जेष्ठ २९, २०७४- पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सरकारले चाहे तत्काल संविधान संशोधन गरेर सबैलाई निर्वाचनमा सहभागी गराउन सकिने बताएका छन् । तर त्यसको लागि इच्छा शक्ति आवश्यक भएको उनको तर्क थियो ।
विराटनगरमा पत्रकारसंग सोमबार कुरा गर्दै उनले मुलुकमा सबैले द्वन्द्वको खेती गर्ने खेल गरिरहेको आरोप लगाए । ‘राजनीतिक दलसम्बन्धी ऐन एक दिनमा संशोधन गर्न मिल्ने र संविधान संशोधन गर्न नमिल्ने यो हुनै सक्दैन,’ उनले भने, ‘सरकारले राष्ट्रिय जनता पार्टी, एमाले सबैसंग छलफल गरेर न्यूनतम सहमति गरेर संबिधान संशोधन गरेर द्वन्द्व निर्मूल पार्न सक्छ र सबैलाई निर्वाचनमा सहभागी गराउनु पर्छ ।’
उनले सरकारले गैर जिम्मेवार पूर्ण काम गरिरहेको आरोप लगाए । ‘सरकारले एकैपटकमा समस्या समाधान गर्नुभन्दा पनि अंश–अंशमा समाधान गर्न खोजेको छ, यो गैरजिम्मेवारपूर्ण कार्य हो,’ उनले भने, ‘क्यान्सर लागेकोलाई थोरै–थोरै काट्नुभन्दा एकैपटकमा सबै काटेर फाल्नुपर्ने जस्तै सरकारले समस्याको एकमुष्ट सामाधान दिनुपर्छ ।’
राष्ट्रिय जनता पार्टीले निरपेक्ष भएर बहिष्कार गर्नुभन्दा पनि संविधान भएको न्यूनतम सहमतिको विषयहरुलाई लिएर अगाडि बढ्नुपर्ने र बाँकीका लागि प्रयत्न जारी राख्नुपर्ने बताए ।