विपन्नलाई घर बनाउँदै विदेशी

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैशाख २, २०७४- घर लिप्दै गरेकी महिलाले माटो पुगेन भनेर नेपालीमा भन्नेबित्तिकै अप्ठ्यारो गरी अंग्रेजी लवजमा उनीहरू ‘माटो...माटो’ भन्दै सुरुमा अकमकिए । एकैछिनमा ‘हामी ल्याइदिन्छौं’ भन्दै न्युजिल्यान्डका ५७ वर्षीय डेभिड फोरेस्ट र ५० वर्षका मार्टिनसले प्लास्टिकका तगारी लिएर मुछेको माटो ल्याइदिए । उनीहरूमात्र होइन १३ जना न्युजिल्यान्डबाट आएकाले बर्जु गाउँपालिका ६ जानकी टोलमा आठ दिनदेखि श्रमदान गरेर एकल महिला सावित्री विश्वकर्माको घर बनाइरहेका छन् ।

रिटायर्ड जीवन बिताउँदै गरेका उनीहरू ह्याविट्याट फर ह्युमेनिटी नेपाल र फरवार्डको सहयोगमा बर्जुसम्म पुगेका हुन् । यसअघि उनीहरूले आधा शरीर नचल्ने कल्सीदेवी चौधरीको घर बनाइदिएका थिए । बाँस, टिन र खरले बनेको ४ सय स्क्वायर फिटको इँटाको फन्डिसनमा दुइटा सुत्ने कोठा, बरन्डा, भान्सा र एउटा शौचालय बनाइदिएका हुन् । करिब तीन लाख ५० हजार लागतमा निर्माण भएको घर सावित्रीलाई हस्तान्तरण गरियो ।

बायो मेडिकल इन्जिनियरिङका पूर्व प्रोफेसर मार्टिनस्ले भने ‘संसारमा सबैभन्दा बढी खुसी र प्रसन्न नेपाली भएको पाएँ ।’ नेपालीहरू अभावमा पनि खुसीसाथ बाँच्न सक्दा रहेछन् भन्ने अनुभव भएको उनले बताए ।
२० वर्षअघि अन्नपूर्ण आधारशिविर भ्रमण सम्झँदै भने, ‘त्यतिबेला पनि मैले नेपाली ज्यादै मिलनसार हुन्छन् भन्ने अनुभव गरेको थिएँ । झाडाले अलि थकित देखिएका ५७ वर्षका डेविड फेरेस्टर पूर्वविल्डर्स हुन् ।
‘न्युजिल्यान्डवासीको दैनिकी सबै मेसिनबाटै चल्ने गरेको छ तर यहाँ सबै हातले गर्नुपर्दा पनि नेपालीको अनुहारमा कुनै दिक्दारी देखिनँ,’ उनले भने, ‘नेपाली अभाव र गरिबीमा पनि हाँसेर बाच्दा रहेछन्, यस्तो अन्त पाइँदैन ।’

ह्याविट्याट फर ह्युमेनिटी नेपालका पूर्वाञ्चल प्रमुख सन्दीप पौडेलले विश्वका ८० देशमा यो संस्थाले काम गरिरहेको जनाए । ‘यस्तो संसार होस् जहाँ सबैको घर होस्’ भन्ने लक्ष्यसाथ सुरु भएको अभियान नेपालमा सन् १९९७ देखि लागू भएको हो । सुनसरीमा १० वटा घर बनाइएको छ भने पार्टनर संस्थाको माध्यमबाट निर्माणका लागि सहुलियत ऋण लिएर हजारभन्दा बढीले घर बनाएका छन् ।



Related Posts: