अनिता लामा सधैं पहिलो

भिडियो सहित हेर्नुहोस !
Advertisement


बौद्धस्थित जेनेसिस एकेडेमीबाट गत साल ए प्लस (जीपीए ३.६५) ल्याएर एसएलसी पास गरेकी अनिता लामा जीवनमा कहिल्यै दोस्रो भएकी छैनन् । स्कुलमा सधैं प्रथम स्थान हासिल गरेकी अनिताले १७ वर्षको उमेरमै ‘मिस मंगोल नेपाल २०१७' को उपाधि चुमेर पहिलो हुने इतिहासलाई कायम राख्न सफल भएकी छन् । सानोमा उनी थोरै बोल्ने, स्कुलमा पनि कुनामा बस्ने, साथीहरूसँग घुलमिल हुन नसक्ने स्वभावकी थिइन् ।

स्कुल र गुरुको प्रयासबाट विस्तारै उनले यो बानी सुधारिन् । उनमा विस्तारै नेतृत्व क्षमता विकास भयो । हाउस क्याप्टन हुँदै स्कुल क्याप्टेनसमेत बनिन् । ‘यदि म जेनेसिस एकेडेमीमा नभएको भए यो स्थितिमा आउन सक्ने थिइनँ होला', सिन्धुपाल्चोकको हगाममा जन्मेकी १७ वर्षीया अनिता भन्छिन् । विज्ञान विषय लिएर डिल्लीबजारस्थित द टाइम्स इन्टरनेसनल कलेजमा अध्ययनरत अनितासँग यिनै विषयमा गरिएको कुराकानी :
उमेरमा सबैभन्दा कान्छी तर प्रतियोगितामा सबैलाई उछिन्नुभयो कस्तो लागिरहेको छ ?
खुसी छु । मैले जितकै अपेक्षा त गरेको थिइनँ तर मेहनत सार्थक भयो । मेरो लागि यो उत्साहको क्षण हो ।

आफ्नो कुन पक्षका कारण उपाधि जितेजस्तो लाग्छ ?
मेहनत नै हो । अभिभावकको साथले पनि मलाई प्रेरित गरेको थियो । कक्षा ११ को परीक्षाको तयारीसँगै प्रतिस्पर्धामा उत्रिएकी थिएँ । मैले यति धेरै मेहनत गरेँ कि त्यो मलाईमात्र थाहा छ ।

प्रशिक्षणका क्रममा कोसँग बढी डर लागेको थियो ?
सबै प्रतियोगी क्षमतावान नै हुनुहुन्थ्यो तापनि मलाई सोफिया महर्जन, खुसी मगर, निशा लिम्बूसँग डर लागेको थियो ।

ताज जितेपछि सहभागी साथीहरूको प्रतिक्रिया ?
सबैले बधाई दिनुभयो । हाम्रो ग्रुप च्याट हुन्छ । सबैले तिमीले जित्छौ जस्तो लागेको थियो खुसी लाग्यो भन्नुभयो ।

घर परिवारको भनाइ ?
स्याबासी दिनुभएको छ । हाम्रो परिवारबाट यसअघि यो क्षेत्रमा कोही नभएकाले सुरुमा के होला, कस्तो होला अलि चिन्तित हुनुहुन्थ्यो तर कार्यक्रम हेरेपछि त्यसमा पनि मैले जितेपछि सबै उत्साहित हुनु भएको छ ।

प्रतियोगितामा भाग लिने सोच कसरी आयो ?
स्कुलमा हुँदा स्कुलका विद्यार्थीबीच आयोजना गरिएएको मिस जेनेसिस २०१३ जितेको थिएँ । त्यसपछि कुनै ठूलो प्लेटफर्ममा भाग लिन मन लागेको थियो । मिस मंगोलमा जान स्कुलले नै प्रेरित गरेपछि मैले यो मौका पाएँ । यो जीतको श्रेय स्कुललाई पनि जान्छ ।

यदि उपाधि नजितेको भए ?
प्रतियोगिताको अन्तिम दिनसम्म आइपुग्दा आत्मविश्वास, व्यक्तित्व विकासदेखि जनमानसलाई फेस गर्ने धेरै कुरामा परिवर्तन आएकाले मलाई जितेजस्तै लागिसकेको थियो । ताज नजिते पनि त्यो परिवर्तन र अनुभूति मेरो लागि ठूलो कुरा हुन्थ्यो ।
प्रतियोगितामा सहभागी हुँदाको कुनै स्मरणीय पक्ष ?
प्रशिक्षणका हरेक क्षण रमाइला थिए । तर फुटसल र बास्केटबल खेल्दा प्रतियोगीमा देखिएको बिन्दासपन, गेमपछि पानी पुरी खाँदै फर्कंदाको क्षण सम्झना आइरहन्छ ।

फस्ट र सेकेन्ड रनरअप विजेता दुवैजना उमेर र अध्ययनमा तपाईंभन्दा सिनियर हुनुहुन्छ सम्हाल्न गाह्रो होलाजस्तो लाग्दैन ?
खुसी र श्वेता दिदी दुवैजनासँग मेरो राम्रो सम्बन्ध छ । उमेरभन्दा पनि भावना र आत्मीयताको कुरा हो । हामी एकसाथ मिलेर अघि बढ्छौं ।
मिस मंगोलका रूपमा एक वर्षको योजना ?
यसबारेमा धेरै सोच्न पाएको छैन । म सिन्धुपाल्चोकमा जन्मेकी हुँ । हाम्रो गाउँमा महिला सशक्तीकरण र जनचेतनाका लागि केही गर्ने सोच छ । अध्ययनलाई पनि सँगै लैजानु छ ।

Related Posts: