‘हाम्रालाई होइन, राम्रालाई भोट’

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैशाख १, २०७४- झन्डै दुई दशकपछि हुन लागेको स्थानीय निकाय चुनावमा मत हाल्न सर्वसाधारण उत्सुक देखिएका छन् । उनीहरू दलीय हिसाबमा भन्दा पनि राम्रा व्यक्ति चुन्ने योजनामा छन् ।

सुनसरीको दक्षिणवर्ती क्षेत्रका मतदाता चुनावी छलफलमा जुट्न थालिसके । सोमबार साँझ भुटाहा बजारमा चिया पिउँदै गरेका हरिनगर–४ का मनिकलाल साहले आफू कांग्रेस कार्यकर्ता भए पनि यसपटक व्यक्ति हेरेर भोट दिने पक्षमा रहेको बताए । उनले भने, ‘संसदीय चुनावमा पार्टीलाई दिने हो तर गाउँको चुनावमा आफूलाई सहयोग गर्ने विकासप्रेमीलाई जिताइन्छ ।’
मध्यहर्षाहीका ७५ वर्षीय किसान ध्रुवलाल पाथ २० वर्षअघिकै नेता यसपटक पनि उठ्छु भन्दै दगुरिरहेको देख्दा छक्क परेका छन् । भन्छन्, ‘अब त वजनवाला उम्मेदवारलाई भोट दिनुपर्छ, जसले पद सम्हाल्न सकोस् ।’ उनले युवापिंढीलाई मौका दिनुपर्ने बताए ।
बर्जूका झर्कु चौधरी पूर्ववडाध्यक्ष हुन् । यसपटकको चुनावी माहोल नियालिरहेका उनले आममतदाता पार्टीको नेताभन्दा पनि राम्रो मान्छेलाई भोट हाल्ने मनस्थितिमा रहेको बताए ।
गौतमपुरका विनोद मेहता पहिलोपटक स्थानीय निकाय निर्वाचनमा मत खसाल्दैछन् । उनी भन्छन्, ‘गाउँमा राम्रो छवि भएका युवा उम्मेदवारलाई भोट हाल्छु ।’ बर्जू गाउँपालिका–६ की ४१ वर्षीया सीतकुमारी चौधरी जसले विकास गर्छ उसैलाई भोट दिने तयारीमा छिन् । उनले भनिन्, ‘अगाडिको बाटो ग्राभेल छ, यो बाटो पिच गर्ने राम्रो एजेन्डा लिएर आउने उम्मेदवारलाई भोट दिन्छु ।’
पार्टीहरूले विकासप्रेमी, भ्रष्टचारको आरोप नलागेको, सबैको कुरा सुन्ने खालको उम्मेदवार दिऊन् भन्ने आम मतदाताको चाहना भए पनि ‘भोटिङ प्याटर्न धेरै स्वीइङ’ हुने अवस्था नरहेको राजनीतिशास्त्रका प्राध्यापक प्रकाश नेपालीको बुझाइ छ ।चुनाव तयारीमा दलहरूलाई धौ–धौ
स्थानीय तहस्तरको भेला सकेर ओखलढुंगा एमाले जिल्ला कमिटी गत मंगलबार सदरमुकाम प्रवेश गर्‍यो । अब वडास्तरको भेला र छलफल बाँकी छ । कांग्रेस नेताहरू सबै गाउँपालिका स्तरीय भेलामै दौडिरहेका छन् ।
माओवादी केन्द्रको सदरमुकामस्थित जिल्ला कार्यालय धेरैजसो बन्द नै छ । सबै नेताहरू गाउँका भेला र कार्यक्रममा लागेपछि कार्यालय खोल्ने मान्छे समेत अभाव भएको हो । फुर्सदमा सदरमुकाम र राजधानीतिर बसेर एक–दुईवटा बैठक तथा कार्यक्रममा देखापर्ने दलका नेतालाई अहिले धपेडी छ ।
‘पार्टीको निर्वाचन कार्यतालिका त बनेकै पो छैन,’ चिसंखुगढी गाउँपालिका प्रमुखका उम्मेदवार तथा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष निशान्त शर्माले भने, ‘स्थानीय तह स्तरका पार्टी संगठन बनाउँदैमा चैत बित्यो । अब मनोनयनपछि मात्रै नमुना मतपत्र आउँदा मतदाताको घरदैलोसम्म पुग्न भ्याइने अवस्था छैन ।’
कांग्रेस सचिव रुद्र अधिकारीले पनि समय साह्रै छोटो भएको बताए । मनोनयन दर्तापछि उम्मेदवार घोषणा हुनै वैशाख १९ गतेसम्म लाग्ने र चुनावको ७२ घण्टाअघि नै प्रचार बन्द गरिनुपर्ने हुँदा एक साताभित्र पूरै प्रचार र तयारी गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले समेत चुनावले झ्याप्पै छोपेपछि चटारो बढेको बताए । ‘अब एक हप्ताभित्र सबै उम्मेदवार टुंगो लगाउँछौं,’ एमाले उपाध्यक्ष नेत्र भट्टराईले भने ।बढ्दै आकांक्षी
आकांक्षी बढेपछि कांग्रेस र एमालेलाई विराटनगर उपमहानगरपालिका र अन्य आठ नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्न सकस परेको छ । उपमहानगर मेयरका लागि मात्र कांग्रेसबाट एक दर्जन र एमालेबाट आधा दर्जनले आकांक्षा देखाएका छन् ।
‘उपमहानगरका लागि मात्र एक दर्जनले आकांक्षा देखाएका छन्’ कांग्रेस सभापति डिगबहादुर लिम्बूले भने, ‘धेरै भएकाले छनोट गर्न समस्या छ ।’ मेयरमा कांग्रेस सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुली, मनोज बस्नेत, त्रिलोचन रिजाल, सुदनबहादुर कार्की, डिला संग्रौला, रुकमणी कोइराला, फूलकुमार लालबानी, हसन अन्सारी, राजेश गुप्ता, राजु मास्के, विश्वनाथ रिजाल, राजु थापा, केदार बस्नेत र अरुण गुप्ताले आकांक्षा देखाएका छन् ।
एमाले अध्यक्ष विनोद ढकालका अनुसार उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखका लागि बढीले दाबी गरेपछि उम्मेदवार छनोट गर्न मुस्किल परेको छ । उपमहानगरको मेयरमा ढकाल स्वयं, पूर्वअध्यक्ष महेश रेग्मी, सागर थापा, बाबुराम कार्की र चूडामणि आचार्यले दाबी गरेका छन् ।
माओवादी केन्द्रले उपमहानगर मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेको नाम सार्वजनिक गरिसकेको छ । अन्य नगरपालिका र गाउँपालिकाका प्रमुख र उप्रमुखको नाम छनोट भइरहेको पार्टीले जनाएको छ । फोरम लोकतान्त्रिक पनि उम्मेदवार छनोटमा व्यस्त रहेको केन्द्रीय सदस्य चुमनारायण तवदारले बताए ।दिनैपिच्छे चुनावी सभा
सप्तरीमा पनि चुनावी गतिविधि बढेको छ । खासगरी कांग्रेस, माओवादी केन्द्र र आन्दोलनमा रहेको मधेसी मोर्चा आबद्ध दलका कार्यक्रमले जिल्लाका गाउँगाउँमा राजनीतिक वातावरणको सिर्जना भएको छ । गत फागुन २३ गते मलेठमा पाँच जनाको ज्यान जाने गरी भएको घटनापछि एकाएक अशान्त र अन्योलग्रस्त भएको जिल्ला पछिल्लो समय राजनीतिक गतिविधिले भरिएको छ ।
मोर्चा आबद्ध शीर्ष नेतामध्ये कोही न कोही जिल्लामै राजनीतिक कार्यक्रममा सहभागी देखिँदै आएका छन् । मधेसी मोर्चाका नेता–कार्यकर्ता पनि पछिल्लो समय राजधानीमा भइरहेको राजनीतिक उतारचढावले निर्वाचन हुने र आफ्नो पक्षलाई जिताउनुपर्ने गरी ग्रामीण क्षेत्रमा लबिङ सुरु गरिसकेका छन् । बाहिरी रूपमा मोर्चाका नेताहरू भने ग्रामीण क्षेत्रको कार्यक्रमलाई आफ्नो आन्दोलनकै रूपमा चित्रित गर्ने गरेका छन् ।

धमाधम सिफारिस
सिन्धुलीमा उम्मेदवारको नाम सिफारिस गर्न थालिएको छ । ठूला दलका केही उम्मेदवारले वडा तहबाट निर्विरोध नाम सिफारिस भएपछि टिकट पाउनेमा ढुक्क भएर घरदैलोसमेत सुरु गर्न थालेका छन् । कांग्रेसबाट वडाध्यक्षमा वडा २ मा ओमबहादुर कार्की र वडा ११ मा गंगाबहादुर कार्कीको नाम मात्र सिफारिस भएको जनाइएको छ । एमालेबाट वडा ७ अध्यक्षमा कर्ण घिसिङको उम्मेदवारी पक्का भएको स्रोतले जनाएको छ । वडाध्यक्षमै माओवादी केन्द्रबाट ११ वडामा शेरबहादुर कार्कीको नाम आएको छ । मेयर र उपमेयरमा भने तीनै ठूला दलबाट सिफारिस आउने क्रम जारी रहेको दलहरूले जनाएका छन् ।

उम्मेदवार टुंगो
संखुवासभामा माओवादी केन्द्रले खाँदबारी नगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारको टुङ्गो लगाएको छ । केन्द्रले खाँदबारीका लागि प्रमुखमा वीरबहादुर लिम्बू र उपप्रमुखका लागि सुशीला घिमिरेको नाम सार्वजनिक गरेको छ ।
पार्टीको तर्फबाट नगरपालिकाको समग्र विकासमा सक्षम र जुझारु उमेदवार चयन गरिएको पोलिटब्युरो सदस्य रिपुप्रसाद देवानले जानकारी दिए ।
(वेदराज पौडेल, कुम्भराज राई, विनोद भण्डारी, अवधेशकुमार झा, राजकुमार कार्की, दीपेन्द्र शाक्य)




३० वटा वडामा एमालेका सर्वसम्मत उम्मेदवार
पाल्पा (कास)– एमालेले जिल्लाका ८१ वडामध्ये ३० वटामा सर्वसम्मत रूपमा वडाध्यक्ष उम्मेदवार तय गरेको छ । तानसेन नगरपालिका–४ बाट वसन्त जीआर, ११ बाट दामोदर घिमिरे, १३ बाट देवेन्द्र राना वडाध्यक्ष उम्मेदवार बन्ने निश्चित भएको छ । रामपुर नगरपालिका–१ मा मित्रलाल कँडेल, ९ मा इच्छाराम सिँजाली एमालेका उम्मेदवार भएका छन् ।
रिब्दीकोट गाउँपालिका– १ मा दिवाकर पराजुली, २ मा रामचन्द्र नेपाल, ३ मा विष्णु खनाल, ४ मा दुर्गा खनाल, ५ मा कृष्णबहादुर थापा, ६ मा तुलबहादुर जीसी र ७ मा तिलबहादुर रास्कोटीले टिकट पाउने भएका छन् । रैनादेवी छहरा गाउँपालिका–१ बाट ओमबहादुर दर्लामी, २ बाट चन्द्रकान्त पोखरेल, ३ बाट कृष्णबहादुर अर्घाली, ७ बाट कुलबहादुर खड्का, ८ बाट रेमबहादुर रानाको नाम सर्वसम्मत आएको एमालेले जनाएको छ । माथागढी गाउँपालिका–१ बाट पूर्णबहादुर सारु, ४ बाट शंकर दर्लामी, ५ बाट चेतबहादुर थापा, ६ बाट यमबहादुर गाहा सर्वसम्मत सिफारिस भएका हुन् ।
रम्भा गाउँपालिका–३ बाट बुद्ध सूर्यवंशी, ४ बाट भोजबहादुर विक, पूर्वखोला गाउँपालिका–६ बाट मनबहादुर सारू, निस्दी गाउँपालिका–३ बाट लक्ष्मीप्रसाद पाटा, तिनाउ गाउँपालिका १–बाट रोमबहादुर लम्तरी, ४ बाट लालबहादुर दर्लामी, ६ वडाबाट गोपाल जीसी अध्यक्षका उम्मेदवार बन्ने निश्चित भएको छ ।

मोर्चाद्वारा घेराउ
रौतहट– संविधान संशोधनबिना सरकारले स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै त्यसको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीबार सदरमुकाम गौरमा जुलुस प्रदर्शन गरेको छ ।
मोर्चामा आबद्ध दलका नेताले अगुवाइ गरेको जुलुस बीपी चोकबाट सुरु भएको थियो । त्यहाँबाट नगर परिक्रममा गरी जिल्ला निर्वाचन कार्यालयमा पुगेर आधा घण्टा घेराउसमेत गरेको थियो ।
सांसदले मिचे आचारसंहिता
गोरखा– सांसद छमबहादुर गुरुङ स्थानीय तह निर्वाचन आचारसंहिता मिचेर सार्वजनिक कार्यक्रममा सरिक भएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ का माओवादी सांसद गुरुङले बुधबार लाप्राकमा कादुरी नामक संस्थाले निर्माण गरेको पुल उद्घाटन गरेका हुन् ।
गुम्दा गाविसका उनी लाप्राकसमेत पर्ने धार्चे गाउँपालिकाबाट स्थानीय तह चुनावमा उठ्ने चर्चा पनि छ । सांसदको प्रमुख आतिथ्यमा भएको पुल उद्घाटनमा कांग्रेस र एमालेका नेता पनि सहभागी थिए । निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेकाले सरकार, सार्वजनिक संस्था र सार्वजनिक पद धारण गरेका व्यक्तिलाई यस्ता कार्यक्रममा सहभागी नहुन निर्देश गरिसकेको छ । गुरुङले पुनर्निर्माणको काम भएकाले पुल उद्घाटनमा सहभागी भएको बताए ।


Related Posts: