नेपालीलाई विना इजाजत अपहरण शैलीमा पक्राउ गर्न डोटि पुग्यो भारतीय प्रहरीको टोलि

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपाल प्रहरीको इजाजत विना नै अपहरण शैलीमा पक्राउ गर्न आएको भारतीय प्रहरीको टोलिलाई जिल्ला प्रहरी कार्यालय डोटिले नियन्त्रणमा राखेको छ । भारतीय प्रहरीका डीएसपी सहितको ७ जनाको टोलीले नेपालीको घरबाट एक नेपालीलाई पक्राउ गर्न डोटि पुगेको छ । डोटि सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडाका लालबहादुर आउजीलाई बुधबार राति उनकै घरबाट बन्धक बनाएर लैजाने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

भारतीय प्रहरी र तिनका सहयोगीलाई विशेष सुरक्षासहित प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टको कार्यकक्षमा राखिएको स्रोतले जनाएको छ । बन्धक बनाइएका आउजी पनि प्रहरी नियन्त्रण मै छन् ।

भारतीय प्रहरीले घटनामा प्रयोग गरेको गाडी प्रहरी कार्यालय परिसरमा त्रिपालले छोपेर राखेको बाहिरबाट देखिन्छ । पत्रकारहरूलाई उक्त गाडीको फोटो खिच्न समेत दिइएको छैन।
लालबहादुर घरमा सुतिरहेका थिए । डोटि कै एक भारतीय प्रहरीसंग आएका एक नेपालीले मध्यरातमा बोलाएपछि लालबहादुरकी श्रीमतीले ढोका खोलेकी थिइन् । एक्कासि भारतीय प्रहरी घरभित्र पसेर कुटपिट गर्नुका साथै लालबहादुरलाई जबरजस्ती गाडीमा बन्धक बनाएर लगेका थिए ।

घटनालगत्तै स्थानीयवासीले लडागडा प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । स्थानीय प्रहरीले गाडी समात्न नसकेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको थियो । जिल्ला प्रहरीले आफ्नो कार्यालय अगाडि गाडी नियन्त्रणमा लिई पक्राउ गरेको हो ।

कामको सिलसिलामा भारतमा बस्ने लालबहादुर चार महिनाअघि फर्किएका हुन् । नेपाली प्रहरीसँग समन्वय नगरी उताको प्रहरी आई उनलाई अपहरण शैलीमा रातारात लैजान चाहनुको कारण खुलेको छैन । आफन्तका अनुसार उनलाई हिरासतमा राखिएको छ र कसैलाई भेट्न दिइएको छैन ।

अवैध रूपमा आएका भारतीय प्रहरीलाई एसपीले आफ्नो कक्षमा ससम्मान राखेको र लालबहादुरलाई थुनामा राखेको आरोप उनीहरूले लगाएका छन् ।

प्रमुख जिल्ला अधिकारी एक कार्यक्रमका लागि जिल्लाबाहिर छन् । कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछानेले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । नेपालको सीमाभित्र भारतीय प्रहरी आएर राति अपहरण गर्ने हिम्मत गर्नु सामान्य घटना नभएको अधिवक्ता डन्डीराज ओझाले बताए ।

‘यस घटनाले नेपालको सुरक्षा अवस्था प्रस्ट देखियो, नेपाल प्रहरीको सक्षमतामाथि पनि प्रश्न उठेको छ,’ उनले भने ।

यसअघि २०७३ साल वैशाख १२ गते डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे क्षेत्रबाट ५ भारतीय प्रहरी अवैध हतियारसहित पक्राउ परेका थिए । समातिएकालाई नेपाल प्रहरीका उच्च पदस्थ कर्मचारीले भारतसमक्ष बुझाएका थिए ।



Related Posts: