बालुवाटारमा सर्वदलीय बैठक : संशोधनमा दुई तिहाईको कसरत

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैशाख १५, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा दुई तिहाई पुर्‍याउन संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छुट्टाछुट्टै संवादको तयारी गरेका छन् । संशोधन विधेयकमा सहमति जुटाउन शुक्रबार सरकारी निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी एमाले, मधेसी दलसहित संसदीय दलहरुसग गरेको छलफलले ठोस गति नलिएपछि दाहालले यस्तो रणनीति अख्तियार गरेका हुन् । उनले संविधान संशोधन विधेयक अनुमोदन गर्न कसैगरी दुई तिहाई पुर्‍याउने प्रतिबद्धता सरकारले यसअघि नै दिइसकेको भन्दै प्रतिपक्षी एमालेलाई सहमतिमा आउन आग्रह गरे ।



‘एमालेले बुझ्नुपर्ने कुरा के हो भने अहिले पनि हामीले अघि सारेका संशोधन विधेयक मधेसी दलले पूरै मानिसकेको होइन, तर उहाँहरुले अपनत्व महसुस गर्नुहोस् भनेर राष्ट्रिय सहमतिको प्रयास गरेको हुँ,’ दाहालले भने, ‘यसमा कसै न कसैले रिस्क लिनैपथ्र्यो, मैले सरकार प्रमुखको हिसाबले सुरुवात गरेको हुँ । बाहिर अनावश्यक प्रचारबाजी गरिदिनुभएन । अब सहमति निर्माण गरेर निकास दिन सहयोग गर्नुपर्‍यो ।’ दाहालले संविधानको प्रस्तावनामै लेखिएको ‘राज्य बहुभाषी हुने’ लगायत विषय यो संशोधनमा व्याख्यासहित परेको भन्दै त्यसबारे गलत प्रचार भएको बताए ।



बैठक थाल्दै उनले संविधान संशोधन विधेयक टुंग्याउन सहमति मागेको राजपा नेता अनीलकुमार झाले बताए । ‘प्रधानमन्त्रीजीले संविधान संशोधनमा सहयोग गर्न सबै दललाई आग्रह गर्नुभयो, त्यसपछि पहिलो चरणको चुनाव भइसकेपछि मत गणना गर्ने कि, अर्को चुनावसम्म राख्ने भन्ने विषय राख्नुभयो, अनि बजेटलाई दुई चरणको चुनाव बीचमा राख्ने कि के गर्ने भन्ने विकल्पमा छलफलका लागि आग्रह गर्नुभयो,’ झाले भने, ‘हामीले संशोधन विधेयक पहिले टुंग्याउन भन्यौं । त्यसपछि राजनीतिक निकासका लागि सहज हुने हामैो कुरा रह्यो ।’

प्रधानमन्त्री निकट स्रोतका अनुसार दाहालले संशोधन विधेयक जसरी पनि पास गराउने भनी आफूले भनेको विषयलाई विवादको विषय नबनाउन बैठकमा आग्रह गरेका थिए । ‘मैले जसरी पनि पास गराउछौं भनेको हु, तर त्यसको अन्तर्य प्रमुख प्रतिपक्ष पनि त्यसमा सामेल होस् भनेर हो । पर्सिसम्म परिमार्जन आएपछि प्रतिपक्षले के राख्न, हटाउन चाहन्छ भन्ने हेरौं र पास गरेर जाऔं,’ उनले बैठकमा भने ।

दाहालले बोलेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई बोल्न आग्रह गरेका थिए । देउवाले आफू नबोली वरिष्ठ नेता रामचन्द्र पौडेललाई इशारा गरेपछि पौडेलले अब संशोधनमा विलम्ब नगर्न आग्रह गरे । ‘विधेयकमा असहमति राख्नुपर्ने त्यस्तो विषय छैन, यो सहमतिकै लागि गरिएको कोसिस हो,’ पौडेलले बैठकमा राखेको विषय सुनाउदै भने, ‘अब संशोधन टुंग्याएर निर्धारित समयमै चुनाव गर्न सबैले वातावरण बनाऔं । कांग्रेसको यसमा कुनै फरक विचार छैन ।’

एमाले नेता अग्नि खरेलले भने सत्ताघटकले प्रतिपक्षीलाई गुमराहमा राखेर अघि बढिरहेको आरोप लगाउदै पहिले विधेयकको परिमार्जित मस्यौदा हेरेर मात्रै प्रतिक्रिया दिन सकिने बताए । उनले चुनावलाई प्रभावित पार्नेगरी बजेट ल्याउन लागिएको भन्दै बजेट मिति सार्न नहुने, बरु चुनाव एकै चरणमा जेठ सात या आठ गर्ने गर्नुपर्ने तर्क गरे । ‘हामीलाई अहिलेसम्म परिमार्जीत विधेयकबारे थाहा छैन, पहिले सरकारले ल्याओस्,’ खरेललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘मिडियामा आएको कुरा पत्याउने हो भने अहिले पनि भाषा, नागरिकतालगायत विषयमा अस्पष्ट र दोहोरो अर्थ लाग्ने विषय राखिएका छन्, तिनलाई सच्याउनुपर्छ ।’

मधेसी दलबाट महन्थ ठाकुर, उपेन्द्र यादव र रामजनम चौधरीले बोलेका थिए । राजपा नेता ठाकुरले विगतमा राख्ने गरेकै विषय अधिकांश समय दोहोर्‍याए । उनले ‘विधेयक पारित गरेर मधेसी जनतालाई राहत दिइनुपर्ने तर्क गर्दै अब विधयेक बारेका छलफल लम्ब्याउन नहुने मत राखेका थिए । ‘हामी तपार्इंहरुसग वार्ता गरेरै थाकिसकेका छौं, अब यसलाई नलब्याउनुहोस्,’ ठाकुरले भने, ‘चुनावमा जान हामी पनि चाहन्छौं, तर त्यसका लागि हाम्रो शर्त संशोधन र्टुग्याउनुपर्छ भन्ने हो, नत्र फेरि वातावारण बिग्रन्छ ।’ फोरम अध्यक्ष उपेन्द्र यादवले एकै चरणमा चुनाव गर्न हुनुपर्ने माग गरे । उनले चुनाव दुई चरणमा गर्नैपरे पनि मतगणना दुई चरणमा गर्दा त्यसले अन्यौल र आशंका बढाउने भन्दै एकै चरणको पक्षमा मत राखे । लोकतान्त्रिक फोरम नेता रामजनम चौधरीले दलहरुमा अझै पनि चुनाव गराउने बारे मनस्थिति तयार भइनसकेको भन्दै असन्तुष्टि जनाएका थिए ।



Related Posts: