वैशाख २, २०७४- ‘बहिनीको विवाहका लागि म विदेशबाट आएको थिएँ, सबै कुरा छिनिइसकेको थियो । तर आगलागीले घर खरानी बनाइदियो,’ अलिम मियाँले गहभरि आँसु पार्दै भने, ‘दुई सातापछि बहिनी संजिदाको भारत अररिया निवासी युसुफसँग विवाह हुने निश्चित भइसकेको थियो ।’ उनका बाबु अस्रफुल हक पनि वैदेशिक रोजगारीमा कतारमा छन् । घरमा रहेको २ लाख ५० हजार रुपैयाँसँगै सबै जलेर खरानी भयो ।
अब दुई सातापछि कसरी बहिनीको विवाह गर्ने भन्ने चिन्तामा छन् अलिम । उनी मात्र होइन, अहिले कोसी गाउँपालिका ५ कुम्याही टोलका ४५ परिवार रेडक्रसले दिएको त्रिपालमुनि बासबिट्टीमा रात गुजारिरहेका छन् । बिहीबार आगलागीमा हुँदा ४५ परिवारका १ सय ३१ घर/टहरा सखाप भएका थिए । त्यस्तै बसिर मियाँले जमिन खरिद गर्न दुई लाख नेपाली र १० हजार भारतीय रुपैयाँ घरमा राखेका थिए । आगलागीले न उनको घर बच्यो, न नगदै । मिस्त्री काम गर्ने कालिम मियाँ ४० मन धान, दुई लाख नगद र पासपोर्टसमेत जलेको बताउँछन् । उनी भन्छन्, ‘इटहरीमा काम गरिरहेको थिएँ, आगलागी भएको खबर पाएर हतार–हतार आउँदा घर खरानी भइसकेको रहेछ ।’
विदेश जान ठिक्क पारेको पासपोर्ट र ४० हजार नगद घरसँगै जलेपछि अहिले नाजमुल हक पनि चिन्तामा छन् । कुम्याही टोलमा नर्सरीदेखि कक्षा ४ सम्म पढाइ हुने मखतब इस्लामिया मदरसा पनि जलेर खरानी भएको छ । स्थानीय समाजसेवी अब्दुल बासे भन्छन्, ‘एकैछिनमा बस्ती खरानी भयो ।’ मध्याह्न मनरु मियाँको घरमा खाना पकाउन लाग्दा आगो सल्किएको थियो । झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । नेपाल रेडक्रस इनरुवा, उद्योग वाणिज्य संघ इनरुवा, कोसी गाउँपालिकाका साथै विभिन्न संघसंस्था तथा व्यक्तिहरूले अग्निपीडितलाई सहयोग गरिरहेका छन् ।
सुनसरीको कोसी गाउँपालिका ५ श्रीपुरको कुम्याही टोलमा बिहीबार आगलागी हुँदा उजाड बनेको बस्ती ।
कमल थापासहित चार मन्त्रीले लिए शपथ आश्विन २८, २०७४-उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका चार मन्त्रीले शपथ लिएका छन् । शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा थापासहित …Read More