अढाइ लाखको जागिर छाडेर उम्मेदवार

भिडियो सहित हेर्नुहोस !
Advertisement


प्युठान : मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने जागिर छाडेर झिमरुक गाउँपालिका-२ बादीकोट सिलिंगे प्युठानका चन्द्रकुमार महतरा स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार बन्नुभएको छ । अबको जीवन राजनीतिक यात्रामा लागेर समाजको सेवा गर्ने उद्देश्यले उहाँ गाउँ फर्कनुभएको हो ।

‘पैसाभन्दा गाउँ प्यारो लाग्यो', उहाँले भन्नुभयो, ‘सामाजिक क्षेत्रमै बाँकी जीवन बिताउने मन छ ।' नेकपा एमालेले महतरालाई गाउँपालिकाको २ नम्बर वडा अध्यक्षमा टिकट दिएको छ । ५३ वर्षीय महतराले बहराइनमा झन्डै १२ वर्षसम्म जागिर गर्नुभएको थियो । ‘मासिक २ हजार २ सय ८० डलर तलब हुन्थ्यो', उहाँले भन्नुभयो, ‘नेपालीमा २ लाख ४० हजार रुपैयाँ पुग्थ्यो ।'

द्वन्द्वकालीन २०६३ सालमा उहाँ बहराइन जानुभएको थियो । ‘डीएसएल कार्गो मल्टीनेसनल कम्पनी' मा कार्यरत महतराले अब विदेश नफर्कने गरी घर आएको जानकारी गराउनुभयो । ‘कम्पनीमा राजीनामा दिएर आएको छुँ', उहाँले भन्नुभयो, ‘फ्रि भिसामा विदेश गएको हुँ । सबै परिवार काठमाडौंमा छन् । गाउँमै बसेर समाजको सेवा गर्ने मन छ ।'

महतराले भारतीय सेनाबाट समेत अवकाश पाइसक्नुभएको छ । १६ वर्ष भारतीय सेनामा कार्यरत रहेर उहाँले ३८ वर्षको उमेरमै अवकाश पाउनुभएको थियो । गाउँकै बलभद्र माविमा प्राथमिक तहसम्म पढ्नुभएका उहाँले स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको छ । ‘गाउँमा खानेपानीको चरम समस्या छ', उहाँले भन्नुभयो, ‘अध्यक्षमा विजयी भएमा खानेपानीको सुविधामा जोड दिनेछु ।' गाउँमा सडक सञ्जाल र सामाजिक क्षेत्रमा सुधार गर्नेपर्ने थुप्रै विषय रहेकाले यसतर्फ विशेष जोड दिइने प्रतिवद्धता उहाँले जनाउनुभएको छ ।






Related Posts: