सीमापारिका मतदाता निर्णायक !

भिडियो सहित हेर्नुहोस !
Advertisement


सुनसरीको दक्षिण पश्चिमी कोसी गाउँपालिका, जहाँ निर्णायक मत सीमापारि अर्थात् भारतमा छन् । स्थानीयवासीका अनुसार जुन पार्टीले ती मतदातालाई वारि ल्याई खानपान गराउन सक्छ, त्यही पार्टी विजयी हुनेछ । प्रमुख दलका उम्मेदवारहरू जति घरदैलोमा व्यस्त छन्, त्यति नै पारिका मतदातालाई कहिले ल्याएर कहाँ र कस्तो ‘मेजमान’ का साथ राख्न सकिन्छ भन्ने कसरतमा पनि छन् ।

कोसी गाउँपालिकामा २२ हजार ४ सय ३० मतदाता छन्, तीमध्ये पारि अर्थात् भारतमा झन्डै ३ हजार छन् । उनीहरू धेरैजसोको स्थायी बसोबास भारत नै हो, यहाँ उनीहरूका नातेदार मात्र छन् । भारतमा रहेका थोरै मतदाताको मात्र नेपालमा घरबास या जग्गा छ । तिनको दुवैतिर नागरिकता र मतदाता सूचीमा नाम छ ।

‘यता आएर भोट नहाले मतदाता सूचीबाट नाम काटिएला भनेर उनीहरू मत खसाल्न आउँछन्,’ कांग्रेसका गाउँपालिकाका अध्यक्ष उम्मेदवार अयुव अन्सारीले भने । उनले आफ्नो गाउँपालिकाका २ देखि ३ हजार मतदाता पारि रहेको बताए । ‘पारिका मतदाता प्राय: न्युट्रल छन्, जसले वारि ल्यायो, उनीहरूको मत उसैलाई जाने हो,’ उनले भने । भारतबाट भन्दा नेपालबाट खाडीलगायतका मुलुकमा रोजगारीमा जान सजिलो भएकाले भारतीयले यहाँको नागरिकता लिएको र मतदाता सूचीमा समेत नाम समावेश गराएको एमालेका अध्यक्षका उम्मेदवार अजय कुसियैतले बताए । ‘जसले पैसा खर्च गरेर पारिका मतदाता ल्याउन सक्छ, उनीहरूको भोट त्यसैलाई जाने हो, पारिको मत निर्णायक हुने सम्भावना छ,’ उनले भने । उम्मेदवार र तिनका आफन्तले ‘७२ घण्टे’ चुनावी सीमा नाकाबन्दीअघि नै पारिका मतदातालाई गाडीबाट ल्याएर राख्ने र मतदानपछि फर्काउने जानकारी स्थानीयवासीले दिए ।

यसअघिका सबैजसो संसदीय चुनावमा समेत पारिका मतदाता सीमावारि आएर मत खसाल्ने गरेको स्थानीयवासीको भनाइ छ । २०६३ सालमा स्थानीय तीन जनाको सिफारिसमा सरकारी टोलीले नागरिकता वितरण गरेपछि यस्ता मतदाता बढेको विश्लेषणसमेत स्थानीयवासीको छ । कोसी गाउँपालिकाका ८ वटामध्ये १, ५, ६, ७ र ८ नं. वडा भारतसित जोडिएका छन् । ती वडामा भारतीय बस्तीका मानिस मतदाता छन् ।

नेपाल–भारत सीमा दशगजा क्षेत्रमा जुलुससहित प्रचार अभियानका क्रममा भेटिएका संघीय समाजवादी फोरमका गाउँपालिका अध्यक्षका उम्मेदवार जितेन्द्र खेरवारले भने, ‘पारिका मतदाता सानो संख्यामा मात्रै हुन्, सीमा क्षेत्रमा कतिपय दाजुभाइमध्ये कसैको घर पारि हुन्छ, कसैको वारि हुन्छ, यस्तो ठाउँमा एकाध मतदाता दुवैतिर हुनु स्वाभाविक हो ।’

कोसीको कहर यहाँको मूल चुनावी मुद्दा बनेको छ । कोसीपीडितलाई तान्न कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक सबैका उम्मेदवारले उचित राहत र क्षतिपूर्ति दिलाउने आश्वासन बाँडिरहेका छन् । ०६५ भदौ २ मा कोसी तटबन्ध फुटेपछि गाउँपालिकाका ७ हजार ५ सय ६३ परिवारको उठिबास भएको थियो । सरकारले प्रतिपरिवार घर बनाउन ५० हजार, जग्गा विनाशको प्रकृतिअनुसार प्रतिबिघा ५० हजारदेखि साढे २ लाख रुपैयाँसम्म राहत दिएको थियो । उठिबास हुनेमा १७ सय सुकुम्बासी परिवारसमेत थिए ।

सरकारले सुकुम्बासी परिवारलाई २ कट्ठा जग्गा र ५० हजार रुपैयाँ घर बनाउन दिने घोषणा गरेको थियो । घोषणाअनुसार ८ सय २२ परिवारले २ कट्ठा जग्गा र ५० हजार रुपैयाँ पाए पनि अझै ९ सयले पाउन सकेका छैनन् । कोसीपीडितको राहत र पुन:स्थापनाका लागि आएको १७ करोड रुपैयाँ अझै खर्च हुन नसकेको कांग्रेस उम्मेदवार अन्सारीले बताए । ‘त्यो रकमबाट कोसीपीडितलाई मुआब्जा, घर बनाउन काठ र राहत उपलब्ध गराउनु नै मेरो मूल मुद्दा हो,’ उनले भने ।

कोसी गाउँपालिका कोसीटप्पु आरक्षसँग जोडिएको छ । कोसीटप्पुबाट आउने अर्ना र हात्तीले बर्सेनि घर आक्रमण र बाली विनाश गर्छन् । ‘बर्सेनि वन्यजन्तु आक्रमणबाट यहाँ १०/१२ जनाको मृत्यु हुने गरेको छ,’ एमालेका उम्मेदवार कुसियैतले भने, ‘वन्यजन्तु आक्रमणबाट यहाँका बासिन्दालाई सुरक्षित गर्न आरक्ष वरिपरि बलियो बार लगाउने मेरो मूल मुद्दा हो ।’ कुसियैत मात्र होइन, यहाँका सबै उम्मेदवारले आरक्ष वरिपरि हालको जस्तो कमजोर होइन, बलियो तारबार लगाउने विषयलाई चुनावी एजेन्डा बनाइरहेका छन् ।

पूर्वपश्चिम राजमार्गमा पर्ने भए पनि यो गाउँपालिकामा भित्री सडक सबैजसो कच्ची छन् । कतिपय भित्री कच्ची सडकमा एम्बुलेन्स र दमकल जान सक्तैनन् । यो गाउँपालिकामा एउटा पनि क्याम्पस र राम्रो अस्पताल छैनन् । बाटोघाटोको स्तरोन्नति, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार, अस्पताल खोल्ने मुद्दालाई सबैजसो उम्मेदवारले चुनावी मुद्दा बनाइरहेका छन् । यहाँ प्रशस्त खेतीयोग्य जमिन छ, तर सिँचाइ सुविधा छैन । यहाँका सबैजसो उम्मेदवार कोसी ब्यारेजको सिपेज (चुहिएको पानी) लाई नहर बनाएर लग्ने हो भने यहाँको जमिनमा सहजै सिँचाइ सुविधा पुर्‍याउन सकिने बताउँछन् ।

‘ब्यारेजको सिपेज भएको पानी नै प्रशस्त छ, त्यसैलाई नहर बनाएर यहाँको जमिनमा सिँचाइ सुविधा पुर्‍याउने हो भने यहाँ व्यावसायिक खेती गर्न सकिन्छ,’ संघीय समाजवादी फोरमका उम्मेदवार खेरवारले भने ।

यहाँ अध्यक्षमा १३ र उपाध्यक्षमा ९ उम्मेदवार छन् । कांग्रेसबाट अन्सारी, एमालेबाट खुसियत, माओवादी केन्द्रबाट पञ्चनारायण मण्डल, संघीय समाजवादी फोरमबाट खेरवार, फोरम लोकतान्त्रिकबाट षडानन्द मण्डल र राप्रपाका सीतादेवी सुतिहार मेयरमा उम्मेदवार छन् । कांग्रेसका अन्सारी, संघीय समाजवादी फोरमका खेरवार, एमालेका खुसियत र फोरमकै विद्रोही उम्मेदवार देवकृष्ण यादवबीच प्रमुख प्रतिस्पर्धा हुने अनुमान स्थानीयवासीको छ । यो गाउँपालिका फोरम अध्यक्ष उपेन्द्र यादवले जितेको सुनसरी निर्वाचन क्षेत्र नं. ५ मा पर्छ । यहाँ फोरमको बलियो प्रभाव छ । तर फोरमका स्थानीयस्तरमा प्रभावशाली देवकृष्ण यादव विद्रोही उठेकाले आधिकारिक उम्मेदवार खेरवारलाई कडा मिहिनेत गरिरहनुपरेको छ । कांग्रेसको अध्यक्षमा र एमालेमा वडास्तरमा विद्रोही उम्मेदवार छन्, तर तिनको यहाँ खासै प्रभाव देखिएको छैन ।

यहाँ कांग्रेस, एमाले र फोरम तीनवटैले जित्ने दाबी गरेका छन् । कांग्रेसका अन्सारीले आफ्नो प्रतिस्पर्धा फोरमका विद्रोही उम्मेदवार यादवसित हुने दाबी गरे । एमालेका कुसियैत र फोरमका खेरवारले भने आफ्नो प्रतिस्पर्धा कांग्रेसका अन्सारीसित हुने दाबी गरे । यहाँ सबभन्दा बढी मत यादवको छ ।

त्यसपछि मुस्लिम र दलित धेरै मतदाता छन् । यादवबाट एमालेका कुसियैत र फोरमका खेरवार, फोरमकै विद्रोही देवेन्द्र यादव उम्मेदवार छन् । कांग्रेसका अन्सारी मुस्लिमबाट एक्ला उम्मेदवार हुन् । यहाँ दलित मत निर्णायक छ, त्यसलाई तान्न कांग्रेसका अन्सारीले सबै दलित घरमा सोलार बत्ती जडान गरिदिने नारा अघि सारेका छन् भने एमालेका खुसियतले सबै दलितलाई शिक्षामा प्रोत्साहित गर्ने कार्यक्रम ल्याउने र फोरमका खेरवारले नागरिकताविहीन दलितलाई नागरिकता दिलाउने नारा दिइरहेका छन् ।

कांग्रेसका अन्सारीले आफू जनताकै दबाबमा उम्मेदवार भएको र यहाँ पार्टीको मजबुत सांगठनिक आधार भएकाले आफूले जित्ने दाबी गरे । एमालेका उम्मेदवार कुसियैतले यहाँबाट दुई/दुईपटक संसदीय चुनाव जितेका फोरमका उपेन्द्र यादवले केही पनि काम गर्न नसकेकाले जनताले परिवर्तन खोजेको र यहाँ आफ्नो पार्टीको सांगठनिक आधार बलियो भएकाले आफूले जित्ने दाबी गरे । फोरमका खेरवारसमेत आफ्नो स्वच्छ छवि, समाजसेवी पृष्ठभूमि र आफ्नो पार्टीको बलियो आधार इलाका भएकाले आफूले जित्ने दाबी गरे ।



Related Posts: