चिनीयाँ राष्ट्रपति सी चिनफिङ दोस्रो कार्यकालका लागी निर्वाचीत भएसँगै झन शक्तिशाली बनेका छन् । चिनफिङले जनमुक्ति सेनालाई युद्ध जित्नमा केन्द्रित हुन आदेश दिएपछि भारत सशंकित भएको छ ।
त्यसमाथि नेपाल, भारत र भुटानको सिमानामा रहेको तिब्बतका बासिन्दालाई सीले चिनियाँ भूभागको रक्षाका लागि जरो गाडेर बस्न भनेपछि पनि भारतको मनमा चिसो पसेको कतिपयको बुझाई छ ।
चीनले ब्रह्मपुत्र नदीका सम्बन्धमा पनि नयाँ योजना तयार पारेको छ । चिनियाँ इन्जिनियरहरूले ब्रह्मपुत्रको पानी डाइभर्ट गर्नका लागि एक हजार किलोमिटर लामो सुरुङ बनाउने भएका छन् । यो सुरुङमार्फत ब्रह्मपुत्रको पानी तिब्बतबाट सिनजियाङतर्फ मोडिने भएको छ । यसले भारतलाई मात्र नभई बंगलादेशलाई पनि असर पर्ने भारतको विश्लेषण छ ।
हङकङबाट निस्कने साउथ चाइना मर्निङ पोस्टले लेखेअनुसार यो कदमले वातावरणविद्हरू चिन्तामा परेका छन् किनकि यसबाट हिमालय क्षेत्रमा प्रतिकूल असर पर्न सक्छ । इन्जिनियरहरूले योजना चिनियाँ सरकारलाई बुझाएको भएपनि सरकारका तर्फबाट स्वीकृति आइसकेको भने छैन ।
भारतको अर्को चिन्ता भनेको भारतीय क्षेत्रमा आफ्नो हक जमाउन चीनले वर्षौंदेखि गोठालाहरूको प्रयोग गर्दै आइरहेको छ । अरुणाचल प्रदेशमा गोठालाहरू पठाएर चीनले त्यसलाई दक्षिण तिब्बत बताउँदै आएको छ । यही योजनालाई चीनले अहिले एक कदम अघि बढाएको बुझिएको छ ।
राष्ट्रपति सीले तिब्बतको लुंजे काउन्टीको एक गोठाला परिवारलाई पत्र लेखेका छन् । त्यसमा भनिएको छ, ‘क्षेत्रमा शान्ति भएन भने लाखौं परिवारका लागि जीवन शान्तिपूर्ण हुने छैन ।’ यसको अर्थ भारतले के लगाएको छ भने चीन गोठालाहरूलाई आफ्नो नागरिक बताएर मानवअधिकारको दुहाई दिँदै सीमाक्षेत्रमा दाबी गर्दैछ ।
यसै सन्देशका साथ चीनले गोठालाहरूको एक परिवारलाई सीमावर्ती क्षेत्रमा बस्ती बसाल्न, चिनियाँ क्षेत्रको सुरक्षा गर्न र बस्ती विस्तार गर्न प्रोत्साहित गरेको छ ।
अझ, त्यसमाथि चीनले भारतलाई सैनिक बलले समेत तर्साउन खोजेको भारतको निष्कर्ष छ । आफ्नो सेनालाई विश्वस्तरीय बनाउने सीको उद्घोष र दोस्रोपटक राष्ट्रपति भएपछि सैन्य पोशाकमा सैनिकहरूसँगको बैठकबाट पनि सीको उद्देश्य प्रस्ट भएको भारतको आँकलन छ ।