भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले पनि जेब्राक्रसिङ र आकासेपुलबाहेक अन्यत्रबाट जथाभावी बाटो काट्ने पैदलयात्रीलाई कारबाही थालेको छ।
एक महिनादेखि थालेको कारबाहीको क्रममा दुई सय ४६ जना पैदलयात्रुबाट प्रहरीले ४९ हजार दुई सय रुपैयाँ राजस्व संकलन भएको परिसरले जनाएको छ।
परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी भक्तपुर–काठमाडौं ६ लेन सडक, पेप्सीकोला–सानोठिमी–भक्तपुर सडक, जगाती–च्याम्हासिंह–कमलविनायक सडक जस्ता मुख्य र सहायक सडकमा जथाभावी बाटो काट्ने पैदलयात्रीलाई कारबाही गरिएको जानकारी दिएको हो।
परिसरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाले नयाँ ठाउँमा पैदलयात्रीलाई सम्झाइबुझाई गर्दै जेब्रा क्रसिङबाट बाटो काट्न सचेत गर्दै आएको बताउनुभयो।
‘नयाँ ठाउँमा जेब्रा क्रसिङबाट बाटो काट्न सचेत गर्दै आएका छौं’, उहाँले भन्नुभयो, ‘विस्तारै ती ठाउँमा पनि कारबाहीको प्रक्रिया अघि बढाउँछौं।’
उहाँले एक महिनाभित्र ट्राफिक कारबाहीबाट २१ लाख एक हजार सात सय रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो।
जसमा सबैभन्दा बढी सवारी कारबाहीवापत १७ लाख ८८ हजार पाँच सय, मादकपदार्थ सेवनबापत दुई लाख ६४ हजार र पैदलयात्री कारबाही ४९ हजार दुई रहेको परिसरले बताएको छ।
वैशाख महिनामा उत्कृष्ट काम गर्ने दुई प्रहरी सम्मानित
त्यसैगरी सोही कार्यक्रममा परिसरले वैशाख महिनाका दुई उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सम्मान गरेको छ। चैत महिनासम्म एकएक जना प्रहरी कर्मचारीलाई उत्कृष्ट घोषणा गरिएकोमा वैशाखदेखि प्रहरी कार्य र अपराध अनुसन्धानतर्फ गरी दुईजना उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरिएको हो।
जसअनुसार प्रहरी कार्यतर्फ प्रहरी नायब निरीक्षक नारायण चुवान र अपराध अनुसन्धानतर्फ प्रहरी सहायक निरीक्षक रामबहादुर श्रेष्ठ वैशाख महिनाका उत्कृष्ट प्रहरी कर्मचारी घोषित हुनुभएको छ। उहाँहरुलाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सम्मानपत्र वितरण गर्नुभएको थियो।
The Naya Shakti Nepal (NSN) may disassociate itself from the broad left alliance due to a disagreement over the sharing of constituencies in t…Read More