‘मैले म हिरोइन हुँ र मैले आफ्नो वेट मेन्टेन गर्नुपर्छ भन्ने दबाव मनमा राखेर तौल घटाएको होइन,’ उनी भन्छिन्, ‘म गर्भवती हुँदा मोटाउँदैछु भन्ने थाहा थियो। त्यतिबेला पनि मेरो मनमा म हिरोइन हुँ भन्ने आएन। मलाई आमा बन्दैछु भन्ने मात्र महसुस भयो। मैले शरीरलाई उसकै गतिमा मोटाउन दिएँ। पछि पनि म अभिनेत्री हुँ र मैले तौल घटाउनुपर्छ भन्ने सोचेको होइन। शरीरमा के भइरहेको छ ख्याल गर्नुपर्छ र त्यसैसँग खेल्नुपर्छ। यसबीचमा मैले के सिकेँ भने बिरामी हुँदा पनि शरीरसँग खेल्न सकिन्छ।’
जब सञ्चिताको मोटोपन घट्दै गयो– फिटनेस सेन्टरमै उनी उदाहरणको पात्र बनिन्। धेरैले ‘कति चाँडै मेन्टेन गरेको’ भन्न थाले। ‘खुसी भनेको यस्तै बेला मिल्थ्यो,’ उनी भन्छिन्, ‘जब अरु मान्छे मेरो बारेमा कुरा गर्थे मलाई खुसी लाग्थ्यो।’
करिब ६ महिनाबीचमै सञ्चिताको मोटोपन घट्यो र उनी लगभग पहिलेकै अवस्थामा फर्किइन्। तर, उनले ‘फिटनेस अभ्यास’ बाटै शरीरलाई यो अवस्थामा ल्याएकी भने होइनन्।
फिटनेस अभ्यासमा जति रमाउँथिन्, उनी आफू एक्लै हुँदा पनि अनेक क्रियाकलाप गरिरहन्थिन्। फुर्सद हुँदा कि किताब पढ्थिन्, कि फिल्म हेर्थिन्। त्यो आफैंसँगको खेल थियो, आफूलाई व्यस्त बनाउने खेल।
उनले यसबीचमा गहिरोसँग बुझिन्, मन र शरीरबीच ठूलो सम्बन्ध छ। मानसिक रुपमा स्वस्थ÷अस्वस्थ जे भए पनि त्यो शरीरमा देखिन्छ। शरीरको स्वस्थता/अस्वस्थताले मनलाई पनि असर पार्छ। जस्तो अहिले अधिकांश मानिसमा देखिएको मोटोपनले उनीहरुलाई मानसिक रुपमा विचलित बनाएको छ। मोटोपनले निम्त्याउने रोगहरु त छँदैछन्। ती रोगले मनलाई झनै प्रभाव पार्ने भइहाले।
बच्चाहरु स्कुल जानुअघि र स्कुलबाट फर्किइसकेपछि उनको खेलमा दुई साथी थपिन्थे। आफूसमेत तीन खेलाडी घरमा अनेक खेल खेल्थे। रमाउँथे।
त्यो खेल कस्तो भने, सञ्चिता आफ्नो र बच्चाका लागि खाना बनाउँथिन्। बच्चाहरु पनि उनको खेलमा सहभागी हुन्थे। जस्तो– उनी रोटी बेल्न थाल्थिन्, दुई बच्चा हानथाप गर्दै रोटी बेल्न खोज्थे। सञ्चिता पालैपालो सिकाउँथिन्। सञ्चिताले बुझिन्, सन्तान हुर्काउनु भनेको उनीहरुलाई पढाउनु पनि हो। आमाबाटै उनीहरुले घरव्यवहारका कुरा सिक्छन्। सञ्चिताका यस्ता क्रियाकलापमध्ये अधिकांश खानपानसँग सम्बन्धित थिए। सञ्चिता एक व्यक्तिको खेलले तीन व्यक्ति स्वस्थ भए।
मोटोपन घटाउने नाममा उनले कहिल्यै खाना खान छोडिनन्। खानपानका लागि उनले त्यति खर्चिलो विधि रोजेकी पनि होइनन्। उनले अपनाएको विधि पुरै घरायसी विधि हो।
‘मोटोपन घटाउन खाना नखानु हुँदै होइन,’ उनी भन्छिन्, ‘शरीरलाई जसरी व्यस्त बनाउनुपर्छ, मुखलाई पनि त्यत्तिकै व्यस्त बनाइराख्नुपर्छ। म दिनको चार/पाँचपटकसम्म खान्छु। साथीहरुले पार्टीमा बोलाउँदा म आफूलाई खुलेर खान रोक्दिनँ।’
यतिका वर्षको अनुभवका आधारमा अब सञ्चिता फिटनेस र खानपानको टिप्स दिन सक्ने भइसकेकी छन्। उनको भनाइमा पार्टीमा टन्न खाए पनि पछुतो मान्नुहुँदैन। बरु त्यसको भोलिपल्ट के खाने के नखाने भन्ने छुट्याउन सक्नुपर्छ। सके व्रत बस्नु तर, पानी प्रशस्त पिउनु। नसके फलफूल या हलुका खाना खानु। अनुहारमा चमक ल्याउन सञ्चिता नियमित फलफूल खान्थिन्।
अहिले सञ्चिता ढुक्कले भन्न सक्छिन्, मोटाउन या दुब्लाउन केही गाह्रो छैन। ‘गुनगुन भन्ने फिल्ममा पछिल्लो लुक्समा देखिँदैछु, अर्थात् मेरो तौल घटेपछिको पहिलो अभिनय हो,’ उनले थपिन्, ‘म अहिले पुरा विश्वासका साथ भन्न सक्छु, मलाई ९० किलो बन्नुपर्ने भूमिका आयो भने पनि म सजिलै मोटाइदिन सक्छु।’
मोटोपनको चिन्तामा बसेकालाई सञ्चिताको यो भनाइ आँट हुन सक्छ! उनको भनाइमा मोटोपन घटाउनु भनेको एउटा ठूलो लक्ष्य प्राप्तिसरह हो। जसरी लक्ष्य पुरा गर्न बिभिन्न योजना बुनिन्छ, मोटोपन घटाउनुछ भने त्यसरी नै योजना तय गर्नुपर्छ। तर, धेरै महत्वाकांक्षी बन्नुहुँदैन। आफूले सोचेअनुसारको भएन भने चिन्तित बन्नुहुँदैन। यो लक्ष्य प्राप्त गर्ने बुँदाहरु हुन्– पहिले आफ्नो समयतालिका बनाउने। त्यसमा उठ्ने समय तोकिनु सबैभन्दा महत्वपूर्ण कुरा हो। आफ्नो निद्राअनुसार सुत्ने र उठ्ने अनुशासन बनाइनुपर्छ। उठिसकेपछि र सुत्नुअघिको समय आफूलाई व्यस्त बनाइराख्ने। यसमा खानपानको भूमिका महत्वपूर्ण हुने सञ्चिताको भनाइ छ। शरीरको ख्याल गर्नेहरुले कुन खानामा कस्तो तत्व पाइन्छ र त्यो खाँदा शरीरलाई के प्रभाव पर्छ, त्यो जान्नुपर्छ। सकेसम्म घरमै बनाएर खानु राम्रो। उनको अनुभवमा यसका थुप्रै फाइदा छन्। जस्तो– आफू व्यस्त भइन्छ। आफैंसँग खेलिन्छ। ध्यान एकत्रित गर्न सघाउ पुग्छ। खाना पकाउने कला जानिन्छ। र, अर्को महत्वपूर्ण कुरा त स्वस्थ खाना भइहाल्यो। कुन खाना कसरी पकाएर खाँदा शरीरलाई फाइदा/बेफाइदा के गर्छ त्यो भने जान्नुपर्ने उनको बुझाइ छ। रोग नलागे पनि बेला–बेला स्वास्थ्य जाँच गराइराख्नुपर्ने उनको सुझाव छ।
‘यी सबै गर्नु सजिलो काम होइन,’ सञ्चिताको अनुभव छ, ‘तर, गाह्रो पनि फिटिक्कै छैन। मलाई पनि सुरुका दिनमा अल्छी लागेको थियो। जब मैले आफूलाई अनुशासनमा राखेँ, सुरुका दिन गाह्रो थियो। तर, विस्तारै म त्यससँग रमाउन थालेँ। धेरैलाई मैले गरेको यो विधि खर्चिलो र झन्झटिलो लाग्ला। खर्चिलोको कुरा गर्ने हो भने आममानिसले आफ्नो खानामा जति खर्च गर्छन्, त्योभन्दा बढी गरेकै छैन। झन्झटिलोको कुरा गर्दा, सुरुका दिन मात्र झन्झटिला हुन्, केही दिनमै रमाइला दिन सुरु भइहाल्छन्।’
