भरतपुरमा च्यातिएका मतको संख्या ९०, केही गन्न मिल्ने, केही नमिल्ने अवस्थामा

भिडियो सहित हेर्नुहोस !
Advertisement


निर्वाचन आयोगको निर्देशनपछि च्यातिएका मतपतको संख्या यकिन गर्ने क्रममा ९० वटा मतहरु भेटिएको छ । दलका प्रतिनिध, उम्मेदवार र प्रहरीको रोहबरमा च्यातिएका मतपत्र गणना गर्दा ९० वटा फेला परेका हुन । मतगणनाको अन्तिम समयमा माओवादी पक्षकी उम्मेदवार रेणु दाहालले हार्ने करिव निश्चित भएपछि उक्त दलबाट प्रतिनिधि बसेकाहरुले यही गएको जेठ १४ गते राति मतपत्र च्यातेका थिए ।

एमालेसहित अन्य पक्षको दबाबपछि आयोगले च्यातिएका मतहरुको यकिन गरी पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

च्यातिएका मतहरु भरतपुर महानगरको १९ नम्बर वडाका हुन । उक्त वडामा कूल दुई हजार ८९७ मत खसेकोमा एक हजार ८०९ मत गनिसकिएपछि माओवादीका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

गन्न बाँकीमध्ये ९९८ मत सही अवस्थामा रहेको र ९० मत च्यातिएको अवस्थामा भेटिएका हुन । च्यातिएकामध्ये केही धुजाधुजा भए पनि केही भने गन्न मिल्ने अवस्थामा छन् ।

यसअघि च्यातिएका मतको संख्या २० देखि ३० को संख्यामा रहेको अनुमान गरिए पनि आज दलका प्रतिनिधि, उम्मेदवार, प्रहरीको रोहबरमा गन्दा ९० वटा भेटिएको हो ।

Related Posts: