म केही दिनदेखि नेपाल पूर्वप्रहरी संगठनको काममा हेटौंडामा थिएँ र गत सोमवार काठमाडौंमा फर्किएपछि राति साढे १० बजेतिर टेलिभिजनमा डीआईजी नवराज सिलवाललाई बीएण्डबी अस्पतालमा भर्ना गरिएको समाचार आएछ । मेरी श्रीमतीले मलाई यो कुरा बताइन्, उनले भनिन्, यो मानिसलाई कति धेरै दुःख दिएका । जसै नवराज बिरामी भएको खबर पाएँ मेरो मनले मानेन र यो दुःखको समयमा कमसेकम प्रहरी भएको नाताले उहाँलाई भेट्न जाने निर्णय लिएँ । बिरामी भएको थाहा पाएमा म मित्रको मात्र हैन, दुश्मनलाई पनि हेर्न जाने गर्छु किनकि ती हाम्रा वर्गका व्यक्ति हुन् । त्यसै दिन राति ११ बजेतिर मैले अस्पतालमा नवराज सिलवाललाई भेटेँ र मलाई लाग्छ, मैले मेरो जीवनमा आपत्–विपत्मा परेका साथीभाइका लागि गरेको यो एक नबिर्सिने क्षण हुनेछ ।
सिलवालमाथि राज्यले थुप्रै आरोप लगाएको छ । आरोप त खराब मान्छेमाथि मात्र हैन, हरेक युगमा भगवान्माथि पनि लागिरहेको छ तर एउटा कुरा यथार्थ के हो भने मैले देखेका विगत ३५ वर्षभित्र नेपालको इतिहासमा जनतामाझ सबैभन्दा बढी माया, आस्था र सम्मान पाएका एक प्रहरी अधिकृत सिलवाल पनि देखें । उनी नैतिक दृष्टिले जनताले सोचेझैं महान् व्यक्ति हुन् वा होइनन् ? त्यो मलाई थाहा छैन तर यति कुराचाहिँ थाहा छ कि, यदि उनी नै प्रहरी प्रमुख भएका भए पनि प्रहरी संगठनले अकल्पनीय कार्य गर्ने थिएन । उनको पालामा केही क्षेत्रमा सुधारका प्रयास हुन्थ्यो होला, जसरी हरेक आईजीपीले प्रयास गर्दछन् । अहिलेका आईजी प्रकाश अर्यालले पनि गरेका छन् । तर, अहिले उनी कामै नदेखाई करोडौं नेपालीको मनमा बस्न यस कारण सफल भएका छन्, किनकि आममान्छेलाई लागेको छ नवराजविरुद्ध षड्यन्त्र गरिँदै छ ।
यही कारणले उनीप्रतिको सहानुभूति दिन प्रतिदिन बढिरहेको छ । आज सरकार सिलवालसँग डराउँछ । प्रहरी नेतृत्व सिलवालसँग डराउँछन् भनिन्छ । तर म यो कुरा बुझ्दिन कि आखिर सिलवालसँग डर किन ? एउटा सिलवाल नामको अफिसर छन्, जो डीआईजीमध्ये एक नम्बरमा थिए, उनले प्रहरी प्रमुख बन्ने आशा राखे, त्यसमा कोही डराउनुपर्ने वा रिसाउनुपर्ने कारण के छ ? उनले आफू योग्य छु भनेर आफूले पाएका तक्मा, पढाइ र अनुभव अनि गरेका कामहरू बताए, त्यसमा तर्सनु पर्ने वा झोक्किनु पर्ने कारण के छ ? उनले आफू प्रहरी प्रमुख नभएपछि अदालतमा न्यायको लागि अपिल गरे, जसरी पहिले पहिलेका प्रहरी प्रमुख र जर्नेलहरूले पनि गर्थे ? त्यसमा आँखा तर्नुपर्ने कारण के छ ? उनको अनुरोधमा परेको मुद्दामा सम्मानित अदालतले आदेश दिएर सरकारले बनाएका प्रहरी प्रमुख पदच्यूत भए त्यसमा कानुनी राज्यमा बस्नेले कराउनुपर्ने कारण के ? अमेरिकाजस्तो देशको, शक्तिशाली ट्रम्पजस्ता राष्ट्रपतिले पनि दिएका निर्णय त्यहाँको एक साधारण जिल्ला अदालतले उल्टाइदियो । त्यो आफू विपक्षको फैसला राष्ट्रपतिले मानेकै छन् ।
सर्वोच्च अदालतले आदेश गरेबमोजिम, सरकारको निर्णयमा दोस्रो व्यक्ति आईजीपी नियुक्ति भए तर नवराजलाई त्यो कुरा चित्त बुझेन र फेरि अदालतमा गए, त्यसमा उनलाई तर्साउनुपर्ने कारण के ? उनी केही महिना अघिदेखि नै अदालतको आँगनमा गइरहेकै थिए फेरि अदालत जाँदा कोही कराउनुपर्ने कारण के ? सिलवालको दोस्रो आईजीपीप्रतिको आपत्तिमा अदालतले पहिलेको झैँ गरी उनको कुरा सुनिदिएन र हाल दोस्रो आईजी तीनतारे गाडीमा चढी प्रशासन चलाइरहनु भएको छ र सिलवाल आफूले हालिसकेको मुद्दामा फलोअप गर्दै हुनुहुन्छ । दुवैले आ–आफ्ना काम गरिरहनु भएको छ, यसमा एकअर्काले एकअर्कालाई सखापै पार्नुपर्ने कारण के ? मलाई लाग्छ, सिलवालकै कारणले दोस्रो व्यक्तिले आईजी हुन पाउनु भएको पनि हुन सक्छ फेरि त्यसमा रिसाउनु पर्ने कारण के ? मलाई लाग्छ अदालतमा मुद्दा पर्नु, फैसला हुनु, फेरि मुद्दा पर्नु प्रहरीमा नौलो कुरा होइन, तर कसैले मुद्दा हाल्यो वा असन्तुष्टि व्यक्त ग¥यो भनेकै भरमा कसैमाथि षड्यन्त्रपूर्वक कारबाही भएको छ भने त्योचाहिँ कानुनी राज्यमा आपत्तिजनक कुरा हो । हालै जसरी किर्तेमा कारबाही गर्ने भनी बहालवाला डीआईजीलाई विशेष षड्यन्त्रपूर्वक पक्राउ गरियो र फसाउन खोजियो भन्ने खबर बाहिर आयो, त्यसमा कति सत्यता छ, मलाई थाहा छैन तर यदि यो कुरा साँचो नै हो भने प्रहरी संगठनको इतिहासमा यो घटना कालो अक्षरले लेखिने निश्चित छ ।
हुन सक्छ षड्यन्त्र सफल होला, नवराज सिलवालको जागिर जाला, उनी जेल पर्लान् तर यति हुँदैमा नवराज सिलवाल हराउने होइन बरु कारबाही गर्ने सरकार र मिलेमतो गर्ने प्रहरीभन्दा उनी जनताको आँखामा अझै माथि जानेछन् । विगतका षड्यन्त्रहरूलाई हेर्दा मलाई लाग्छ सिलवाललाई किर्तेमा कारबाही गर्न सरकारभन्दा दुष्ट प्रहरीहरू नै लागेका पनि हुनसक्छन् र ती प्रहरी कर्मचारीले एकदिन पापको फल पाउनेछन् । विगतमा त्यस्तै षड्यन्त्र गरेर पद प्राप्त गर्न खोज्ने वा पदमा अड्न खोज्नेहरूको इतिहास मैले देखेको हुँदा यहाँ केही लेख्न चाहन्छु ।
पूर्वआईजी डी.बी. लामालाई जेल हाल्ने मामलामा उनको घरमा प्रहरीद्वारा ड्रग्स राख्ने षड्यन्त्र गर्ने हेमबहादुर सिंहको जनताले टुंडिखेलमा प्रहरी पोसाकमै जुंगा ताने । त्यतिबेला तिनलाई बचाउने प्रहरी कोही भएनन् । तत्कालीन डीआईजी रणबहादुर चन्दले, लामा र रत्न शमशेरमाथि गरेका षड्यन्त्रका कारण उनले प्रहरी जीवनपछि एक प्रकारले लुकेर जीवन बिताउनु प¥यो । छोराछोरी दुर्घटनामा परे । रत्न शमशेरविरुद्ध षड्यन्त्र गरी आईजी हुने बोहरा साहब पनि अख्तियारको मुद्दामा परे, छोरा–छोरीको जागिर गयो । प्रहरीभित्र एक–अर्काविरुद्ध भयानक षड्यन्त्र गर्ने खरेल साहब र ध्रुव साहबले पनि पूरा जागीर खान पाएनन् । मुद्दा–मामला झेल्नु प¥यो । प्रदीप साहबदेखि रवीन्द्रप्रताप, रमेश चन्दसम्मले मुद्दा झेल्नु प¥यो । षड्यन्त्रका बादशाह पूर्वआईजी श्यामभक्त थापा सार्वजनिक जीवनमा कतै देखिनुहुन्न । ओमविक्रम राणा अझै समस्यामा हुनुहुन्छ । कुबेर राणा र उपेन्द्रकान्त अर्यालको जीवन हेर्ने हो भने अवकाशपश्चात् उहाँहरूको सामाजिक हैसियत कतै देखिँदैन । यी सब प्रहरी प्रमुख बन्न सफल व्यक्तिहरूको जीवन अध्ययन गर्ने हो भने, त्यो पदमा पुग्न जसले जति धेरै षड्यन्त्र गरेका छन्, तिनले अवकाशपछि पनि त्यति धेरै मुद्दा, मामला, अपमान खेपेका छन् । ती प्रमुख पदमा पुग्ने व्यक्तिले आफ्नो आर्थिक हैसियत धेरै बढाएका हुन सक्छन्, तर त्यो अर्थबाट मोज, मज्जा गर्ने हिम्मत पनि उहाँहरूमा छैन । उहाँहरूसँग भएको कमाइनै, उहाँहरूको असुरक्षाको कारण पनि बनेको छ ।
यी सब अनुभवहरूका आधारमा म हालका प्रहरी प्रमुख प्रकाश अर्यालज्यूलाई पनि निवेदन गर्न चाहन्छु कि, तपाईंलाई भाग्यले, नवराजले, क्षमताले, अनुभवले वा अदालतले, जसले होस् आईजीपी बनायो, तपाईंलाई सरकारले फुली लगाई प्रहरी मुख्यालयले स्वागत गरिसकेको छ । हामीले पनि तपाईंलाई बधाई दिइसकेका छौं, त्यसैले तपाईंको ध्यान सिलवालमाथि हैन देशको सुरक्षामाथि हुनुपर्छ । हुन सक्छ नवराज सिलवालले अदालतमा मुद्दा हालेका कारण त्यो फैसलाको प्रतीक्षामा होलान्, त्यसैले तपाईंले बोलाउँदा नआएका पनि हुन सक्छन्, जसरी रमेश चन्द आईजीपी हुँदा रवीन्द्रप्रताप असन्तुष्ट थिए र मिटिङमा जान्थेनन् । अदालतको प्रतीक्षामा रहेका नवराज, तपाईंले मिटिङमा बोलाउँदा आएनन् होला तर अन्याय प¥यो भनी नवराजले तपाईंको गाडी रोक्न आएका छैनन् । तपाईंको कलम खोस्न आएका छैनन् । तिनले प्रहरी महानिरीक्षकले गरेका निर्णयहरूको विरोध गरेका छैनन् । उनले केवल अदालती प्रक्रिया गरिरहेका छन् ।
उनले किर्ते गरेको पनि हुन सक्ला, तर अहिले यस अवस्थामा सिलवालमाथि कारबाही हुँदा तपाईंमाथि पनि औँला उठ्नेछ । मानिसहरूले सोचिरहेका छन् कि कतै यी प्रकाश अर्याल नामका प्रहरी प्रमुखले नवराज अदालतबाट आउला भनी डराएर उनलाई रोक्न यस्तो कायर षड्यन्त्र गरेका त होइनन् ? तपाईं यो आरोपमा नपर्नुहोस् किनकि तपाईंलाई माया गर्ने पनि थुप्रै छन् । पूरै संगठनलाई क्षति पु¥याउने र मनोबल गिराउने काम हुन नदिनुस् किनकि तपाईं प्रहरी संगठन र कर्मचारीको संरक्षक पनि हुनुहुन्छ । तपाईं पनि केही दिनपछि त्यहीँ बाहिर समाजमा जानु हुनेछ । फेरि त्यहाँ तपाईंको नवराजसँग जम्काभेट पनि हुनेछ । त्यसबखत तपाईंलाई कुनै पश्चाताप नहोस् । नवराज मुद्दा लड्दै गरुन्, तपाईं राज्यले दिएको जिम्मेवारीमा ध्यान दिनुहोस् । यसैमा सबैको कल्याण छ । सारा प्रहरीहरू यो कुरा मान्लान् कि सिलवाल आईजीपी नहुनुपर्ने धेरै कारण होलान् तर थोरै कारण उनी आईजीपी हुनुपर्ने पनि छ कि ? भनिन्छ मान्छे जन्मँदै भाग्य लिएर आएको हुन्छन्, त्यसलाई पनि मानौं न ।
बर्दी लगाएर रातो बत्तीको सरकारी गाडी चढेर आफ्नै कर्मचारीविरुद्ध षड्यन्त्र गर्ने कामका लागि तलब खानुभन्दा ठूलो अपराध अरू केही हुन सक्दैन । यहाँ नवराज नामका व्यक्ति होइन, संगठन नै सिध्याउने खेल भएको हामीहरू देखिरहेका छौं र प्रहरी नेतृत्वलाई सजग गराउन खोजिरहेका छौं । हामी जसलाई भगवान् भन्छौं, तिनले पनि दुःख पाएकै देखियो तर त्यो क्षणिक हुन्छ । अन्तमा विजय त सत्यकै हुन्छ । सिलवालले अपराध गरेका छन् भने प्रहरी नियमावलीबाट पनि दण्ड पाउनै पर्छ, तर तिनले मलाई अन्याय प¥यो भनेर अदालत गएकै भरमा उनीमाथि षड्यन्त्र भएको हो भने ती षड्यन्त्रकारीहरूलाई भगवान्ले दण्ड गरेको हामी आफ्नै आँखाले देख्न पाउनेछौं । नवराज दोषी होलान् वा निर्दोष, उनी प्रहरी प्रमुख बन्लान् वा ढाक्रे, त्यससँग मेरो खासै सरोकार छैन, तर उनी मेरा प्रहरी वर्गका साथी हुन् र उनको र उनीजस्तै सबै मेरा वर्गका साथीहरूको दुःखमा मेरो साथ रहनेछ । म आईजी अर्यालको कार्यसफलता र सिलवालको शीघ्र स्वास्थ्यलाभको कामना दुवै गर्दछु र पूर्व तथा बहालवाला सबै प्रहरी साथीहरूलाई अनुरोध गर्छु कि कोहीविरुद्ध पनि अतिज्यादा घृणा वा अन्याय नगर्नुस्, माथि तपाईंलाई दण्ड दिने पनि कोही छन् । मैले बुझिरहेको छैन, आखिर सिलवालसँग यति धेरै डर किन ?