अकल्याण्ड, १२ वैशाख । भारतकी १०१ वर्षिया मन कौरले सोमबार न्युजिल्याण्डको अकल्याण्डमा आयोजित वल्र्ड मास्टर्स गेम्सको १ सय मिटेरको रेस जितेकी छिन् । कौरले १ मिनेट १४ सेकेण्डमा रेस पूरा गरिन् । यो उमेरमा रेस पूरा गर्ने उनी एक्ली महिला हुन् । न्युजिल्याण्डको मिडियाले उनलाई चन्डीगढको चमत्कार भएको बताएको छ । रेसअघि उनको स्वास्थ्य जाँच गरेपछि मात्र दौडन अनुमति दिइएको थियो । ९३ वर्षको उमेर पुगेपछि उनले आफ्ना छोरा गुरुदेवसँग एथ्लेटिक करियरको शुरुवात गरेकी थिइन् । रेस पूरा गरेपछि उनले नाच्दै खुसियाली मनाएकी थिइन् ।