श्रावण १६, २०७४- २०७३ जेठ ३१ मा दैलेखको आठबीस नगरपालिकाको नैनालामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो। कालीकोटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको ना४ख २९९८ नम्बरको बस दुर्घटनामा १० जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भयो। बढी घुम्ती, साँघुरा सडक र चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ।
गत वर्ष फागुनमा डडेलधुराको नवदुर्गा गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो। साँघुरो कच्ची र भिरालो सडकमा सन्तुलन नमिल्दा दुर्घटना भएको प्रहरीको प्रतिवेदनमा छ। प्रत्येक वर्ष मुलुकमा सवारी दुर्घटना बढ्दै गएको छ। सडकको कमजोर पूर्वाधार र चालकको लापरबाहीले सवारी दुर्घटनामा मानिसको मृत्यु र अंगभंग हुने क्रम बढ्दो छ। ट्राफिक प्रहरीको तथ्यांकअनुसार मुलुकभर प्रत्येक दिन ६ जनाको मृत्यु सवारी दुर्घटनाकै कारण हुने गरेको छ।
दुर्घटनामा आव ०७३/७४ मा २ हजार १ सय ९५ को मृत्यु भएको ट्राफिक निर्देशनालयले जनाएको छ। यस वर्ष उपत्यकामा भएका ८ हजार ९ सय ७१ सवारी दुर्घटनामा १ सय ३२ जनाको मृत्यु भएको थियो। ०७२/७३ मा भने २ हजार ६ जनाको मृत्यु भएको थियो। यसअनुसार सवारी दुर्घटनामा प्रत्येक दिन ५ जनाको मृत्यु हुने गरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको थियो। ०७२/७३ मा १५ हजार ९० वटा सवारी दुर्घटना भएका थिए। महानगरीय उपत्यका ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले मुलुकभर सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको बताए। ‘मुलुकभर सडक स्थिति एकदम नाजुक छ, यात्रीले ढुक्कसँग घर पुग्ने अवस्था छैन,’ उनले भने, ‘सवारी दुर्घटनाको संख्या अझै बढ्न सक्छ।’ खनालले दुर्घटना रोक्न ठोस योजना ल्याउनुपर्ने बताए। ट्राफिक प्रमुख खनालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको अवस्था अध्ययन गर्नुपर्ने सुझाव दिँदै भने, ‘ग्रामीण भेकमा जथाभावी सडक खन्न दिनु हुन्न, ग्रामीण तथा कृषि सडक इन्जिनियरिङ अध्ययन गरेर मात्र खन्न लगाउनुपर्छ।’ सार्वजनिक यातायातका अनुसन्धानकर्ता पुल्चोक इन्जिनियरिङ क्याम्पसका अतिथि प्राध्यापक सूर्यराज आचार्यले सडक तथा सार्वजनिक यातायातको अवस्था निकै दयनीय भएको बताए। ‘मुलुकभरको कुरा नगरौं, राजधानीकै दुरवस्था छ,’ उनले भने, ‘सडक व्यवस्थित बनाउनैपर्छ।’ ०७३/७४ मा पूर्व क्षेत्रमा २ हजार ८ सय ९३ गाडी दुर्घटनामा ४ सय ६५ जनाको मृत्यु भयो। मध्य क्षेत्रमा १४ सय ४ सवारी दुर्घटना भएका छन् भने ७ सय १४ जनाको तथा पश्चिमाञ्चल क्षेत्रमा १२ सय १६ सवारी दुर्घटनामा ५ सय ५ जनाको मृत्यु भएको तथ्यांक छ। मध्यपश्चिम क्षेत्रमा ३ सय ७० सवारी दुर्घटनामा २ सय ५५ र सुदूरपश्चिम क्षेत्रमा २ सय ३४ दुर्घटनामा १ सय २४ जनाको मृत्यु भएको छ।