को रुदैन होला ! साउदीमा मालिकले यौन शोषण गर्यो, घर फर्केर आउँदा छोरा भन्छ ‘आमा तिमी नै खराब हौ’

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाण्डौ,काँइली (नाम परिवर्तन)लाई हिजोआज छोराले ‘आमा तिमी खराब हौ’ भन्छन् । १० नातीनातिनीकी हजुरआमा आफ्नै छोराले यस्तो वचन लगाउँदा सुनसरीकी काँइलीको मन चसक्क हुन्छ । ५२ वर्षकी काँइलीलाई विदेशबाट फर्केपछि श्रीमान् र छोराले गर्ने व्यवहारले मरेको जुनी भए झैं लाग्छ । उनलाई ४ वर्षसम्म तिनै छोराछोरी र श्रीमानका लागि सहेका दुःख याद आइरहन्छ ।

उनले साउदीमा घर मालिकको पिटाइ र नमिठो वचन सहनु पर्‍यो । घर फर्किएपछि पनि विदेशमा बिग्रिएर आइस् भन्दै श्रीमानको पिटाइ र नानाथरिका गाली सहनु परिरहेको छ ।
२०६९ सालमा भारतको बाटो हुँदै उनी साउदी पुगेकी थिइन् । साउदीमा काँइलीले नारकीय जीवन बिताउनु पर्‍यो । विदेश जानु अघि सडक बनाउने सहयोगीको काम गरेर उनले जेनतेन बिहान बेलुकीको छाक टार्थिन । गाउँकै चिनजानका दलालले विदेशमा हुने कमाइले गरिबी हट्ने लोभ देखाएपछि उनी साउदी गएकी थिइन् ।


काम गर्ने घरका सबैले पालैपालो पिट्थे

काँइलीका लागि साउदी अरब दलालले भने जस्तो भएन् । उनले भाषा बुझिनन् । काम गर्न पनि जानिनन् । काम गर्न नजान्दा घर मालिकले उनलाई पशु झैं व्यवहार गरे । घरेलु काम गर्ने उनलाई मालिककले मन लागेको व्यवहार गरे । काम गर्ने घरमा रुने छुट थिएन । ‘जति रोयो उति नै कुट्थे, मार्छु भनेर बन्दुक देखाउँथे,’ साहुले गरेका व्यवहार बताउँदा काँइलीका गहभरी आँसु भए । उनलाई ४ वर्ष सहेका दुःख शब्दमा उतार्न गाह्रो भैरहेको थियो ।

साहुले मात्र हैन परिवारका सबैजनाले पालैपालो पिट्थे । त्यतिबेलाको पिटाइ उनको पिठ्युँमा दाग बनेर बसेका छन् । पिठ्युँको दाग देखाउँदै काँइलीले भनिन्, कहिले त लुगा फुकाल्न लगाएर पनि पिट्थे । घर मालिकले पशुलाई झैं गरेका व्यवहार र पिटाइले काँइलीलाई बाँच्छु भन्ने लाग्न छाडेको थियो ।

कामको मेसो नपाउँदा साहुनीले उनलाई कुकुर्नी भन्दै गाली गर्थिन् । साहुनीले गर्ने व्यवहार पनि त्यो भन्दा फरक थिएन् । ‘उनीहरुले खाएर बचेको जुठो भात दिन्थे, त्यो पनि पेटभरि खान पनि पाइन,’ काँइलीले सुनाइन् । उनलाई घर बाहिर निस्कन दिँइदैनथ्यो । उनले देखेको साउदी भनेको साहुको दुई तलाको घर मात्र हो ।

परदेशमा साहुका छोरीहरुकी आमा

कखरा पनि नचिन्ने काइलीलाई परदेशमा भाषा सिक्न, काम जान्न धेरै समय लाग्यो । एउटा घरभित्र उनले अनेकौं मान्छे देखिन् । एउटै गिलास साहुनीले १० पटकसम्म माझ्न लगाइन् । काँइलीका हातमा सिसाले काटेको दाग प्रष्टै देखिन्छन् । उनले भनिन्, भाँडा माझ्न नजान्दा हातमा कुट्थे ।

घरको काम देखि दुई छोरीको स्याहार उनकै काँधमा थियो । उनी साउदी पुग्दा घर मालिकका जुम्ल्याहा छोरीहरु १५ दिनका थिए । बोल्न थाले पछि उनीहरुले काँइलीलाई आमा भन्थे । काखे छोरो छाडेर विदेश गएकी काँइली साहुका छोरीहरु देख्दा आफ्नै छोरो सम्झेर रुन्थिन् ।
परदेशमा साहुका छोरीहरुकी आमा काँइली साहुसाहुनीको चाहिँ प्यारी हुन सकिनन् । काम जान्न थालेपछि पनि उनले कुटाइ र गाली सहनु पर्‍यो । काँइलीलाई अहिले लाग्छ, ‘विदेशमा हामीलाई कुट्न नै लैजान्छन् कि के हो ।’

४६ वर्षमा विदेश गएकी काँइलीको उमेर ढल्कदै थियो । त्यसमाथि ६ जना छोराछोरीकी आमा उनको ज्यान दरो थिएन् । पानीमा रुझ्दा पनि बिरामी पर्ने उनी पेटभरी खान नपाएरै बिरामी पर्न थालिन् । उपचार र आराम नपाएपछि काँइली सिकिस्तै भइन् ।

काम गर्न नसकेपछि साहुले सडकमा छाडेर हिँडे

कामै गर्न नसक्ने भएपछि अब उनको के काम थियो र । साहुले उनलाई रियादमा रहेको नेपाली दूतावास नजिकै बिच सडकमा छाडिदिए । ‘अस्पताल हिँड भनेर साहुले अन्तै लगे, रोडमा छाडेर फर्किए,’ यति सुनाउँदा काँइलीका आँखा आँशुले भरिए ।

१० लाखमा किनेर ल्याएको भन्दै गाली गर्ने साहुले उनलाई चारवर्ष बिना तलव काममा लगाए । काम गर्न नसक्ने भएपछि सडकमा फालेर साहु फर्किए । उनी जुरुक्क उठेर हिँड्न पनि सक्ने अवस्थामा थिइनन् । पेटमा अन्न नपरेको १० दिन भैसकेको थियो ।

रोइरहेकी काँइलीलाई सडक बनाउने काममा खटिएका नेपालीले दूतावाससम्म पुर्‍याए । त्यतिबेला उनको स्वास्थ्य अवस्था एकदमै नजुक भैसकेको थियो । ‘अस्पताल जान २० मिनेट ढिलो भएको भए म नबाँच्ने रहेछु,’ काँइलीले त्यो बेलाको आफ्नो अवस्थाको बारेमा प्रष्ट्याइन् । उनलाई त्यो कुरा डाक्टरले बताएका थिए ।

उनी ९ महिनामा मात्रै निको भइन् । २०७३ साल असारमा नेपाली दूतावासले उनलाई नेपाल पठायो । दुईचार पैसा कमाउने, घरबार जोड्ने आशाले परदेश गएकी काँइलीको झण्डै उतै ज्यान गयो । त्यसरी मृत्युलाई जितेर घर फर्किए पनि उनलाई कहाँ राम्रो भयो र !

आफन्तले त बिग्रेको भने, छोरा र श्रीमानले पनि छाडेनन्

छोराले उनलाई बिग्रेकी भने । अनि श्रीमानले साहुले कुटेर थलिएको शरीरमा कुटाइ थपे । बिग्रिएर आएकै आरोप लगाए । उनलाई घर फर्किपछि पाएको यातनाले बाँचेर आएछु भनेर पछुतो लाग्छ । उनी घर फर्कदा छोराछोरीको बिचल्ली थियो । १४ वर्षको छोरीको बिहे भैसकेको थियो । काखे छोरोको गाँसबासको ठेगान थिएन । उनको श्रीमान् दिनभरी सडक बनाउने काम गर्थे । साँझ उतै बस्थे । घर पनि बेचिसकेकाले बस्ने ठाउँ थिएन ।

विदेशको सपनाले उनको यथार्थ लुटियो । सग्लाे ज्यान पनि ४ वर्षको पिटाइले थिलथिलो भएकोे छ । अब उनले पहिले गर्ने काम पनि गर्न नसक्ने भएकी छिन् । कमाउन गएकी काँइली बाँचेर त फर्किइन, तर साथमा पैसा हैन जीवनभरी नमेटिने चोट र आरोप लिएर । परदेशमा पाएको पीडा माथि आफन्त र समाजले लगाएका आरोपले उनको मन झनै कुँडिन्छ ।

हिजोआज उनी मेलापात पनि गर्न सक्दिनन् । केही गह्रौं काम गर्‍यो कि बिरामी पर्छिन् । आम्दानीको स्रोत पनि केही छैन । श्रीमानले कमाएको रक्सी पिएरै सक्छन् । सडकमै बस्ने श्रीमान् घर आए पनि उनले पिटाइ सहनुपर्छ ।

विदेशबाट फर्किएको एक वर्षमा उनले टाउको लुकाउने घर बनाएकी छन् । सानै उमेरमा बिहे गरेकी छोरीलाई फर्काएर आफैंसित राखेकी छिन् । छरिएको परिवारलाई त जोडिन काँइलीले । तर आफैले जन्माएको छोरा र श्रीमानले लगाउने आरोपले काँइलीको मन भने टुक्रिएको छ ।

Related Posts: