'देउता'ले गर्न नसकेको न्याय

भिडियो सहित हेर्नुहोस !
Advertisement


२७ गते अन्नपूर्ण पोस्ट्को अनलाइन संस्करणमा 'अपडेट' भएको एउटा समाचारले मन भरंग भयो। समाचारको शीर्षक थियो 'सर्पले टोकेर छाउगोठमा युवतीको मृत्यु'।
अर्कोदिन अन्नपूर्ण पोस्ट्कै छापा संस्करणमा मुख्य समाचार त्यही शीर्षक थियो। त्यसको केही घन्टापछि दाङका पत्रकार नरेन्द्र केसीले एउटा फेसबुक स्टाटस लेखे 'दैलेखमा अझै तीन सयभन्दा बढी छाउगोठ।' मन अझैं उद्देलित भइरहेको थियो। घटना असार २६ गते रातिको थियो।
लगत्तै नेपालगन्ज ब्युरोबाट सम्पादकीय विभागलाई एउटा प्रस्ताव इमेल गरेँ, छाउपडीको कुसंस्कारलाई अन्त्य गर्नका लागि सरकारलाई दबाब दिनुप¥यो र त्यसका लागि दैलेखमै पुगेर फिल्ड रिपोर्टिङ गर्नुपर्‍यो। डेपुटी सम्पादक मनोज दाहालले तुरुन्तै अनुमति पठाउनुभयो।
सम्पादक युवराज घिमिरेले पनि तुरुन्तै भन्नुभयो 'ल भोलि नै दैलेख पुग्नु।' सुर्खेतका सहकर्मी ललितबहादुर बुढासँगको सल्लाहपछि सोही दिन नै म त्यहाँ पुगे। समस्या दैलेखको मात्रै थिएन। सुर्खेतका केही 'छाउपडी'ले भरिएका गाउँ छिचोल्दै हामी दैलेख पुग्यौं।
दैलेखको चामुन्डा बिन्द्रसैनी नगरपालिका लैनचौर पुग्दा असारे झरी बर्सिँदै थियो। सिमसिमाइरहेको असारे वर्षात्ले घरका भित्ताहरू रसिला थिए। माथि कौसीमा देखिएकी एउटी जिंग्रिंग परेकी 'आमा'का आँखा त्योभन्दा पनि भरिला थिए। त्यो त्यही घर थियो जहाँ नौ दिनअघि 'छाउ बार्न' गोठ बसेकी २३ वर्षीया तुल्सी शाहीलाई एउटा विषालु सर्पले आफ्नो विष छोडेको थियो। माध्यम एउटा सर्प थियो 'पाखा सरेकी' छोरीलाई गोठमै गुमाएकी उनकी आमा छोरीको किरिया बसेकी थिइन्। ती तिनै आमा हुन् देर्जुकुमारी शाही जो अहिलेसम्म पनि छाउ बारिरहेकी छिन्। १२ वर्षको उमेरमा पहिलोपटक 'रजस्वला' हुँदा उनी पनि गोठमै सुताइएकी थिइन्।
पहिलोपटक अचानक रगताम्मे भएकी उनलाई त्यो बेला डर लागिरहेको थियो, के भयो ? घरका दिदीबहिनीलाई भनेपछि उनलाई पनि गोठमा सुताइयो। त्यो बेलादेखि अहिलेसम्म उनी हरेक महिना गोठमै सुत्छिन्। पाँच दशकको उकालो चढिरहेकी उनलाई हेक्का छैन कतिपटक गोठमा सुतिन् तर अहिलेसम्म हरेक महिना त्यो क्रम दोहोरिइरहन्छ। छोरी तुल्सीको मृत्युपछि उनी अवाक् छिन्।
आँगनमा 'कालो चियो'ले हामीलाई स्वागत गर्न उभिएका थिए तुल्सीका दाइ प्रेमबहादुर शाही जसको अनुहारभरि बहिनी गुमाउनुको पीडा भरिएको थियो। कुराकानीकै क्रममा उनको अनुहारमा 'छाउ' प्रथाप्रतिको आक्रोश पनि उस्तै देखियो। अनिसँगै 'समाज'को डरले उनको बोली थर्थराइरहेको थियो। उत्तिखेरै उनी समाजको डरले फत्रक्कै हुन्थे अनि रुन्चे स्वरमा भन्थे 'हाम्लेमात्रै नमानेर के गर्नु, हाम्ले छाउ नबार्दा अरूले मान्दैनन्, छाउ नबार्नेहरूका सन्तान भनेर हामीलाई यही गाउँका मान्छेले भित्र पस्न दिँदैनन्।'
जतिसुकै पीडा भोगे पनि यो ठाउँका मानिस यो कुसंस्कारबाट बाहिर निस्कन नसक्नुको एउटामात्रै कारण त्यही सामाजिक बहिष्कारको डर हो। त्यही डरले यो प्रथाको जरा फैलाउन सहयोग गरिरहेको छ।
तीन दिनसम्म दैलेखका विभिन्न गाउँबस्तीको घुमाइ अनि त्यहाँका मानिसको कुराकानीबाट हामी प्रस्ट भयौं, यो संस्कार हटाउन त्यत्ति सजिलो छैन। हुन त गैरसरकारी संस्थाहरूले छाउप्रथाको नाममा करोडौं खर्च गरिरहेका छन्। यो संस्कार हटाउन उनीहरूले गाउँमा धेरै कार्यक्रम गरिसकेका छन्। प्रहरी लगाएर छाउगोठहरू नभत्काइएको पनि कहाँ हो र ?
केही 'इन्डिकेटरहरू'मा हरियो बत्ती बालेर यी एनजीओहरूले धूमधामसहित छाउप्रथा अन्त्यको घोषणा पनि गरेका हुन्। केही गोठहरू भत्किए, केही पैसाको खोला पनि बग्यो। गाउँमा शुभसंकेतका बाजागाजाहरू रन्किए। अनि एनजीओहरू फर्किए।

Related Posts: