‘धूमकेतु जोनसन’ नामको धूमकेतु पृथ्वीसँग पहिलो र अन्तिमपटक सोमबार अहिलेसम्मकै नजिक आउने भएको छ, आजको गोरखापत्रमा खबर छ ।
यो धूमकेतु जेठ २२ गते सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । सोमबार पृथ्वीको सबैभन्दा नजिक आउने यो धूमेकतुले पृथ्वीसँगको पहिलो र अन्तिम साक्षात्कार गर्नेछ । क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डलको उत्पत्तिका अवशेष भएकाले यी पृथ्वीको नजिक आउँदा खगोलशास्त्रीका लागि पृथ्वीलगायत समग्र सौर्यमण्डलको थप अध्ययन अनुसन्धान गर्ने अवसर हुने नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।
“यो धूमकेतु हाइपरबोलिक भएको हुनाले फेरि पृथ्वी नजिक आउने छैन । पृथ्वीको सबैभन्दा नजिक रहँदा यो लगभग १२, १३, ३९, ७८६ किमि (०.८११ खगोलीय एकाइ)को दूरीमा रहनेछ,” अध्यक्ष भट्टराईले भने । उनले पृथ्वीदेखि सूर्यसम्मको दूरीलाई खगोलीय भाषामा १ खगोलीय एकाइ भनिने जानकारी पनि दिए ।