काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम एकआध ठाउँबाहेक आइसकेको छ । यसपटकको चुनावमा काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिका सबैको चासोको विषय बन्यो । भरतपुरमा प्रधानमन्त्रीपुत्री मेयरको उम्मेदवार बनेको र काठमाडौंमा २१ वर्षीय युवती रञ्जु दर्शना उम्मेदवार बन्दा दुबै महानगरको चर्चा अरुभन्दा बढी भयो ।
यीमध्ये काठमाडौंको नतिजा आइसकेको छ, मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । यता भतरपुरमा भने विवादका कारण मतगणना स्थगित छ, मतपरिणाम आउन अझै केही समय लाग्नेछ । अब विषय प्रवेश गरौं । काठमाडौं महानगरपालिकामा विवेकशील नेपाली दल पार्टीबाट मेयरको उम्मेदवार थिइन् २१ वर्षीय रञ्जु दर्शना । पहिलोपटक चुनाव लडेकी उनले मेयर पदमा काठमाडौंजस्तो महत्वपूर्ण ठाउँमा राम्रो मत ल्याउन सफल भइन् । २३ हजार ७३९ भोटका साथ उनी तेस्रो स्थानमा रहिन् । जबकी दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याए । जो एमालेका विद्यासुन्दर शाक्यभन्दा १९ हजार ६४४ मत कम हो ।
विद्यासुन्दर ६४ हजार ९ सय १३ मत ल्याई एमालेबाट महानगरको मेयरमा विजयी भए । यहाँनेर रञ्जुले कांग्रेस लगायत अन्य दलको भोट काटेको देखिन्छ । किनकि मजबुद संगठन भएको एमालेको काठमाडौंमा भोट ‘फिक्स’ थियो । प्रचार प्रसार आक्रामक थियो । जसका कारण अरुले भोट काट्ने अवस्था थिएन् । यसरी हेर्दा रञ्जुको उम्मेदवारीले कांग्रेसलाई ठूलो क्षति पुग्यो । दोस्रो कुरा यसअघि हामीले ‘रञ्जु दर्शनाः काठमाडौं महानगरमा कांग्रेस हराउने एमालेकी ‘एक्स’ उम्मेदवार, यस्तो रहेछ भित्री खेल’ भन्ने शीर्षकमा खास खुलासा गरेका थियौं । जसलाई पाठकले अत्याधिक मनपराउनुभएको छ ।
यसैको सिलसिलामा हामीले थप सूचना र तथ्यसहित यो विश्लेषात्मक लेख तयार पारेका हौं । हामीले भनेका थियौं कि विवेकशील नेपाली दलले उठाएका हरेक एजेण्डा नेकपा एमालेसँग मिल्दोजुल्दो हुने गर्दछ । र, एमालेका हरेक मुद्दामा विवेकशील दलले बलियो साथ दिँदै आएको छ । पछिल्लो समय पनि यो क्रम निरन्तर चल्यो । काठमाडौंको महानगरको मेयरमा आइतबार एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भए । विद्यासुन्दर निर्वाचित भएलगत्तै बधाई दिन विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शना बिहानै राष्ट्रिय सभागृह पुगिन् ।
रञ्जुले खादा ओढाउँदै काठमाडौं महानगरका काममा आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताइन् । यतिमात्रै होइन् रञ्जुले नगरवासी र महानगरपालिकाबीच सम्बन्ध सेतुको रुपमा काम गर्ने उल्लेख गरिन् । शाक्यले पनि मिलेर काम गर्न चाहेको बताए । यसले के देखाउँछ भने रञ्जु एमालेसँग नजिक छिन् र एमाले जित्दा खुसी र सन्तुष्ट छिन् । त्यस्तै, उनी बुधबार राष्ट्रिय सभागृहमै आयोजित सपथ कार्यक्रममा पनि पुगिन् । यतिमात्रै होइन् उनी पहिलोपटक साडी र ब्लाउज लगाएर सार्वजनिक कार्यक्रममा देखा परिन् ।
यो सबै उनले एमालेबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्य र उनका टिमको सपथग्रहण समारोहका लागि गरेकी थिइन् । रञ्जु यस्तो औपचारिक पोसाक लगाएर सार्वजनिक समारोहमा पहिले कहिल्यै देखिएकी थिइनन् । यसलाई धेरैले उनी एमालेको कार्यकर्ताजस्तै प्रस्तुत भएको टिप्पणी गरेका छन् । यसले के देखाउँछ भने उनी एमालेप्रति झुकाव राख्छिन् ।