नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गरी नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले कान्तिपुरमा लेखेको खुल्ला पत्रमा ध्यान गयो । पत्र नेकपा एमाले र केपी ओलीप्रति ग्वयबल्स शैलीमा प्रेशित आरोपहरुको बकपत्र जस्तो लाग्यो । झुठ्ठा दलिलहरुको पुलिन्दा बुनेर शब्दजालको खेती गरी जनतामा भ्रम छर्नु एउटा आशावादी युवाको लागि सुहाउने सन्दर्भ थिएन । सत्य तथ्यलाई नकारेर झुटको खेती भएकोले त्यसको बारेमा केही भन्न अपरिहार्य लाग्यो । स्पष्ट पारौं, ओलीलाई देवत्वकरण गर्ने वा उहाँको तर्फबाट प्रष्टीकरण दिने मनसायले यो लिखत कोरेको होइन । एमाले कार्यकर्ता मात्र नभइ सचेत नागरिक जो कसैले एउटा जिउँदो इतिहासको अपब्याख्या र कत्लेआम हत्या टुलुटुलु हेर्न सक्दैन । त्यसैले आफ्नै मनको आवाज सम्पे्रषण गरेको छु ।
शुरु गरौं, स्थानीय निर्वाचनको सन्दर्भबाट । केपी ओली सरकारको कार्यसूचीमा स्थानीय निर्वाचन नरहेको र माके–नेका गठबन्धनको सरकार नबनेको भए चुनाब हुँदैनथ्यो भनेर दिउँसै अँध्यारो बनाउने प्रयत्न देख्दा ज्यादै टीठ लाग्यो । हजारौ तथ्यहरु भन्छन्– २०७४ माघ ८ सम्म तीन तहको निर्वाचन सम्पन्न गर्ने कार्यसूची बनाई संसद सचिवालयमा दर्ता गर्ने र प्रधानमन्त्री छोड्ने बेलाको संसदको अन्तिम सम्बोधनमा यी निर्वाचनको भविश्य के हुन्छ ? भनेर प्रश्न खडा गर्ने उनै केपी ओली हुन् । प्रमुख प्रतिपक्षी बेञ्चबाट निरन्तर स्थानीय निर्वाचनको आवाज उठाउने र जति सक्दो छिटो निर्वाचनको मिति घोषणा गराउन दबाब दिने पार्टी एमाले नै हो । बरु कहिले बेमौसमी संविधान संशोधनको प्रस्ताव ल्याएर त कहिले मधेश केन्द्रीत दलहरुलाई देखाएर अनेक वाहनामा निर्वाचन सार्ने सुनियोजित चालबाजी सरकारले रच्यो । छ महिना अगावै निर्वाचन गराउँदा एमालेले अझ राम्रो नतिजा ल्याउने देखेर सत्तापक्ष चुनावदेखि डरायो । एमालेकै भगिरथ प्रयत्नले गर्दा कुर्सीदौडमा लिप्त सत्ताधारीहरु निर्वाचनको दौडमा आउन बाध्य भएका हुन् ।
दोस्रो सन्दर्भ, ‘राष्ट्रिय एकता र सद्भावको बाधक’ ‘साम्प्रदायीक धु्रवीकरणको प्रतिक’ भनेर ओलीलाई लगाउन खोजिएको आक्षेप वास्तविक नेपाली मनको आवाज होइन । देशको भलो चिताउनेले यस्तो आक्षेप लगाउन सक्दैन । चौतर्फी आक्रमण भएर देशको स्वाभिमान लुलो भएको र नाकाबन्दीले देश थिलिएको बेला देशभक्तिको चिराग थाम्ने अभियन्ता आम जनताले ओलीलाई मान्यो । देशको आत्मविश्वास फर्काउने आशा, भरोसा र विश्वासको अगुवा उनैलाई ठान्यो । ‘एक मधेश एक प्रदेश’ बनाएको भए के मधेशमाथि न्याय हुन्थ्यो ? यो अडान लिएर एमालेले के गलत ग¥यो ? काठमाडौंसंग तराई जोड्ने फास्ट ट्रयाक आफै बनाउने कदमले के मधेश र पहाडको विचको सम्बन्ध चिसियो ? मधेशमा अत्यधिक बजेट छुट्याएर ओली सरकारले के कमजोरी ग¥यो ? यीनै अविचलित अडान र दुरदर्शी दृष्टिकोणले नै राष्ट्रिय एकतालाई सुदृढ बनाएकोछ । यसबाट कहाँ साम्प्रदायीक धु्रवीकरण बढ्यो ? सामाजिक सद्भावमा आँच पुग्यो ? मधेशलाई सधै आफ्नो विर्ता ठान्ने तर मधेशी जनतालाई कहिल्यै न्याय नदिने निश्चित तप्काबाहेक हिमाली, पहाडी र मधेशी कसले यस कार्यलाई गलत भन्यो ? मेची महाकाली अभियानबाट तराईमा आफैं परिक्षित हुन चाहेको एमालेलाई अलोकतान्त्रीक तरिका अपनाएर किन रोकियो ? यसको बढ्दो प्रभावबाट अत्तालिएर होइन र ? एमालेलाई दोषीकरार गरि सृजित तरलता र भड्किदो मनेविज्ञानको जगमा मधेशमा शक्ति आर्जन गर्न सकिन्छ कि भन्ने कुत्सीत मनसाय यसमा प्रस्टै देखिन्छ । यसर्थ यस्तो आक्षेप एमालेको लोकप्रियताबाट त्रसिद मानसिकताको उपज बाहेक अरु होइन ।
तेस्रो सन्दर्भ, २०६२/६३ को आन्दोलन र गणतन्त्र स्थापनामा सहयोगिको भनी हाँस्यास्पद तर्क गरिएको छ, यस्तो पुङवाङ्गे कुराको धेरै खण्डन जरुरी नै छैन । जसले जन्मेदेखि गणतन्त्रको लागि लड्यो, बर्षौ जेल जिवन वितायो, उसैलाई खुट्टो कमाएर लतालिएर गणतन्त्रमा आएकाहरुले सहयोगी देख्नु इन्द्रको अगाडि स्वर्गको बखान भएन र ? तोते बोलीको कान्छो नातिले परिवारको तीनपुस्तेबारे हजुरबुवालाई बताउनु र काँग्रेसले गणतन्त्रको ब्याख्या गर्नु उस्तै उस्तै हो । जन्मजात गणतन्त्रवादी कम्युनिष्टहरुलाई कांग्रेसले गणतन्त्र स्थापनामा आफ्ना सहयोगी भन्नु हुटिट्याउँले आकाश थामेको ठान्नु जस्तै हो । हामीलाई याद छ, २०६२ को आन्दोलनमा ‘हामीले गणतन्त्र जिन्दावाद, राजतन्त्र मूर्दावाद भनी नारा लगाउँदा प्रदीप पौडेलजस्तै कांग्रेसका केही नेताहरुले हाम्रो मुख थुन्न आएको । तीनै मित्रहरुको यस्तो कुतर्क सुन्दा लाग्छ, ब्यंग आफैलाई गरिरहेका छन् कि अरुलाई ?
केबल चुनाव जित्न यसपटक विचित्रको तालमेल भयो । आफूलाई पहिलो ठान्ने काँग्रेसले दोस्रो स्थानको एमालेलाई एक्ल्याउन वा हराउन तेस्रो नम्बरको एमाओवादीसंग स्थानीय तहदेखि सरकारसम्मै तालमेल गरेको छ । उक्त तालमेलको परिणाम पोखरा र भरतपुरसहित देशैभरको नतिजाले बताएको छ । स्थानिय तहमा जनताले तालमेलको नीति र नेताको फर्मान भन्दापनि आफ्नै मनको आदेशलाई रोजेका छन् । विजातीयहरुबीचको तालमेललाई पूर्णतः अस्विकार गरेका छन् । बरु नयाँ तरिका र पात्रलाई रुचाएका छन् । विबेकशिल र साझा पार्टीप्रति उपत्यकामा देखिएको आकर्षण सबैका लागि चुनौती हो । अरु दल चुनाव लडे त्यसकारण हारियो भन्नु र अरु नलडेको भए एक्लै जितिने थियो भन्नुमा कुनै भिन्नता छैन । परिणमलाई यसरी पो हेर्ने कि प्रदीपजी ?
प्रदीपजी, तपाईँले ओली र एमालेको भन्दा आफ्नै पार्टीको गम्भीर समिक्षा गर्नुभएको छ ? हो, हिजो कांग्रेससँग वीपी र गणेशमान जस्ता जनताले पत्याएका नेता थिए, आज छैनन् । के आजको काँग्रेस वीपी, गणेशमानको समयको जस्तै छ ? प्रधानन्यायाधिशविरुद्धको प्रतिशोधमुखी महाअभियोग, आइजिपी र राजदुत नियुक्ति प्रकरण र भरतपुरमा लोकतन्त्र अपहरणमा काँग्रेस मतियार बन्न के विपी र गणेशमानको विचारधाराले छुट दिन्छ ? लोकतान्त्रिक मूल्य, कानुनी र विधिको शासन तथा राजनीतिक चरित्रलाई धुन्नकारी शेरबहादुरपथले सयौं कोष पर धकेलिसकेको छ । परिणामतः कांग्रेस कहिले अरुको गोटी, कहिले लम्पसारवादको भरिया, कहिले भ्रष्टाचारीलाई १०० किलोको मालाले स्वागत गर्ने उनीहरुको संरक्षक त कहिले अराजकताको पक्षपोषक बनेर प्रस्तुत भएको छ । प्रदीपजी, सक्नुहुन्छ भने यस्तो चौबाटोमा रुमलिएको अस्तव्यस्त काँग्रेसलाई सहि बाटोमा हिडाउनुहोस् । त्यसैमा कांग्रेसीजनको भलाइ छ ।
हो, प्रदिपजीको एउटा कुरामा म सहमत छु, २०५१ को निर्वाचनबाहेक अरु निर्वाचनमा एमालेले नेपाली कांग्रेसलाई जित्न सकेको छैन । अबश्य नै, नेपाली जनताले काँग्रेसलाई पटक पटक बहुमत दिएका छन्, ठुलो पार्टी बनाएका छन् । त्यसको परिणाम उसले जनतालाई के दियो ? महंगी, असुरक्षा, गरिबी, विपन्नता, द्धन्द्ध, युद्ध, बेरोजगार, अस्थिर सरकार यही होइन । जनताले कांगे्रसलाई दिएको बहुमत जहिले सुकै बाँदरको हातमा नरिवल भयो । उसले कहिल्यै थेग्न सकेन । पाँच बर्षका लागि सरकार चलाउन २०४८ मा जनताले दिएको म्यान्डेटलाई लत्याउदै तीन बर्षमै मध्यावधि निर्वाचन गराउने नेपाली कांग्रेस नै होइन ? बहुदलीय ब्यवस्था प्राप्तीपछि आफूसँग स्पष्ट बहुमत भएर पनि सरकार अस्थिर बनाउने मूल सूत्रधार स्वयम् काँग्रेस नै होइन ? यसर्थ, छ र नौ महिनामा सरकार बनाउने र गिराउने कुर्चिदौडको जननी कांग्रेस नै हो । जसको शिकार देश आजसम्म भइरहेको छ । यस्तो कांग्रेसलाई अब जनताले किन मत, बहुमत दिने ? भनेर के ओलीले प्रश्न गर्नु गलत हो ? यसको समिक्षा गर्नुभएको छ, प्रदिपजी ?
दुनियाँलाई थाहा छ, उखान टुक्काले देश चल्दैन । एमालेले जिम्मा पाएको समयमा देश उत्कृष्ट तरिकाले चलाएको छ । मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि केपी ओलि नेतृत्वको सरकारसम्म आइपुग्दा एमालेको नेतृत्वमा बनेका चारबटा सरकारले अरु सरकारलाई विर्साउने गरी जनपक्षिय काम गरेका छन् । ती सरकारले गरेका काम जनतालाई फेहरिस्त थाहा छ । पछिल्लो समय देशमा निराशाको बादल मडारिएको समयमा ओली सरकारले नयाँ पुस्तमामा अनौठो आशा जगाएको छ । बर्षौँदेखिका जनताका मूर्छित सपनाहरुलाई सतहमा ल्याएको छ । हामीले गर्न सक्छौं, सम्भावनाका क्षेत्रहरु धेरै छन् भन्ने थुप्रै तथ्यहरु उजागर गरेको छ । ती योजना सुनाउँदा हावादारी गफ भन्दै कागजको रेल बनाएर ओली एक्सप्रेस कुदाउनेहरु घोषणापत्रको पहिलो पानामा रेल र सुरुङ्ग मार्गको चित्र छाप्दैछन्, बजेट छुट्याउँदै छन् । यस्तो युग सापेक्ष दृष्टिकोण र समृद्धिको कार्यक्रम के एमाले बाहेक अरुसँग छ ? यसमा आरिसले जली आलोचना गर्नुको केही तुक रहन्छ र, मान्यवर ?
प्रदीपजी, तपाईलाई यो तथ्य स्वकार्न गाह्रो पर्न सक्छ, केपी ओलीले भाषण मात्र दिएका छैनन् अवको पुस्तालाई नयाँ दृष्टि दिएका छन् । देशलाई समृद्ध बनाउने रोडम्याप हस्तान्तरण गरेका छन् । बोलेका मात्र छैनन् दुरगामी प्रभाव पर्ने र जनताको मनमा कहिल्यै नमेटिने काम गरेका छन् । चुँडिनै लागेका देशका धेरै नशाहरु जोडेका छन् । त्यसैले केपी ओलीको चिन्ता गर्ने प्रदीपजीलाई बहसका लागि मेरो खुल्ला चुनौती छ ।
सोचौँ त, मनमोहन अधिकारीले शुरु गरेको बृद्ध भत्ता र नौ ‘स’ को कार्यक्रम गिरिजाप्रसाद कोइरालाले किन देखेनन् ? एमालेले गाउँ गाउँमा बजेट पठाउँदा काँग्रसले किन कनिका छरेको आरोप लगायो ? माओवादी समस्याको समाधान बार्ताबाटै खोजौ भनेर माधव नेपालले बारम्बार आग्रह गर्दा शेरबहादुर देउवा किन पहिल्यै मानेनन् ? शान्ति सम्झौतामा हस्ताक्षर गरेर जस लिने गिरिजाप्रसादले कम्युनिस्टलाई सिध्याउन २०५२ पहिले नै किन ‘किलो शेरा टू अप्रेशन’ शुरु गरे ? देशले १० बर्षे युद्धको बोझ बोकेपछि आज आएर एमाओवादी संग तालमेल गरी चुनाव लड्ने शेरबहादुरले २०५२ सालमै किन उनीहरुलाई युद्ध शुरु गर्नबाट रोक्न सकेनन् ? एक मधेश एक प्रदेश स्वयं मधेशको हित विपरित छ भनी झलनाथ खनालले जस्तै स्पष्टसँग कांग्रेसका नेताहरुले किन भन्न सकेनन् ? संविधान घोषणको समयमा ओलीले लिएकै जस्तो अडान भारतिय दुतको सामु सुशील कोइरालाले किन लिन सकेनन् ? किन लर्बराए र उनै ओलीलाई देखाए ? चीनसँग पारवहन सन्धि गर्ने ओलीको जस्तो साहस सुशीलले किन देखाउन सकेनन् ? नाकाबन्दीले देश छटपटाइरहँदा कांग्रेसका नेताहरुले किन नाकाबन्दी भयो भनि किटेर भन्न सकेनन् ? धेरै पटक सरकार चलाएका गिरिजाप्रसाद र शेरबहादुरले ओलीले देखेको समृद्धिको सपना किन देख्न सकेनन् ? प्रदिपजी, तपाईँका नेताहरुलाई यी प्रश्न सोध्नुभएको छ ?
प्रदीपजी, तपाईलाई यो तथ्य स्वकार्न गाह्रो पर्न सक्छ, केपी ओलीले भाषण मात्र दिएका छैनन् अवको पुस्तालाई नयाँ दृष्टि दिएका छन् । देशलाई समृद्ध बनाउने रोडम्याप हस्तान्तरण गरेका छन् । बोलेका मात्र छैनन् दुरगामी प्रभाव पर्ने र जनताको मनमा कहिल्यै नमेटिने काम गरेका छन् । चुँडिनै लागेका देशका धेरै नशाहरु जोडेका छन् । विपी र गणेशमान आज जिवित हुन्थे भने उनीहरु पनि खुसी हुने काम गरेका छन् । हो अवश्य नै, एमाले र केपी ओलीका केही कमजोरी छन् तर ती कमजोरी देश डुवाउने र लोकतन्त्र धरापमा पार्ने खालका छैनन । किनकी, एमालेसँग मदन भण्डारीको जबज छ, सिङ्गो देशलाई नेतृत्व गरिरहेको मौलिक सिद्धान्त छ, जनताको अपार शक्ति छ । त्यसैले केपी ओलीको चिन्ता गर्ने प्रदीपजीलाई बहसका लागि मेरो खुल्ला चुनौती छ ।