अस्पतालमा खिचिएको खन्नाको एउटा तस्बिर केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
वैशाख १५, २०७४- बलिउडका चर्चित अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । ‘ब्लाडर क्यान्सर’ भएपछि उनी मुम्बईस्थित रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना भएका थिए । त्यहीं उनले अन्तिम सास फेरे ।
अस्पतालमा खिचिएको खन्नाको एउटा तस्बिर केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । कुनै बेलाका हट्टाकट्टा हिरो उक्त तस्बिरमा साह्रै दुब्लो र छिनेका देखिन्थे । ‘उनको अवस्था सुध्रिने अनुमान गरेका थियौं तर ठीक उल्टो भयो,’ अस्पताललाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘उनी अप्रिलको पहिलो सातादेखि नै अस्पतालमा थिए ।’
बिहीबार दिनभर खन्नालाई श्रद्धाञ्जली दिनेको ओइरो लाग्यो । भारतका राष्ट्रपति प्रणव मुखर्जीदेखि अभिनेता अनुपम खेर, रजनीकान्त, अक्षय कुमार, वरुण धवन, निर्माता करण जोहरलगायतले ट्वीटरमार्फत उनलाई सम्झिए । ‘विनोद खन्ना निकै दक्ष र सर्वस्वीकार्य अभिनेता एवं सांसद थिए,’ राष्ट्रपति मुखर्जीले ट्वीटमा भनेका छन् । 
सन् १९६८ मा सुनील दत्तको फिल्म ‘मनका मीत’ बाट खन्ना बलिउडमा भित्रिएका थिए । सुरुका दिनमा उनी नेगेटिभ रोलमा देखिए । त्यसले उनलाई ‘हयान्डसम भिलेन’ का रूपमा स्थापित गराइदियो । तर, पछि मूलधारको हिरोको भूमिका गर्न थालेदेखि उनलाई फेरि ‘मोस्ट गुडलुकिङ एक्टर’ भन्न थालियो । धर्मेन्द्र, राजेश खन्ना, शम्मी कपुर र विनोद खन्ना अझै पनि बलिउडका हयान्डसम हिरो मानिन्छन् । 
नेगेटिभ र मसिना साइड रोलहरू हुँदै खन्नाले आफूलाई मुख्य भूमिकामा पुर्‍याएका थिए । सन् १९७१ मा बनेको ‘हम तुम और वह’ फिल्ममा उनी पहिलो पटक लिड रोलमा मात्रै देखिएनन्, फिल्म मज्जैले चल्यो पनि । आफ्नो जमानाको हिट हिरो खन्नाले बलिउडलाई थुप्रै ब्लकबस्टर फिल्म दिए । ‘मेरे अपने’, ‘इन्साफ’, ‘अमर अकबर एन्थोनी’ जस्ता फिल्मबाट उनले प्रशंसा कमाए । सन् २०१५ को फिल्म ‘दिलवाले’ मा उनी अन्तिम पटक शाहरूख खानसँग देखिएका थिए । 
सन् १९४६ मा पेसावर (हाल पाकिस्तान) मा जन्मिएका खन्ना कलाकारितामा लाग्नुअघि मुम्बईको सिडेनम कलेजमा व्यवस्थापन विषय पढ्थे । कलेज छँदा नै ‘मुगल ए आजम’, ‘सोलह साल’ लगायत फिल्म हेरेपछि उनी कलाकारितापट्टि तानिए । भिलेनका रूपमा थुप्रै फिल्म खेले पनि उनी सन् १९७७ मा बनेको ‘परवरिश’ बाट मात्रै चिनिए । यसमा उनी अमिताभ बच्चनसँग देखिएका थिए । त्यसपछि दुईले थुप्रै फिल्ममा सहकार्य गरे । उनीहरूलाई बलिउडका सुपरहिट जोडी पनि भनिन्थ्यो । त्यो जमानामा अमिताभ सर्वाधिक लोकप्रिय भए पनि खन्नाले आफ्नो छुट्टै स्थान खडा गरेका थिए । उनी नै लिड रोलमा रहेको फिल्म ‘रकी’ मार्फत अभिनेता सञ्जय दत्त बलिउडमा प्रवेश गरेका थिए । 
खन्नाले सन् १९७१ मा गीताञ्जलीसँग विवाह गरे । उनीहरूका दुई छोरा राहुल र अक्षय खन्ना बलिउडका परिचित अनुहार हुन् । दोस्री श्रीमती कवितापट्टि पनि उनका साक्षी र श्रद्धा गरी दुई छोराछोरी छन् ।
खन्ना ओशो रजनीशका ठूला भक्त थिए । बेलाबेला काठमाडौंको नागार्जुनस्थित ओशो तपोवन पनि आइरहन्थे । एकपटक त बलिउड नै छोडेर अमेरिकास्थित ओशोको आश्रम पनि पुगेका थिए । त्यहाँ उनले मालीको काम गरे ।
उनीप्रति तपोवनका संस्थापक स्वामी आनन्द अरुणले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘मेरो पुरानो मित्र एवं महान् अभिनेता विनोदलाई हामी स्वामी विनोद भारती भन्ने गथ्र्यौं,’ स्वामी अरुणले फेसबुकमा लेखेका छन्, ‘उनलाई मैले पछिल्लोचोटि दिल्लीमा भेटेको थिएँ । उनले कलाकार, संन्यासी र राज्यमन्त्रीका रूपमा सफल जिन्दगी बिताए ।

Related Posts: