दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनका लागि यतिखेर गाउँठाउँमा रौनक नै अर्कै छ । मुलुकका हरेक गाउँहरु सडक सञ्जालमा धमाधम जोडिन थालेपछि सवारी साधनले उपस्थिति जनाएको गाउँहरु भेटिन छाडेका छन् ।यही कारण पनि यतिखेर गाउँगाउँमा चुनावी प्रचारको सजिलो माध्यम सवारी साधन बनेका छन् । तर सवारी साधनको उपस्थिति, चर्को आवाजका साथ माइक बजाउने प्रवृति र चुनावी नारा घन्काइएका गीतहरुका कारण जताततै ध्वनी प्रदुषण फैलिएको चिन्ता पनि गरिन थालिएको छ ।
पर्वतमा अधिकांश राजनीतिक दलले चुनाव प्रचारको लागि सवारीसाधनमा चर्को स्वरमा माईक र स्पिकर जोडेर चुनावको माहौल तताउने गरेका छन् । सवारीसाधनमा चर्को स्वरमा माईक र स्पिकर जोडेर प्रचारप्रसार गर्दा ध्वनी प्रदुषण बढेको छ । विहान सबेरै देखि राति अबेरसम्म नै निकै ठूलो स्वरमा दलका नारा, गीत तथा भोट माग्न विज्ञापन बजाउँदा ध्वनी प्रदुषण बढेको हो ।
आयोगको मापदण्ड विपरित एउटै दलले दर्जनौ सवारीसाधनहरुमा प्रचारप्रसारका लागि ध्वनि यन्त्रहरु जडान गरेका छन् । बजारमा मात्र नभएर यसको प्रभाब गाउँ गाउँ सम्म देख्न सकिन्छ । विभिन्न कलाकारहरुले गाएका पार्टी निकट गीतहरु बजाएर दलहरु मत माग्न मग्न छन् । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, लगायतका दलहरुले प्रचारप्रसारको मुख्य माध्यमनै दलका नारा तथा गीत बनाएका छन् । दलहरुले सुन्न सकिने भन्दा पनि बढि क्षमतामा माईकहरु बजाउँदा स्कुले बालबालिका र साना बच्चाहरुलाई समस्या परेको शिक्षकहरुको समेत गुनासो छ ।
यता राजनीतिक दलहरुले पनि आफ्नो दललाई भोट हाल्न आग्रह गरिएका गीतहरु बजाउँदा निकै प्रभावकारी हुने भएकाले प्रचारप्रसारको मुख्य माध्यम यसैलाई बनाईएको बताउँछन् । निर्वाचनको आचारसंहिता विपरित नै हुनेगरी ध्वनी प्रदुषण फैल्याइएको भएपनि अहिले सम्म कुनैपनि निकायको ध्यान जान सकेको छैन । जिल्ला निर्वाचन कार्यालयले यस वारे सम्वन्धित दलहरुको ध्यानाकर्षण गराउने जनाएको छ ।
पर्वत जिल्लाभित्र र बाहिर संचालन हुने सवारीसाधनहरु पनि अहिले दलहरु प्रचारप्रसारमै व्यस्त रहेका छन् । झण्ढै एक सय भन्दा बढी सवारीसाधन दैनिकजसो दलहरुको प्रचारप्रसारमा प्रयोग भैरहेको पर्वत यातायात व्यावसायी समितिले जनाएको छ ।