहभागीले खाना खाइरहेका बेला २८ मिटर लामो र चार मिटर अग्लो पर्खाल भत्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
विवाहमा आएकाका लागि राखिएको खाना भत्किएको पर्खालले पुरिएको प्रहरीले जनाएको छ । राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुलाई उपचारमा सक्दो सहयोग गर्न सम्वन्धित निकायलाई निर्देशनसमेत दिएकी छन्। स्थानीय सरकारले समेत उनीहरुका लागि सहयोग गर्ने घोषणा गरेको छ । यस्ता भौतिक संरचना भत्किदा पुरिएर मृत्यु हुने घटना भारतमा धेरै नै हुनेगरेको छ । रासस