ओली देउवाप्रति आक्रामक, प्रश्न गरे– ‘२२ दिनपछि प्रधानमन्त्री बन्दा के बिग्रन्छ ?

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ ९, २०७४- एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवाप्रति आक्रामक भएका छन् । उनले चुनाव बिथोल्न प्रधानमन्त्री बन्न हतार गरेको भन्दै सरकार परिवर्तनमा सचेत हुन आग्रह गरे ।

काठमाडौंमा मंगलबार आयोजित प्रचार विभागको कार्यक्रममा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको भन्दै देउवाप्रति आक्रोसित भए । ‘भेट्दै पिच्छे खै छाडेको, खै छाडेको, अब त मेरो पालो आयो नि भनेको छ,’ देउवातिर संकेत गर्दै भने, ‘मैले छाड्ने, हुनेवालालाई पनि भनें २२ दिनपछि अर्को मान्छे प्रधानमन्त्री हुँदा के बिग्रन्छ ?’

ओलीले राजीनामापछि आउने नीति तथा कार्यक्रम र बजेटको अपनत्व कसले लिने भन्दै प्रश्न गरे । ‘नीति कार्यक्रम कसको हो ? बजेट कसको हो ? कि त अगाडि नै गरेको भए हुन्थ्यो, नीति कार्यक्रम पर्सी आउँदैछ, यता प्रमले राजीनामा दिदै हुनुहुन्छ,’ उनले भने ।

ओलीले देउवा लोकतन्त्रको आन्दोलन हुँदा बेलायतमा बरालिएको र गृहमन्त्री हुँदा निहत्था १ सय २२ नागरिकको हत्या गरेको आरोप लगाए ।

सरकार परिवर्तनको ‘तमासा’प्रति आफ्नो रुचि नभएको भन्दै ओलीले प्रधानमन्त्रीले राजीनामा गरेपछि सुरु हुने नयाँ सरकार गठन प्रक्रियामा आफूहरु सहभागी हुने बताए ।

ओलीले निर्वाचनअघि तराईका केही जिल्लामा स्थानीय तहको सङ्ख्या थप गर्ने र केही तहलाई महानगर र नगरपालिकामा स्तरोन्नत गर्दा निर्वाचनलाई ख्यान नगरिएको बताए । ‘स्थानीय तहको संख्या र सीमा निर्धारणको विषय जनताको सेवा, सुविधा तथा स्वशासनसँग जोडिएको जनताको प्रत्यक्ष सरोकारको विषय हो । सीमा र संख्या हेरफेर गर्ने विषय भए पनि यो काम संविधान र प्रचलित कानुनबमोजिम नै हुनुपर्छ,’ ओलीले मंगलबार नै जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘स्थानीय तहको संख्या थपेको विषयमा भने एमालेले कुन नीति लिने उनले खुलाएनन् । यति भने, ‘हलो जोत्ने मान्छेले हातमा किताव होइन, लौरो बोकेको हुन्छ, किताव देखाउँदा त्यो तान्नेले मान्दैन । कहिले कहिले किताव बोकेर हुँदैन मर्यादित लोकतान्त्रिक कार्य गर्नुपर्दछ, यदि सत्ताले त्यसो गरेन भने संविधान, कानुन विपरीत चल्यो भने बुझ्ने भाषामा बुझाउनुपर्छ ।’

ओलीले एमालेले कांग्रेस र माओवादीलेजस्तो छोरी जिताउन र आफू प्रधानमन्त्री हुने स्वार्थमा तालमेल नगरेको जिकिर गरे ।

Related Posts: