भारतमा बाल्यावस्थामै हराएका एक युवा करिब १५ वर्षपछि घरपरिवार खोज्दै भौंतारिइरहेका छन् । नेपालबाट बुबासँगै भारतको पञ्जाबको अम्बाला सहर पुगेका युवा रेलमा चढेपछि बिछोडिएका थिए ...

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ १९, २०७४- भारतमा बाल्यावस्थामै हराएका एक युवा करिब १५ वर्षपछि घरपरिवार खोज्दै भौंतारिइरहेका छन् । नेपालबाट बुबासँगै भारतको पञ्जाबको अम्बाला सहर पुगेका युवा रेलमा चढेपछि बिछोडिएका थिए । ८/९ वर्षको उमेरमा हराएका ती युवाले आफ्नो खास नाम पनि थाहा पाएका छैनन् । उनी आफैंले भीम जैसी नाम राखेका छन् ।

नेपालको घरठेगाना थाहा नपाउँदा उनी अलमलमा परेका छन् । घरबास रहेको ठाउँको वस्तुस्थितिबारे केही जानकारी भए पनि कुन ठाउँ हो भन्ने थाहा पाउन कठिन भएको छ । तराईको मुख्य सडकदेखि आधा घण्टा पैदल दूरीमा घरमा पुगिने, घरनजिकै हाते पम्प, बाँसघारी भएको, नजिकै बाँसले बेरेको स्कुल भएको उनी सम्झन सक्छन् ।

उनलाई जसरी पनि आमाबुबा भेटाएरै छाड्ने धोको छ । बुबाको अघिल्लो माथि र तलको २/२ दाँतमा सुनका खोका लगाइएको थियो । आमाले नाक र कानमा बुलाकी र फुली लगाएको उनलाई याद छ । उनको गाउँमा गोलो घेरा बनाएर नाच्थे । घरनजिकै परालको कुनिउँ हुन्थ्यो । गाउँमा गोरुगाडा चल्थे । घरमा टायलको छाना थियो । उनको परिवार पहाडी गाउँबाट तराईमा झरेको थियो । तराईमा उनका ४ मामा थिए । मामाघरनजिकै बसाइँसराइ गरी बसेको उनलाई थाहा छ । यी सबै विवरण उनको सम्झनामा भए पनि ठाउँको नाम थाहा नहुँदा उनी साह्रै दु:खी भएका छन् । कुन दिन बाआमा भेटिएलान् भनेर उनी ठाउँ फेर्दै हिँडेका छन् ।

२२/२३ वर्षका भीमले घरमा हुँदा ‘जैसी बाहुन’ भन्ने सुनेका कारण जैसी थर भएको अनुमान गरेका छन् । उनलाई बुबा, आमा र भाइ, बहिनीको नाम भने थाहा छ । बुबाको नाम भूमि, आमाको भद्रकला, भाइको कृष्ण र बहिनीको दिलु हो । बुधबार जन्मेका कारण उनलाई घरमा सानोमा बुधे भनेर बोलाइन्थ्यो । घरनजिकैको निजी स्कुलमा यूकेजी पढ्दै गरेका बुधे पढाइमा ध्यान नदिएपछि बुबाले भारत लिएर गएका थिए । ‘बुबा भारतमा चौकीदारी गर्नुहुन्थ्यो । मैले पढाइमा ध्यान नदिएपछि आफूसँगै भारत लैजानुभयो । अम्बालामा सडकछेउको एउटा चाउमिन पसलमा मलाई पनि काम लगाइदिनुभयो,’ उनले भने, ‘म चकचके स्वभावको भएकाले एउटा साइकल लिएर राजमार्गमा गएँ । मोटरसाइकले ठक्कर दिएर पेटमा ठूलो चोट लाग्यो ।’

सख्त घाइते भएपछि विभिन्न ४ अस्पताल पुर्‍याएर अप्रेसन गरेको र २ महिनासम्म अस्पताल बसेको उनलाई थाहा छ । अहिले पनि उनको पेटमा अप्रेसन गरी सिलाएको लामो खत छ । ‘२ महिनापछि पेटको टाँका काटेर कोठामा फर्किएँ । त्यसको २/३ दिनपछि म पागलजस्तो भएछु । बुबा काममा गएका बेला कोठाबाट निस्केर एउटा रेलमा चढें,’ उनले भने, ‘बुबाले कुटपिट गर्दै काममा लगाउने भएकाले मलाई टाढिन मन लागेको थियो । त्यही मौका छोपेर भागें ।’ रेलबाट उनी अमृतसर पुगे । त्यहाँ सरदारहरूको गुरुद्वारामा पुगे । २ वर्षसम्म सेवा गरी बसे, ज्यान पाले । त्यसपछि एक सरदारले फकाएर आफ्नो घरमा लगेर काममा लगाए । त्यहाँ २ वर्षजति भैंसी पालेर बसे ।

सरदारले कुटपिट गर्न थालेपछि उनी त्यहाँबाट पनि भागे । जलन्दरमा पुगेर रेलको प्लेटफर्ममा ४ वर्षजति सरसफाइको काम गरे । उमेर बढदै गएपछि उनले बिस्तारै बाल्यकाल सम्झन थाले । ‘बुबाआमा, घरपरिवार कता होलान् भनेर सोधीखोजी गर्न थालें । पहिले बसेको अम्बाला सहर पुगें तर कोही पनि चिनेको भेटिनँ,’ उनले भने, ‘विस्तारै घरपरिवारको महत्त्व बढदै गयो । साह्रै गम्भीर हुन थालें । अब जसरी पनि नेपाल पसेर घरपरिवार खोज्ने योजनामा विहार हुँदै विराटनगरबाट नेपाल पसें ।’

विराटनगरमा एउटा गाडीचालकसँग उसकै घरमा गए । त्यहाँ केही दिन काम गरेपछि उनले काठमाडौंको बसमा चढाइदिए । काठमाडौं ओर्लेपछि कता जाने भन्ने केही थाहा भएन । त्यत्तिकै भौंतारिँदै हिँडदा एकजनाले काममा लगाइदिने भन्दै गाउँतिर लिएर गए । त्यहाँ उनले १ वर्षजति मजदुरी गरे । ‘आफ्नो कहानी सुनाउँदा कसैले पागल भन्थे, कसैले केही पत्याउँदैनथे । पछिपछि भन्नै छाडें,’ उनले भने, ‘अलिकति पैसा बनाएपछि बसपार्क आएर पश्चिमको गाडीमा चढें । गाडीले दाङको घोराहीमा ओराल्यो ।’

बास खोज्दै जाँदा घोराहीस्थित सौगात होटलमा पुगे । बास बस्दा होटलले नाम, ठेगाना सोध्यो । उनले केही बताउन सकेनन् । त्यसपछि होटलमा बास नपाइने अवस्था भयो । केहीबेर बसेर सबै कहानी सुनाएपछि बास बस्न पाइने भयो । अर्को दिन होटल सञ्चालक टीकाराम भुसालले प्रहरी कार्यालयमा पुर्‍याए र सबै विवरण सुनाइदिए ।

प्रहरीले घरपरिवार नभेटिँदासम्म राख्ने अनुमति दिएपछि अहिलेसम्म होटलमै बसिरहेका छन् । जानकारी पाएका जति आएर उनलाई भेटे तर आमाबुबा को हुन् भन्ने अझै पत्ता लागेको छैन । पुस २७ मा दाङ आएका भीम अब घरपरिवार नभेटाएसम्म कतै नजाने बताउँछन् । ‘मेरो घटना र गाउँघरको विवरणबाट आमाबुबाले मलाई चिन्नुपर्ने हो,’ उनले भने, ‘बाआमा भेटिएपछि मैले नयाँ जीवन सुरु गर्ने थिएँ ।’









Related Posts: