काठमाडौँ । अभिनेत्री वर्षा राउत यतिबेला नयाँ चलचित्र ‘छक्का पञ्जा–२’ को छायांकनमा व्यस्त छिन् । यसअघिको चलचित्र ‘मेरो पैसा खै’ को छायांकन सकेको केही समयमै उनले आफ्नो अघिल्लो चलचित्र ‘छक्का पञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा–२’ मा काम सुरु गरेकी हुन् । चलचित्रको छायांकनबाट फुर्सद हुनासाथ यी अभिनेत्री ठमेलको नर्सिङ चोकस्थित ‘केटीएम कफीे’ मा भेटिन्छिन् । उनीसँगै सो क्याफेमा अभिनेता सन्जोग कोइराला पनि भेटिन्छन् । यी जोडीसँगै बसेको देख्दा धेरैलाई त्यहाँ यिनीहरू समय बिताउन आएका होला भन्ने लाग्न सक्छ । तर, सो क्याफे सन्जोग र वर्षाले नै सञ्चालन गरेका हुन् ।
सम्बन्धका हिसाबले वर्षा र सन्जोग प्रेम जोडी पनि हुन् । विगत चार वर्षदेखि यी दुई आपसी प्रेम सम्बन्धमा छन् । आफ्नो प्रेमलाई सफल रूपमा अवतरण गराउँदै दम्पत्ति भएर कुशलतापूर्व जीवन बिताउने सपना यी दुईले साँचिसकेका छन् । त्यसका लागि आर्थिक रूपमा सबल हुनुपर्छ भन्ने सोचाइ यी दुईको छ । त्यसैले आफूहरूले संयुक्त व्यापार सुरु गरेको सन्जोग कोइरालाले खुलासा गरे ।
चलचित्र निर्माता शेखर कोइलाराका छोरा हुन् संयोग । तीन वर्षअघि चलचित्र उत्नसवबाट उनले नेपाली सिनेवृत्तमा अभिनय यात्रा थालेका थिए । आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका सन्जोग यतिबेला चलचित्र कथा काठमाडौंमा व्यस्त छन् । उनी चलचित्रबाट बचेको समय व्यापारमा खर्चने गर्दछन् । केटीएम कफी नै उनको पहिलो व्यवसाय होइन । उनले अरू पनि व्यवसायमा हात हालेका छन् ।भारतबाट सीए सकेर नेपाल फर्केका संयोगले व्यापार थालेको चार वर्ष हुन लाग्यो ।व्यवस्थापनमा स्नातक गरिरहेकी वर्षाको भनाइमा उनलाई सन्जोगले नै व्यापारमा ल्याएका रहेछन्, ‘मलाई त व्यापारसम्बन्धी आइडिया नै थिएन । सन्जोगले नेपाली चलचित्रमा अभिनयले मात्र जीवन चल्दैन व्यापारमा पनि लाग्नुपर्छ भनेपछि म पनि यता मोडिएकी हुँ ।’ राजधानीसँगको भेटमा वर्षाले भनिन्, ‘हामीले क्याफे चलाउनुअघि नै इन्टेरियर डिजाइन डेकोरेसनको व्यवसाय सुरु गरेका थियौं ।’ आफूहरूको इन्टेरियर डिजाइनको सामान इम्पोर्ट तथा बिक्रीको व्यवसायसमेत रहेको यी अभिनेत्रीले खुलासा गरिन् ।
सन्जोग र वर्षाको प्रेमसम्बन्ध नेपाली चलचित्र वृत्तमा केही समय यताबाट चर्चित छ । यी जोडी सभ्य प्रेमिका रूपमा परिचित छन् । चार वर्षअघिबाट यी जोडी प्रेम सम्बन्धमा बाँधिएका हुन् । सन्जोगका अनुसार चार वर्षअघि ऋषि लामिछानेको चलचित्र ‘सरी ल’ को अडिसनमा यी दुईको भेट भएको थियो । सो क्रममा यी दुईले केही समय सँगै अभिनय अभ्याससमेत गरे । विभिन्न कारणले त्यो फिल्ममा काम त गरेनन् । तर, उनीहरू यही चलचित्रको अडिसनका कारण निकट भए ।
आफूहरूको प्रेम निकटताबारे सन्जोगले भने, ‘हामी बिस्तारै नजिकको साथी बनेर एकले अर्काको केयर गर्न थाल्यौं । हाम्रो त्यो निकटतालाई सञ्चारमाध्यमले प्रेमी प्रेमिका भनेर चिनाएपछि हामी प्रेम जोडीका रूपमा खुलेका हौं ।’
यी दुईको निकटतम प्रेमसम्बन्ध दुवैतर्फको परिवारलाई स्वीकार्य छ । परिवारिक सम्बन्धबारे वर्षाले भनिन्, ‘हामी दुवै एक अर्काको घरमा जान्छौं र दुवै परिवारबाट हाम्रो प्रेमसम्बन्धलाई सकारात्मक रूपमा हेरिएको छ ।’ अहिले करिअर बनाउनुपर्ने समय भएकाले अभिनयसँगै व्यवसायमा पनि परिवारको सल्लाहअनुसार हात हालेको वर्षाले बताइन् । यी जोडीले आफ्नो व्यवसायलाई विस्तार गर्ने क्रममा केटीएम कफीलाई चेनका रूपमा अघि बढाउने योजना सुनाए ।
ठमेलको केटीएम कफी नै सन्जोगको पहिलो कफी व्यवसाय भने हैन । यो व्यवसाय सन्जोगले गत वर्षबाटै सुरु गरेका हुन् । पाटनमा एउटा क्याफे डेकोरेसन गर्ने क्रममा सन्जोगले सो क्याफे डेकोरेसनबापत पैसा लिएनन् । उनले आफू व्यावसायिक साझेदारी हुने सर्तमा सो क्याफे डेकोरेसन गरे । सानो चिटिक्क परेको त्यो कफीसपमा कफी पिउनेहरूको भिड देखेपछि सन्जोगले पनि काठमाडौंमा कफी व्यवसायको भविष्य देखे । त्यसैले उनले केटीएम कफी सुरु गरेका रहेछन् ।
पाटनको व्यापारको मुनाफाले हौसिएपछि उनले गत वर्ष काठमाडौंको नयाँ सडकमा आफ्नो पहिलो ‘केटीएम कफी’ क्याफे खोले । यो क्याफेमा पनि राम्रो व्यापार भएपछि दुई महिनाअघि आफूले ठमेलको नर्सिङ चोकमा दोस्रो चेनका रूपमा केटीएम कफी खोलेको बताए । केटीएम कफीको भविष्यबारे संयोजले भने, ‘वर्षा र मैले आफ्नो फुर्सदको समय केटीएम कफीलाई दिएका छौं । अब केटीएम कफीलाई चेनका रूपमा केही महिनाभित्रै नयाँ बानेश्वर र त्यसपछि अन्य केही ठाउँमा पनि खोल्ने तयारी हुँदै छ ।’ केही वर्ष यताबाट काठमाडौंमा कफी पिउने प्रचलनको विकास भएको ठहर सन्जोगको छ । काठमाडौंका ठूला मलदेखि विभिन्न कर्नरमा समेत कफीसपहरू चलेका छन् । सोही कारण पनि वर्षा र आफूले केटीएम कफी सुरु गरेको यी अभिनेताले बताए । राजधानी दैनिकले छापेको छ ।
‘हामी कलाकार उमेर र रूप रहुन्जेल मात्र अभिनयमा बिक्न सक्छौं । अभिनयको कमाइले सधंै जीवन धान्न सकिएला नसकिएला भनेर हामीले विवाहअघि नै व्यवसायमा हात हालेका हौं ।’ आपसी माया प्रगाढ भएपछि अभिनयसँगै केटीएम कफीलाई प्रेम गर्न थालेका यी युगल प्रेमीले भने, ‘व्यवसायसँगै हामी अभिनयलाई पनि निरन्तर अघि बढाउने छौं । हामी अभिनयबाट दर्शक र व्यवसायबाट ग्राहकको मनमा बसिरहनेछौं ।’वर्षा र मैले आफ्नोफुर्सदको समय केटीएम कफीलाई दिएका छौं । अब केटीएम कफीलाई चेनका रुपमा केही महिनाभित्रै नया“ बानेश्वरर त्यसपछि अन्य केहीठाउ“मा पनि खोल्ने तयारी हु“दै छ।