त्रिशूली – नेपाल र चीनको एक मात्र खुला नाका रसुवागढी फेरि बन्द भएको छ। चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ। नेपाल चीनको व्यापारिक नाका रसुवागढी तीन दिनसम्म बन्द रहने छ। तीन दिनसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने चिनियाँ पक्षबाट जानकारी आएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले जानकारी दिनुभयो।
आइतबारदेखि तीन दिन पूर्ण रुपमा नाका बन्द हुने चिनियाँ अधिकारीले नेपाली सुरक्षा अधिकारीलाई जानकारी गराएको दाहालको भनाइ छ।चिनियाँ पक्षले २७ किलोमिटर दूरीको रसुवागढी–केरुङ सडक मर्मत तथा ट्रयाक निर्माणका लागि ब्लाष्टिङको काम शनिबारदेखि थालेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ। रसुवागढीदेखि चीनको केरूङसम्म चिनियाँ पक्षले शनिबारदेखि सडक सुधार तथा मर्मत कार्य थालेको छ।चिनियाँ पक्षले नाका बन्द भएको र सवारी साधन सञ्चालन प्रभावित भएको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिनुभयो। रसुवागढी नाका काठमाडौंदेखि एक सय ५२ किलोमिटर दूरीमा छ।
नाका सन्चालन हुँदा दैनिक रुपमा ५० वटा माल वहाक कन्टेनर तथा अन्य यातायातका साधन सन्चालन हुँदै आएका थिए। गत फागुनदेखि दुई महिनाको अवधिमा रसुवागढी नाका पहिरोलगायतका कारणले एक महिनाभन्दा बढी बन्द भइसकेको छ।नाका बन्द भएको जानकारीसंगै रसुवागढीबाट केरुङतर्फ १५ तथा केरुङवाट नेपालतर्फ ५० वाटा मालबहाक गाडी वारपार गरेको प्रहरी चौकी टिमुरेले जनाएको छ। चीनतर्फ जान लागेका दुई सय भन्दा बढी मालवाहक कन्टेनर जिल्लाको कालिकास्थान, वेत्रावती, धुन्चे, स्याफ्रु, रोङ्गा तथा टिमुरेलगायतका स्थानमा रोकिएका छन्।
नेपाल तथा चीनको विभिन्न स्थानमा सडक निर्माण तथा जलविद्युत आयोजना निर्माणका लागि ब्लाष्टिङ गर्ने काम भएपछि यातायात सञ्चालनमा रोक लगाइएको हो। नेपालतर्फ रसुवागढी जलविद्युत आयोजना निर्माणका लागि टिमुरेमा ब्लाष्टिङ गर्ने काम सुरु भएको छ। अन्नपूर्ण पोस्टबाट