राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ । आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको बताए ।
यस्तो छ राजपाको आन्दोलन कार्यक्रम – जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने । – जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने । -जेठ ३० र ३१ गते गाउँपालिका नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने । -असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने ।
-असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने । -असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने । -असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने । -असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्याउने । -असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्याली निकाल्ने । -असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने ।