कन्फेडेरेसन्स कप फाइनल: हेभिवेट चिली कि जर्मन जोस ?

भिडियो सहित हेर्नुहोस !
Advertisement

असार १८, २०७४-
जर्मनी विश्वकप च्याम्पियन हो तर उसले विश्वविजेता हुदाका तीन खेलाडीलाई मात्र लिएर जुनियरलाई अवसर दिदै रुसमा भइरहेको कन्फेडेरेसन्स कप खेलिरहेको छ । दक्षिण अमेरिकी च्याम्पियन चिलीले भने सबै स्टारलाई समेट्दै हेभिवेट टिम बनाएको छ । यी दुई टिम कन्फेडेरेसन्स कपको फाइनलमा आज भिड्दैछन् ।
कन्फेडेरेसन्स कपलाई विश्वकप फुटबलको रिहर्सलको रुपमा लिइन्छ किनभने यो महादेसीय प्रतियोगिता विश्वकप आयोजनाको ठीक एक वर्षअघि सञ्चालन गरिन्छ । त्यसैले पनि अर्को वर्ष रुसमा हुने विश्वकपको तयारीको रुपमा लिदै प्रशिक्षक जोचिम लोले जर्मन टिममा युवा खेलाडीलाई अवसर दिएका हुन् ।
११ वर्षयता जर्मन टिम सम्हाल्दै आएका लोले जुलियन ड्राक्सलरलाई शताब्दीयताकै सबभन्दा कान्छो जर्मन कप्तान बनाएका छन् । रुस यात्रामा रहेका विश्वकप विजेता टिमका तीन सदस्यमध्ये एक ड्राक्सलर पनि एक हुन् । विश्वकप विजेता, महादेसीय च्याम्पियनहरु र आयोजक गरी आठ देशले प्रतिस्पर्धा गर्ने कन्फेडेरेसन्स कपमा यसपालीको सबभन्दा युवा टिम जर्मनी नै हो । उसका खेलाडीको औसत उमेर २४ वर्ष रहेको छ ।
जर्मनीको अर्को टिमले शुक्रबार मात्र पोल्यान्डमा सम्पन्न युरोपियन यू २१ च्याम्पियनसिपमा स्पेनलाई हराएर उपाधि जितेको थियो । त्यस टिमका लागि योग्य सात खेलाडी कन्फेडेरेसन्स कप खेलिरहेका छन् । यस्तो युवा टिमलाई लिएर फाइनल पुग्नु पनि प्रशिक्षक लो र जर्मन फुटबलको सफलता मानिएको छ । विशेषगरी सेमिफाइनलमा मेक्सिकोलाई ४–१ ले हराएर जर्मनीले सनसनीपूर्ण प्रदर्शन गरेको थियो । त्यसअघि समूह चरणमा पनि उसको प्रदर्शन अपेक्षाभन्दा राम्रो नै थियो । त्यसैले फाइनलमा चिलीलाई सजिलो हुने छैन ।
जर्मन महारथी बायर्न म्युनिखका मिडफिल्डर अर्तुरो भिदाल र आर्सनलका फरवार्ड एलेक्सिस सान्चेजयुक्त चिली प्रतियोगिताकै सबभन्दा बलियो टिम हो । सन् २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा लियोनल मेसी कप्तानीको अर्जेन्टिनालाई पराजित गरेको चिली लगातार तेस्रो वर्ष पनि उपाधि जित्न चाहन्छ । उसले क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगललाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा हराएर जर्मनीसँगको उपाधि भेट पक्का गरेको थियो । पोर्चुगलसँग चिलीका गोलकिपर क्लाउडियो ब्राभोले लगातार तीन पेनाल्टी रोकेका थिए ।
पोर्चुगल युरोपेली च्यम्पियन हो । विश्वकप २०१४ को च्याम्पियन जर्मनीमा शारीरिक रुपमा उत्कृष्ट खेलाडीहरुको प्रशस्तै भएको भिदालको विचार छ । त्यसैले उनी जर्मनीलाई फाइनलमा पराजित गरेपछि आफ्नो टिम चिलीलाई विश्वकै सबभन्दा राम्रो टिम भन्न सकिने बताउँछन् ।
जर्मनी भने सनसनीपूर्ण प्रदर्शनलाई फाइनलमा पनि कायमै राख्दै पहिलोपल्ट कन्फेडेरेसन्स कपको ट्रफि चुम्न चाहन्छ । चिली र जर्मनीवीच समूह चरणमा भएको भेट १–१ को बराबरीमा टुंगिएको थियो । त्यसैले पनि सेन्ट पिटर्सबर्गमा युवा जोसले भरिएको जर्मनी र हेभिवेट चिलीको उपाधि होड रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

Related Posts: