वैशाख ४, २०७४- राजस्व छलेर बेचेको आरोपमा प्रहरीले पोखराबाट ७२ लाख रुपैयाँबराबरको एनसेलको रिचार्ज कार्ड बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामले पोखराको रत्नचोकस्थित एक घरबाट आइतबार ५० रुपैयाँका ७२ हजार र सय रुपैयाँका ३६ हजारवटा रिचार्ज कार्ड बरामद गरेको हो । प्रहरीले ५० र सय रुपैयाँ दरकै रिचार्ज कार्डको ३ वटा खाली बट्टासमेत बरामद गरेको छ ।
एनसेलको जोनल एजेन्ट प्राइम एक्सेस प्रालिले घरभाडामा लिएर एक सातादेखि रिचार्ज कार्ड खुद्रा बिक्रेतालाई बेच्दै आएको थियो । वडा प्रहरी कार्यालय बैदामका इन्स्पेक्टर मोहनमणि अधिकारीले अवैध रूपमा राजस्व छली भएर बिक्री भइरहेको भन्ने सूचना प्राप्त हुँदा छापा मारेपछि रिचार्ज कार्ड भेटिएको बताए । उनले कम्पनी दर्ताको प्रमाणपत्र र रिचार्ज कार्ड खरिद र बिक्री बिल नभएको जनाए । बरामद भएको रिचार्ज कार्ड आवश्यक अनुसन्धानको लागि आन्तरिक राजस्व कार्यालयलाई बुझाइने उनले बताए । प्राइम एक्सेस प्रालिका लेखापाल राजेश श्रेष्ठले वाग्मती अञ्चलमा कम्पनी दर्ता भएकाले प्रमाणपत्र पोखरामा नभएको दाबी गरे । उनले खरिद खाता र बिक्री खाता काठमाडौंबाट ल्याउनुपर्ने भएकाले ढिलाइ भएको बताए । ‘दर्ताको प्रमाणपत्र, खरिद खाता र बिक्री खाता मगाइसकेका छौं,’ उनले भने, ‘एनसेलसँग एग्रिमेन्ट गरी कार्ड बेचेका हौं ।’ नेपाल एनसेल डिलर संघले भने आफूहरूलाई बाइपास गरी एनसेलले नयाँ डिलर खडा गर्न खोजेको बताएको छ । संघका निवर्तमान अध्यक्ष श्याम गुप्ताले एनसेललाई नेपाल सरकारलाई तिर्नुपर्ने कर तिर्न दबाब दिएकाले संघप्रति पूर्वाग्रही भएको बताए । ‘ग्राहकले कर नतिर्ने सिमकार्ड लिँदैनौं भन्ने गुनासो गरेपछि हामीले एनसेललाई कर तिर्न दबाब दियौं,’ उनले भने, ‘त्यसैको परिणाम स्वरूप हामीलाई निषेध गर्न खोजिँदै छ ।’ संघका केन्द्रीय अध्यक्ष सञ्जयकुमार अग्रवालले प्राइम एक्सेसले गैरकानुनी ढंगले रिचार्ज कार्ड बिक्री गरेको दाबी गरे । संघको साधारणसभा पोखरामा चलिरहेका बेला सस्तोमा रिचार्ज कार्ड बिक्री भइरहेको थाहा पाएपछि शंका लागेर सोधपुछ गर्दा अवैध रूपमा बेचबिखन गरेको भेटिएको उनको दाबी छ । उनका अनुसार हाल सय रुपैयाँको एनसेल रिचार्ज कार्ड डिलरले खुद्रा बिक्रेतालाई ९७ रुपैयाँ ५० पैसामा बिक्री गर्छन् । तर, प्राइम एक्सेसले भने ९६ रुपैयाँ १० पैसामा दिइरहेको अग्रवालको आरोप छ । देशभर एनसेलका ५ वितरक र १ सय ५ डिलर छन् ।