जेष्ठ २७, २०७४- जो आफू कुरूप हुनुको पीडा घरबाटै भोग्न पुग्छे । बाल मस्तिष्क छँदै नराम्रीको ट्याग भिराइएकी मायादेवीका जीवन आमाको निधनपछि झन् कष्टकर बन्छन् । हजुरबुवाले शारीरिक कुरूपताकै उपज नातिनीलाई प्रताडित मात्रै गर्दैन, विवाह पनि हुन दिँदैन । त्यसपछि माया नीरस र उजाड एक घरमा आफूलाई बन्द गर्छे । साथमा केवल दुई कुकुर र पिँजडाका चराबाहेक मायाका साथी अरू छैनन् । झन्डै दुई दशकदेखिको एक्लो दैनिकीलाई तोड्दै मायाको जीवनमा कसैको अमृतरूपी सम्बोधन आउँछ, ‘डियर माया’ । मान्छेलाई जिउनका लागि प्रेम कति महत्त्वपूर्ण हुन्छ, त्यो छद्मनामी प्रेमपत्रले मायालाई महसुस गराउँछ । जसै पत्रबाट प्रेम घनीभूत हुँदै जान्छ, मायाका घरका झ्यालहरू बिस्तारै खुल्दै जान्छन्, घामका किरण लामो समयदेखि चिसिएका कोठाभित्र पुग्छन्, न्यायो बोकेर । झन्डै टुटिसकेको मायाको जीवनमा प्रेमपत्र उनको सपनाको राजकुमार बन्न पुग्छ । सिमलाको एक हाइस्कुलमा पढ्छन्, ऐना (मदिहा इमाम) र ईरा (श्रेयासिंह चौधरी) । चकचके स्वभावको उमेरमा यी दुईले जब मायादेवीको अतीतदेखि वर्तमानबारे थाहा पाउँछन् । जिन्दगीमा प्रेमको अनुभूति नै गर्न नपाएकी मायासँग छद्म प्रेमपत्रमार्फत् ‘प्रयांक’ खेल्छन् र चिठीले मायामा ल्याएको बदलावको रमाइलो लिन थाल्छन् । सुनैना भटनागरको डेब्यू निर्देशन रहेको फिल्म ‘डियर माया’ गत साता भारतमा रिलिज भएपछि काफी चर्चा बटुलिरहेको छ । जति फिल्मको कन्सेप्टले चर्चा पाएको छ, त्यति नै मायादेवीको प्रौढ र कुरूप महिलाको भूमिकामा कुनै बेलाकी बलिउडकी ‘डार्लिङ एक्टर’ मनीषा कोइराला हुनुले पनि पाएको छ । कुरूप गेटअपमा सुन्दर अभिनय पस्केर मनीषाले फिल्म समीक्षकदेखि दर्शकसम्मको मन जितेकी छन् । क्यान्सरसँगको लडाइँमा बाजी मार्दै पाँच वर्षपछि ठूलो पर्दामा पुनरागमन जनाएकी मनीषा फेरि दोस्रो इनिङको लामो पारी खेल्ने संकेतसहित आएकी छन् । फिल्ममा उनको अभिनय यति अब्बल छ कि सुस्त गतिमा बगेको स्क्रिप्टलाई समेत माफ गर्न सकिन्छ । मनीषाको यही क्षमतामै त भटनागरले आफूलाई सेफ साइडमा राखेकी थिइन् । ‘उनी एकदमै ट्यालेन्ट र राम्री छन् । जस्तो पनि गर्छ सक्छिन्,’ मायादेवीको भूमिकामा मनीषा नै किन भन्ने प्रश्नको जवाफमा निर्देशक भटनागरले भनेकी थिइन्, ‘उनी अफबिट फिल्मदेखि कमर्सियल सबै गर्न सक्छिन् । उनको भूमिकामा विविधता देख्न पाइन्छ । धेरै बलिउड नायिका टाइपकास्टको सिकार छन्, जो उनी छैनन् । तिनै मनीषा ‘१९४२ : अ लभस्टोरी’ पनि गर्न सक्छिन् अनि ‘खामोसी’ पनि । उनी जे पनि बन्न सक्छिन्, विश्वसनीय ढंगले नै । आवश्यक पर्दा हट पनि बन्न सक्छिन् अनि मायादेवीजस्तो बेवास्तापूर्ण पात्र पनि । यही त हो मनीषा कोइरालाको सुन्दरता ।’ ‘डियर माया’ हेरेपछि शाहरूख खानले समेत ट्वीट गरे, ‘मेरो साथी मनीषाको नयाँ फिल्म डियर माया आएको छ । उनी जो कसैले अनुमान गरेभन्दा धेरै तवरले सुन्दर देखिएकी छन् । कृपया उनको फिल्म हेर्नुहोला ।’ सानो बजेटमा निर्मित फिल्मले बक्सअफिसमा व्यापार पनि सन्तोषजनक नै गरेको छ । रिलिजको दिन अनुमानित एक करोड २० लाख भारुको व्यापार गरेको फिल्मले सुखद प्रतिक्रिया बटुल्दै भोलिपल्टै व्यापार दोब्बर पारेको थियो भने त्यसपछि बिस्तारै दर्शक बढिरहेका छन् । ‘डियर माया’ लाई आफ्नो कमब्याक भन्न नरुचाए पनि विवाहपछि फिल्ममा कम देखिन थालेकी मनीषा क्यान्सरपछि भने पूर्णत: उपचारमा थिइन् । अब भने उनका हातमा ३–४ राम्रा फिल्म रहेका छन् । जसमा सञ्जय दत्तको बायोपिकमा मनीषा आमा नर्गिसको भूमिकामा देखा पर्दै छिन्, जबकि सञ्जय मनीषाका नजिकका साथी हुन् ।
डा. बाबुराम भट्टराईको शल्यक्रिया: नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘प्रोस्टेट’को शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।शुक्रबार दिउँसो डा. भट्…Read More
जिसस लमजुङमा एमाले निर्विरोध श्रावण २०, २०७४- जिल्ला समन्वय समिति लमजुङमा नेकपा एमालेको समूह निर्विरोध निर्वाचित भएको छ । उक्त समूहमा एक सदस्य माओवादी केन्द्रका प्रतिनिधि छन् ।९ स…Read More