झापा, ८ साउन | झापामा फेरी डरलाग्दो सवारी दुर्घटना भएको छ |
भ्यानले ठक्कर दिदा एकको घटना स्थल मै मृत्यु भएको छ भने अर्काको चिन्ताजनक अवस्थामा उपचार भै रहेको छ | दुर्घटना झापाको विर्तामोड स्थित देउनिया सडकखण्डमा भएको थियो | उक्त दुर्घटनामा मोटरसाइकलमा सवार ३८ बर्षिय कृष्ण थापाको घटना स्थलमै मृत्यु भएको हो भने २५ बर्षिय गोविन्द चौधरीको बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । गोविन्द चौधरीको अवस्था हाल चिन्ताजनक भएको ट्राफिक प्रहरी कार्यालय विर्तामोडका इन्सपेक्टर ढुण्डीराज गिरीले जानकारी दिए ।
बिना हेल्मेट हर्चनाबाट विर्तामोड तर्फ गइरहेको मे २ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई विपरित दिशाबाट आएको म्याजिक भ्यानले ठक्कर दिदा दुर्घटना भएको हो | ठक्कर पछि मोटरसाइकलमा सवार दुवै उछिटिएर सडकमा बज्जरिदा टाउको फुटेको थियो | उक्त भ्यान भने ठक्कर दिएर फरार भएको थियो । फरार भ्यानको खोजि कार्य भै रहेको प्रहरीले बताएको छ । झापामा दैनिक जसो सडक दुर्घटना हुने गरेको छ |