श्विन २८, २०७४-काजोलले प्राय: कन्टेन्ट बेस्ड फिल्मलाई प्राथमिकता दिइन् । अचेल अन्य अभिनेत्रीले पनि उनको यो शैली अनुशरण गर्न थालेका छन् । यो कुरालाई लिएर काजोल खुसी छिन् । उनी भन्छिन्, ‘विस्तारै सही, परिवर्तन भइरहेको छ । गाना–बजाना, रुवाइधुवाइबाट अभिनेत्रीहरू अब अस्तित्वप्रधान फिल्मतिर सिफ्ट भइरहेका छन् । यो राम्रो कुरा हो ।’ अभिनेत्री स्वयंले चाहेर मात्र त्यो सम्भव नहुने काजोलको भनाइ छ । यसका लागि सम्पूर्ण फिल्म मेकर्स, कलाकार र अभिनेताको साथ/समर्थन महत्त्वपूर्ण हुने उनले बताएकी छन् । ‘महिला–प्रधान फिल्मको कुरा गर्दा हामीले त्यसपछाडिको टिमलाई भुल्नु हुँदैन,’ काजोल भन्छिन्, ‘निर्माता/निर्देशकको ब्याकअपबिना काम गर्न सहज छैन । हामीलाई बल दिने फिल्म मेकर्सलाई धन्यवाद दिन चाहन्छु ।’ उनले शाहरूख खान र आलिया भट्ट अभिनीत ‘डियर जिन्दगी’ लाई उदाहरणीय फिल्म मानेकी छन् । आलिया प्रमुख पात्र रहेको फिल्ममा शाहरूखले सहर्ष काम गरेकोमा उनले शाहरूखको तारिफ गरिन् । ‘त्यो फिल्म आलियाकै हो’, काजोल भन्छिन्, ‘शाहरूखले आलियालाई साथ दिएर उदाहरणीय काम गरेका छन् । अरू अभिनेताले पनि यस्तो साहस गर्न सकून् । फिल्म सबैका लागि बराबर प्लेटफर्म हो ।’