७ असार, काठमाडौं । भ्रमणका क्रममा दिल्ली पुगेका नेपाली नेतालाई त्यहाँका पत्रकारले प्रायः सोध्ने पहिलो प्रश्न हुन्छ- ‘नेपालमा मधेसीहरुले कहिले अधिकार पाउँछन् ? नेपालको संविधानले मधेसीमाथि किन विभेद गरेको ? नेपालको संविधान कहिले संशोधन हुन्छ ?’
भारतीय पत्रकारले नेपालको संविधान पढेका छन् कि छैनन्, त्यो तपशीलको कुरा हो, तर उनीहरु मधेस आन्दोलनलाई आफ्नै आन्दोलनजस्तो ठान्छन् । मधेसी जनताले संविधानमा पहाडेले जति नै अधिकार पाएका छन् भन्यो भने भारतीय पत्रकारहरु आवेशमा आउँछन् । र, उनीहरु आफैं मनोगत दाबी गर्न थाल्छन् कि नेपालको संविधानले मधेसीलाई अधिकार दिएकै छैन, दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको छ ।
यतिबेला उत्तरपूर्वी भारतको दार्जीलिङमा त्यहाँका नेपालीभाषी भारतीयहरुले अधिकारको आन्दोलन सुरु गरेका छन् । भारतीय पत्रकारकै शैलीमा प्रस्तुत हुने हो भने के मान्नुपर्छ भने दार्जीलिङमा अधिकार मागिरहेका आफ्ना जनतामाथि भारत सरकारले दमन गरिरहेको छ । गोली हानेर निहत्था जनताको हत्या गरेको छ । दशकौंदेखि आफ्नो अधिकार मागिरहेका आफ्नै देशका जनतालाई भारत सरकारले अधिकार दिएको छैन । सत्तारुढ जातिले उनीहरुमाथि आफ्नो भाषा जबरजस्ती लाद्न खोजिरहेको छ । भारतको ६० वर्ष पुरानो संविधानले गोरखालीहरुलाई समान व्यवहार गरेको छैन । र, भारतको संविधान पूर्ण छैन ।
दिल्लीमा भेटिने भारतीय पत्रकारले मधेसको सवालमा नेपाली नेतामाथि जस्तो प्रश्न गर्छन्, नेपालीले पत्रकारले ‘टिट फर ट्याट’ गर्ने हो भने दिल्लीबाट काठमाडौं नेपाल आउने भारतीय पाहुनालाई पनि यस्तै प्रश्न सोध्न सकिन्छ – ‘तपाईहरुले दार्जीलिङका आफ्ना जनतामाथि कहिलेसम्म गोली दागिरहनुहुन्छ ? उनीहरुलाई अधिकार कहिले दिनुहुन्छ ? र, तपाईहरुको संविधान कहिले संशोधन गरेर पूर्ण एवं सर्वस्वीकार्य बनाउनुहुन्छ ?’
मधेस र दार्जीलिङको चश्मा
हामी नेपालीले बुझ्नुपर्ने तथ्य के छ भने दार्जीलिङको आन्दोलनलाई मधेस आन्दोलनसँग जोडेर ‘टिट फर ट्याट’ गर्दैमा हाम्रो दायित्व पूरा हुँदैन । हामीले मधेसलाई मधेसकै आँखाले हेर्नुपर्छ । र, दार्जीलिङलाई दार्जीलिङकै आँखाले । हामी नेपालीले यो कुरा पनि बिर्सन हुँदैन कि मधेसका जनताले हिन्दी, मैथिली, भोजपुरी अवधी वा जुनसुकै भाषा बोले पनि उनीहरु ठेट नेपाली नै हुन् । तर, दार्जीलिङ वा सिक्किमका जनताले नेपाली भाषा फरर बोले पनि उनीहरु नेपाली होइनन्, भारतीय नै हुन् ।
कुनै पनि देशको सार्वभौमिक अस्थित्व उसको भूगोलले निर्धारण गर्छ, न कि भाषाले । एउटै भाषा बोल्दैमा दुई देशका नागरिक एकै हुन सक्दैनन् । यदि त्यस्तो हुन्थ्यो भने अंग्रेजी भाषा बोल्ने देशवीचमा शत्रुता नै हुँदैनथ्यो, उनीहरु एउटै देश हुने थिए । त्यस्तै फ्रेञ्च भाषा पनि अन्तरदेशीय भाषा नै हो ।
यसको अर्थ के हो भने भिन्नाभिन्नै देशमा साझा भाषा र साझा संस्कृतिका नागरिकहरु रहन सक्छन् । तर, यसले देशको भूगोललाई मेट्दैन । नेपालमा भारतीय मूलका मानिसहरु पनि छन् र भारतमा नेपाली मूलमा मानिसहरु छन् । तर, उनीहरुलाई भाषा र नश्लकै आधारमा एकै देशको नागरिकजस्तो मान्न सकिँदैन । जस्तो- भारतमा पनि यादवहरु छन् र नेपालमा पनि छन् । तर, नेपालका यादवहरु नेपालकै भूमिपुत्र हुन् । भारतका लालुप्रसाद यादव उतैका भूमिपुत्र हुन् ।
हो, राज्यहरुको निर्माण, विघटन वा विनिर्माणका क्रममा विभिन्न जातिका मानिसहरु यता-उता सर्न सक्छन् । विगतमा नेपालको सीमाना सिक्किम वा कुमाऊ गढवालसम्म थियो । तर, अहिले त्यो सीमानाभित्रको चौहद्दी मेरो हो भनेर नेपालले दाबी गर्न मिल्दैन । दार्जीलिङलाई पनि नेपालले आफ्नो हो भनेर दाबी गर्न मिल्दैन ।
विगतमा नेपालीहरु दार्जीलिङ, सिक्किम, असाम, भुटान वा मेघालयसम्म छरिए । भारतीयहरु पनि नेपाल पसेर व्यवापार व्यवसाय गर्दै बसोबास गरे । तर, दुबै देशको संविधानले उनीहरुलाई आफ्नो देशको नागरिकका रुपमा स्वीकार गरिसकेपछि उनीहरुलाई आप्रवासी वा विदेशीको चश्माले हेरिनु न्यायसंगत हुँदैन ।
दुबै देशले अहिले स्वीकार गरेको तथ्य के हो भने आफ्नो सीमाभित्र बसोबास गर्ने बहुल जाति र बहुलभाषी जनता आ-आफ्ना देशका नागरिक हुन् । भारततिरका नेपालीभाषीहरु भारतीय हुन्, नेपालतिरका हिन्दीभाषीहरु नेपाली हुन् । यसमा कुनै दुविधा छैन र हुनु पनि हुँदैन ।
दार्जीलिङमा उठेको गोरखा आन्दोलनका बारेमा चर्चा गरिरहँदा यो प्रशंग किन उठाइएको हो भने त्यहाँको आन्दोलनलाई लिएर नेपालमा धेरै उत्साह, उत्तेजना वा आक्रोश जरुरी छैन । किनभने त्यो आन्दोलन भारतको आन्तरिक समस्या हो । जसरी मधेसको समस्या नेपालको आन्तरिक हो, त्यस्तै दार्जीलिङको समस्या भारतको आन्तरिक मामिला हो ।
हामीले काठमाडौंमा बसेर दार्जीलिङलाई हेरिरहँदा यो आन्दोलनमा नेपाल कहाँनेर छ भनेर हेर्नुपर्छ । भारतीय पत्रकारहरुको जस्तो तल्लो स्तरमा नेपालीहरुले प्रस्तुत हुनु शोभनीय हुँदैन । किनभने, नेपाल सानो देश भएता पनि भारतको तुलनामा बढ्ता समावेशी छ । र, भारतीयहरु भन्दा नेपाली नागरिक ‘सिभिलाइज्ड’ बन्न थालेका छन् । त्यसैले भारतको भन्दा नेपाली प्रेस जगत पनि सन्तुलित र ‘प्रोफेसनल’ छ, हुनुपर्छ । दार्जीलिङको दुःख
नेपालको मधेसमा बसोबास गर्ने नेपाली नागरिक र भारतको दार्जीलिङमा बसोबास गर्ने भारतीय नागरिकहरुको दुःख लगभग उस्तै प्रकारको छ ।
कतिपय भारतीयहरुले दार्जीलिङका गोरखाली समुदायलाई ‘नेपाली’ भन्दै विदेशी करार गर्न खोज्छन् । नेपालमा पनि कतिपयले मधेसी समुदायको नेपाली नागरिकलाई ‘भारतीय’ भन्दै अपमान गर्छन् । दार्जीलिङमा कुनै आन्दोलन हुनासाथ काठमाडौंका हामी नेपालीले ठूलो स्वर निकालेर गोरखा आन्दोलनमा ऐक्यवद्धता जनाउन थाल्छौं, जसले गर्दा दार्जीलिङबासीलाई सहयोग पुग्दैन, बरु घाउमा नून छर्केजस्तो हुन्छ ।
यता मधेसमा आन्दोलन हुनासाथ बिहारी र बंगालीहरुले मधेस आन्दोलनमा एकाएक समर्थन र सुहयोग गर्न थाल्छन् । सीमापारि बोलाएर मेसमा खाना खुवाउँछन् । दिल्लीका पत्रकारहरु कोकोहोलो गर्न थाल्छन् । तर, भारतीयहरुले गर्ने यस्तो समर्थन र सहयोगले मधेस आन्दोलनलाई फाइदा गर्दैन, घाटा पुर्याउँछ ।
यो कुरा सही नै हो कि गोखालीहरुले राख्दै आएको मागलाई भारत सरकारले अहिलेसम्म पूरा गरेको छैन । सुवास घिसिङका पालादेखि अहिलेसम्म दार्जीलिङका भारतीय नागरिकले बलिदानीपूर्ण आन्दोलन गरेको एक पुस्ता भइसक्यो, तैपनि केन्द्र सरकारले उनीहरुको माग पूरा गरेको छैन । अहिले पनि गोली हानेर मार्ने काम भारतीय सत्ताले गरिराखेको छ ।
दार्जीलिङको असन्तुष्टिले भारतीय लोकतन्त्र र संविधान अझै पनि पूर्ण हुन सकेको छैन भन्ने देखाएको छ । आफ्नो देशभित्रका अल्पसंख्यक जातिमाथि दमन गरेर लोकतन्त्र फस्टाउन सक्दैन भनेर छिमेकीलाई सिकाउने भारत सरकारले दार्जीलिङका आफ्ना जनताको मागलाई कसरी सम्बोधन गर्छ, त्यो हेर्न बाँकी छ । हामी नेपालीहरु यसमा केवल पर्यवेक्षकमात्रै हौं र हुनुपर्छ ।
हामीले दार्जीलिङको आन्दोलनमा ऐक्यवद्धता जनाउने नाममा भारतको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नु सही हुँदैन । र, यसो गर्दा दार्जीलिङबासीलाई फाइदा पनि पुग्दैन । विगतमा भुटानको संसदमा कुनै नेपालीभाषी नेताले जित हात पार्नासाथ नेपालका पत्रिकामामा समाचार छापिने गथ्र्यो कि भुटानमा नेपालीले जिते । यस्तो समाचारले त्यहाँका नेपाली जातिलाई कुनै सहयोग गरेन, बरु उल्टो पीडा नै दियो । अहिले दार्जीलिङको दुःख पनि यही हो ।
सोत्तरबाट उत्पादित कागज जापान निर्यातकेही वर्ष अघिसम्म गाई वस्तुलाई सोत्तर ओछ्याउने काममा मात्र प्रयोगमा आउने गरेको अर्गेलीबाट अहिले जापानीज गुणस्तरको कागज उत्पादन हुन थालेको छ । जंगलमै उ…Read More
‘मान्छेको मासु खाएरदक्षिण अफ्रिकामा मान्छेको मासु खाएर आफू थाकिसकेको बताउँदै एक नरभक्षीले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि नरभक्षीको आरोपमा ४ जनालाई अदालतमा उभ्याइएको छ।अदा…Read More