‘काठमाडौं उपत्यकामा संयुक्त सैन्य तालिम हुन्छ र यो सानो संख्यामा हुन्छ,’ सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले नयाँ पत्रिकासँग भने । नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा तालिम आयोजना भएको नेपाली सेनाले जनाएको छ ।
चीनले आफ्नो वार कलेजमा नेपाली सेनालाई बर्सेनि चार सिट छुट्याएको छ । नेपाली सेनालाई भारतले एक, अमेरिकाले दुई, बंगलादेश, मलेसिया, क्यानडा र पाकिस्तानले एक–एक सिट दिँदै आएका छन् ।
छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरूलाई निरन्तरता दिने क्रममा नेपालमा पनि तालिम हुन लागेको नेपाली सेनाले जनाएको छ । विश्वको गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिँदै गएको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी पहिलोपटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुक्त सैन्य तालिम गर्न लागिएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाको विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरूबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कूटनीतिक सम्बन्ध अरू बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।’
संयुक्त तालिम गर्ने विषयमा नेपाल र चीनका सैन्य अधिकारीबीच पुस पहिलो साता नै सहमति भएको थियो । काठमाडौं आएका चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चिनियाँ पक्षले प्रस्ताव गरेको थियो भने नेपालले सहमति जनाएको थियो । त्यही सहमतिका आधारमा चीनले सैन्य तालिम घोषणा गरेको थियो । ‘सुरुमा सैन्य अभ्यास भनिएको थियो, तर विभिन्न कारणले अहिले सैन्य तालिम भनिएको छ,’ एक सैन्य अधिकारीले भने ।
सैन्य तालिमबारे नेपाली र चिनियाँ सेनाबीच दुई तहमा वार्ता भएको थियो । फागुनमा युद्धकार्य महानिर्देशक उपरथी विनोद श्रेष्ठको चीन भ्रमणका वेला ३ देखि १२ वैशाखसम्मको मिति तय भएको सैनिक स्रोतले बतायो ।
हालसम्म नेपालको संयुक्त सैन्य अभ्यास भारत र अमेरिकासँग मात्रै भएको थियो । पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य तालिम हुन लागेको हो । गत वर्ष प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणमा चिनियाँ सेनाप्रमुखसँग यसबारे कुराकानी भएको थियो भने रक्षामन्त्री बालकृष्ण खाणको हालै चीन भ्रमणमा पनि चिनियाँ अधिकारीले कुराकानी गरेका थिए ।
तीन महिनापहिले चिनियाँ घोषणा
चीनले १४ पुसमा नेपाली सेनासँग सैन्य अभ्यास हुने औपचारिक घोषणा गरेको थियो । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता यान याजुनले सन् २०१७ को सुरुमै सैन्य अभ्यास हुने बताएका थिए । ‘आपसी सम्मान, समानता, आपसी लाभका लागि बहुआयामिक सैनिक कार्यमार्फत सेनाको क्षमता अभिवृद्धि गर्न तथा आदानप्रदान तथा सहकार्यका लागि हामी काम गर्दै आएका छौँ, निकट भविष्यमा प्रारम्भिक सञ्चारसँग सम्बन्धित विषयमा दुईपक्षीय सैन्य अभ्यास गर्दै छौँ,’ प्रवक्ता यानले भनेका थिए ।
अमेरिका र भारतसँग पहिल्यै
नेपाली सेनाले भारत र अमेरिकासँग यसअघि दुईपक्षीय संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । सन् २०११ देखि नेपाल र भारतका सैनिकबीच सूर्यकिरण नामको सैन्य अभ्यास हुँदै आएको छ । यस वर्ष रुपन्देहीको सालझन्डीस्थित सैनिक तालिम केन्द्रमा सैन्य अभ्यास भएको थियो भने एक महिनाअघि भारतको उत्तराखण्डस्थित पिथोरागढमा नेपाली र भारतीय सेनाबीच संयुक्त अभ्यास भएको थियो ।
नेपाली सेनाको विशेष बाहिनीमा अमेरिकी सेनाको प्रत्यक्ष सहयोग रहँदै आएको छ । विशेषगरी महावीर (रेन्जर) गणसँग अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डसम्बद्ध सैनिकले निरन्तर सैन्य अभ्यास गर्दै आएका छन् । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा पनि अमेरिका, भारतलगायत विभिन्न मुलुकका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ ।
केही नेपाली सैनिक अधिकारीहरू भारत, चीन, बेलायत, अमेरिका, पाकिस्तान, बंगलादेशमा तालिम लिइरहेका छन् । हरेक वर्ष भारतमा ३५, चीनमा २७, अमेरिकामा १५, बंगलादेशमा ५ सैनिक अधिकृतले स्टाफ कलेज, सिनियर कमान्डर, हाइअर कमान्ड, नेसनल डिफेन्स कलेजको कोर्स गरिरहेका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटी, कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी, शान्ति सेना तालिम केन्द्र पाँचखाल, माउन्टेन वारफेयर तालिम मुस्ताङ, जंगल वारफेयर अमलेखगन्जमा विभिन्न देशका सैनिक अधिकृतले तालिम लिइरहेका छन् ।
भारतीय स्थल सेनाले चीन, श्रीलंका, फ्रान्स, अमेरिका, नेपाल, सेसेल्स र काजकिस्तानसँग द्विपक्षीय सैन्य अभयास गर्दै आएको छ । भारत र चीनबीच अक्टोबर १९ मा लद्दाखमा तथा नोभेम्बर १७ मा पुनेमा सैन्य अभ्यास भएको थियो ।
फेरियो राजपा नेताको व्यवहारभैरहवा : ‘आन्दोलन धेरै गरियो, केही भएन । त्यसैले अब मधेसको विकासका लागि भोट माग्न आएका छौं', सिद्धार्थनगर नगरपालिकाका मेयर प्रत्याशी एवं राष्ट्रिय जनत…Read More