अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन कर फर्स्योट आयोगका दुर्इ पदाधिकारीलाई पक्रन सार्वजनिक सूचना जारी गरेको छ ।
अख्तियारले बिहीवार गोरखापत्रमा सूचना जारी गरेर आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्रन सहयोग गर्न सार्वजनिक सूचना जारी गरेको हो ।
आयोगका अर्का सदस्य आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा हाल अख्तियारको थुनामा छन् । उनीहरू तीनजना सम्मिलित कर फर्स्योट आयोगमार्फत राजस्व् छूट दिएर राज्यलाई २१ अर्ब रुपैयाँ नोक्सान पु-याएको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ ।
आयोगका एक सदस्य शर्मामाथि अख्तियारले छानबीन गरिरहे पनि राजस्व हिनामिनासँग जोडिएका महत र ढकालमाथि थप अनुसन्धानका लागि अख्तियारले सूचना जारी गरेको थियो । तर उनीहरु दुवै जना सम्पर्कमा नआएपछि अख्तियारले सार्वजनिक सूचना जारी गरेको हो ।
‘निजहरुलाई देख्ने वा फेला पार्ने जोसुकैले यस आयोगको हटलाईन १०७ वा नजिकको प्रहरी मा सूचना दिर्इ भ्रष्टाचार मुद्दाको अनुसन्धान कार्यमा सहयोग पु-याउन हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा अख्तियारले भनेको छ ।
उनीहरुका बारेमा सूचना दिनेलाई ‘उचित पुरस्कार’को व्यवस्था समेत गरिएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको ३५ क अनुसार पक्राउका लागि सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोेगले जनाएको छ ।