बैतडी : बैतडीको पाटन नगरपालिकाकी रेवती दमाई आजभोली निकै खुशी देखिनु भएको छ । स्थानीय तहको निर्वाचनका लागि दलित महिला सदस्य पदका लागि उम्मेद्वारी दिएसंगै उहाँ भोट माग्नका लागि घरदैलो गरिरहनु भएको छ । दलित भएकै कारण अन्यको घरमा जान हिच्किचाउने रेवती आजभोली सबैसंग खाना खाने, घरदैलो गर्ने र गफगाफ गर्ने गर्नुहुन्छ । प्रत्यक्ष रुपमा नभएपनि परोक्ष रुपमा समाजमा व्याप्त जातीय विभेदलाई दलित महिलाको अनिवार्य उम्मेद्वारीले न्यूनीकरणमा सहयोग पुर्याएको उहाँको भनाई छ ।
नेपाली कांग्रेसबाट पाटन नगरपालिकामा उपमेयर पदकी उम्मेद्वार सरस्वती कोली भन्नहुन्छ ‘दलित समुदायका नागरिकलाई निर्धक्क रुपमा अन्य समुदायका नागरिकको घरमा जान निकै सकस हुन्थ्यो । सहर बजारमा जातीय विभेद कम भएपनि ग्रामीण समुदायमा नदेखिने हिसाबले जातीय विभेद कायमै थियो । तर स्थानीय तहको निर्वाचनमा दलित महिलाको अनिवार्य उम्मेद्वारीले जातीय विभेद न्यूनीकरणमा सहयोग पुर्याएको छ ।'
उहाँले अगाडि थप्नुभयो ‘अहिले हामी भोट माग्नका लागि सबैको घरमा जान्छौं । सबैले स्वागत गर्ने गरेका छन् । हामी पनि सबैसंग भोटका लागि आग्रह गर्छौं । यसले हामीलाई समाजमा घुलमिल हुन सहयोग पुर्याएको छ ।' स्थानीय तहको निर्वाचनमा दलित महिलाको अनिवार्य सहभागिताले दलित समुदायमाथि हुने जातीय विभेद कम भइरहेको दलित अधिकारकर्मी रमेश कोलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘समाजमा रहेका नकारात्मक सोचाइलाई कम गर्न निर्वाचनमा दलित समुदायको सहभागिताले सहयोग पुर्याएको छ । सबै उम्मेद्वारसंगै जाने, खाने भएपछि समाजमा रहेका अन्य नागरिकलाई पनि चेतना आएको छ । जातीय विभेद गर्नुहुँदैन । यो गलत रहेछ भन्ने कुरा सिकाइ हुँदै गएको छ ।'
दलित समुदायको हरेक क्षेत्रमा पहुँच पुर्याए मात्रै जातीय विभेद न्यूनीकरण हुने दशरथचन्द नगरपालिकामा एमालेका तर्फबाट उपमेयरका उम्मेद्वार सरस्वती नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो ‘दलित समुदायको राजनीतिमा पहुँच पुर्याउन दलित महिला सदस्यको व्यवस्था धेरै राम्रो छ । यसलाई सबैले जातीय विभेद गर्नुहुँदैन भन्ने बुझ्नुपर्छ । सबै समुदायका मानिससंगसंगै घुलमिल भएमा जातका आधारमा हुने विभेद न्यूनीकरण हुनेमा दुईमत छैन् ।'
बैतडीको सुर्नया गाउँपालिका ६ शंकरपुरका सरस्वती लुहार आजभोली निकै दंग हुनुभएको छ । दलित महिला वडा सदस्यका लागि उम्मेद्वारी दिएपछि उहाँ अहिले सबै समुदायका बस्तीमा भोट माग्नका लागि घुमिरहनु भएको छ । उहाँले भन्नुभयो ‘मैले उम्मेद्वारी दिएपछि अहिले सबै गाउँमा ढुक्कसित जाने गरेकी छु । सबैसंग कुराकानी गर्ने गरेकी छु । संगै खाना पनि खाने गरेकी छु । उम्मेद्वार बन्नु भन्दा पहिला यस्तो सहजता थिएन् ।'
सदियौंदेखि जरा गाडेको जातीय विभेदको उन्मूलनका लागि स्थानीय तहको निर्वाचनमा दलित महिलाको अनिवार्य उम्मेद्वारीले सहयोग गरेको शिक्षक लवदेव अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पछिल्लो समयमा जातीय विभेद कम भएपनि उन्मूलन हुन सकेको थिएन । दलित महिलाको अनिवार्य उम्मेद्वारीले जातीय विभेद अन्त्यका लागि पहल गर्छ । यसले सबैले एकै ठाउँमा खाना खाने, सबैसंग संगै हिड्ने वातावरणको विकास गरेको छ ।'
दलित महिलाको अनिवार्य उम्मेद्वारीले समाजमा उनीहरुको उपस्थितीलाई बलियो बनाएको ग्रामीण क्षेत्रका नागरिकले बताएका छन् । दलित महिलाको अनिवार्य उम्मेद्वारीले सबैसँग घुलमिल हुने वातावरण बनाएको र यसले दलितमाथि हुने जातीय भेदभावलाई अन्त्य गर्ने सुर्नया ६ का गणेशदत्त अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो‘जातीय विभेद सामाजिक कुसंस्कार हो भन्ने कुरा सबैलाई जानकारी गराउन पनि यसले सजिलो भएको छ । यसले सामाजिक सद्भाव कायम गर्न पनि सहयोग गरेको छ ।'