तातोपानी नाका छिट्टै सञ्चालनमा

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैशाख ०७२ को भूकम्पले क्षति पुर्याएपछि बन्द भएको तातोपानी नाका छिट्टै सञ्चालनमा आउने भएको छ । दुवै देशको सहमतिअनुसार अहिले नाका पुनःसञ्चालनका लागि धमाधम पूर्वाधार निर्माण भइरहेको वाणिज्यमन्त्री रोमी गौचन थकालीले बताए । नाका पुनः सञ्चालनका लागि दुवै देश सहमत भइसकेको र त्यहाँ पूर्वाधारसमेत निर्माण भइरहेको छ,’ उनले भने, ‘ठ्याक्कै कति समयमा खुल्छ भन्ने यकिन छैन, तर पूर्वाधार निर्माण सम्पन्न भएलगत्तै नाका सञ्चालनमा आउनेछ ।’

दुई वर्षदेखि बन्द अवस्थामा रहेको तातोपानी नाका पुनः सञ्चालनका लागि चीन तयार रहेको भन्दै उनले अहिले दुवै मुलुकले पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए । ‘तातोपानी नाकाको सुक्खा बन्दरगाहलाई सुरक्षित बनाउने गरी रेस्क्यु पूर्वाधार निर्माण भइरहेको छ,’ उनले भने, ‘सडक मर्मत, सुक्खा बन्दरगाहको रेस्क्यु पूर्वाधार निर्माण सकिएलगत्तै नाका पुनः सञ्चालनमा आउनेछ ।’

नेपाल–चीनबीचको व्यापारलाई बढोत्तरी तथा सहजीकरण गर्न दुवै मुलुकले नाकामा पूर्वाधार निर्माणलाई तीव्रता दिएका छन् । खासगरी सञ्चालनमा रहेको एक मात्र नाका केरुङ–रसुवागढी, भूकम्पपछि बन्द भएको तातोपानी र जोमसोम–कोरला नाकामा पूर्वाधार निर्माणले गति लिएको हो ।

केरुङको स्तरोन्नति
केरुङ नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी पूर्वाधार बनिरहेको उनले बताए । ‘केरुङमा चीनतर्फ पूर्वाधार बनिसकेको छ भने नेपालतर्फ पनि पूर्वाधार निर्माणको प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘केरुङमा सुक्खा बन्दरगाह बनाउन जग्गा अधिग्रहण सम्पन्न भइसकेर अहिले डिटियल डिजाइनको काम भइरहेको छ ।’ त्यस्तै, गल्छीदेखि रसुवागढीसम्मको सडक विस्तारको कामसमेत अघि बढिरहेको उनले बताए ।

आठ अर्ब लागतमा कोरला नाकामा सडक
जोमसोम–कोरला नाका सञ्चालनका लागि नेपालले पूर्वाधार निर्माण गरिरहेको मन्त्री थकालीले जानकारी दिए । म्याग्दीदेखि जोमसोमसम्मको सडक कालोपत्रे गर्ने तथा जोमसोमदेखि कोरलासम्म ग्राभेल गर्ने काम भइरहेको छ,’ उनले भने, ‘करिब ८ अर्ब रुपैयाँ लागतको सडक निर्माण कार्य ३ वर्षभित्र सम्पन्न भइसक्नेछ ।’ त्यस्तै, कोरला नाकामा अन्य पूर्वाधार निर्माणका लागि आवश्यक अध्ययन गर्न अहिले मन्त्रालयको एक टोली त्यहाँ गएको उनले जानकारी दिए ।

रोमी गौचन थकाली, वाणिज्यमन्त्री
व्यापार पूर्वाधारलाई जोड दिएँ
मैले वाणिज्य मन्त्रालय सम्हालेदेखि नै व्यापार पूर्वाधार निर्माणलाई जोड दिएको हो । मेरो करिब १० महिनाको कार्यकालमा चीन र भारतसँगको नाकामा पूर्वाधार निर्माणका कार्य अघि बढाएँ ।

क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कनेक्टिभिटीलाई प्राथमिकतामा राखेँ । यो अवधिमा निर्यात केही बढेको छ । व्यापार घाटा भने अझै उस्तै छ । नेपालको व्यापार घाटा डरलाग्दो छ ।
वाणिज्यले मात्रै केही गर्न सक्दैन । सबै मन्त्रालय र निकायले उचित समन्वय गरेर व्यापार घाटा न्यूनीकरणका रणनीति बनाउनुपर्छ ।



Related Posts: