वैशाख २, २०७४- नेपाली नयाँ वर्ष २०७४ अवसरमा बेइजिङस्थित नेपाली दूतावासले शनिबार अपरान्ह एक भव्य समारोहको आयोजना गरेको छ ।
बेइजिङमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र बेइजिङमा विभिन्न व्यवसाय गरेर बसिरहेका नेपालीहरु गरी चार सयको हाराहारीहारीमा नेपालीहरुको उपस्थिति रहेको नयाँ वर्षको कार्यक्रममा झन्डै एक सयजति चिनियाँहरुको पनि उपस्थिति रहेको थि नेपाली दूतावासको प्राङ्गणमा आयोजित समारोहमा चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपाली गीत र नृत्यसँगै चिनियाँ गीत पनि गाएका थिए । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा कार्यरत चिनियाँहरुले नेपाली पोशाक लगाएर नेपाली गीतमा गरेको नृत्यले दर्शकहरुको ध्यान खिचेको थियो ।चीन भ्रमणमा आएका नेपालका उर्जा राज्यमन्त्री सत्यनारायण भगतले चीनमा आएर नेपाली र चिनियाँलाई नयाँ वर्षको शुभकामना दिन पाउँदा खुशी लागेको बताए । उनले नेपालको उर्जा विकासमा चिनियाँ सहयोग र लगानीको प्रशंसा पनि गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपाल र चीनबीचमा सांस्कृतिक आदानप्रदान बढाउनका लागि नेपाली नयाँ वर्ष मनाउने कार्यक्रमको आयोजना गरिएको बताए । उनले बेइजिङमा रहेका प्राय सबै नेपालीको उपस्थिति रहेको र नेपाललाई माया गर्ने चिनियाँहरुको पनि उल्लेख्य उपस्थिति रहेकोमा आफूलाई खुशी लागेको बताउँदै सबैलाई नयाँ वर्ष २०७४ को शुभकामना व्यक्त गरे ।
कार्यक्रममा चिनियाँ नेता लिउ छुन ह्वाले पनि सम्बोधन गरेका थिए । नेपाली नयाँ वर्षको अवसरमा शुभकामना दिन पाउँदा आफूलाई खुशी लागेको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका सदस्य लिउ छुन ह्वाले बताए । गत वर्ष आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै उनले एक चीनको नीतिमा नेपालले पुर्याएको सहयोगको मुक्त कण्ठले प्रशंसा गरे ।
नेपाल र चीनबीचमा युगौँदेखि सुमधुर सम्बन्ध रहँदै आएको र दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई यस प्रकारका कार्यक्रमले सघाउ पुर्याउने विचार व्यक्त गरे । कार्यक्रममा चीनको सरकारी निकायका उच्च अधिकारीहरु, नेपालका लागि पूर्व चिनियाँ राजदूतहरु, विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु लगायतका एक सयजना चिनियाँको उपस्थिति थियो ।