काभ्रेको बनेपा, पनौती र धुलिखेललाई कांग्रेसको किल्लाको रुपमा लिइदै आइन्थ्यो । यी नगरबाट कांग्रेसलाई अत्याधिक भोट आउने पनि गर्दथ्यो । तर, यसपटकको स्थानीय तहको चुनावमा यी तीनवटै कांग्रेसका परम्परागत क्षेत्रमा एमालेले कब्जा जमाएको छ । काभ्रेका १३ वटा स्थानीय तहमा पाँच नगरपालिका एमालेले जित्दा पाँचखाल नगरपालिका कांग्रेसले जित्यो । पाँचखाल कांग्रेसको भन्दा एमाले किल्लाको रुपमा परिचित ठाउँ हो । तर, राजेन्द्र खरेलका छोरा महेश खरेलले एमालेको वर्चस्वलाई शिथिल बनाइदिए । धुलिखेलबाट एमालेका अशोक ब्यान्जु मेयर निर्वाचित हुन सफल भए ।
बनेपा वर्षौदेखि नै कांग्रेसको क्षेत्र हो । तर, यसपटक राप्रपा हुँदै १० वर्षयता एमालेमा रहेका लक्ष्मीनरसिंह बादेले प्रमुखमा जिते भने उपप्रमुखमा पनि एमालेकी रेखा सापकोटा विजयी भइन् । बनेपाकै भोटले कन्चनचन्द्र बादेले एमालेका गोकुल बास्कोटालाई पराजित गर्न सफल भए पनि बादेले कांग्रेसलाई नगरमा जिताउन नसक्नुलाई आश्यचर्यका साथ हेरिएको छ ।
उता पनौतीमा पनि पनौती बाहिरका कुशादेवीका भीम न्यौपानेले नगरपालिका प्रमुखमा जिते । पनौतीबाट विदुर बन्जारा उठे पनि बाहिरका न्यौपानेले पराजित गरिदिए । उता देउपुर मण्डन नगरपालिकामा एमाले जिल्ला अध्यक्ष टोकबहादुर वाइवा विजयी हुन पुगे । नमोवुद्ध नगरपालिकाबाट एमालेका टिपी शर्मा विजयी हुँदा रोशी, तेमाल र बेठानचोक गाउँपालिकामा कांग्रेस विजयी भएको छ । महाभारत र चौरी देउराली माओवादी केन्द्रले जित्द भुम्लु सल्ले खानीखोला गाउँपालिका एमालेले जित्यो । १३ तहमध्ये एमालेले ७, कांग्रेसले चार र माओवादीले दुई तह जित्न पुगे ।