शेरबहादुर देउवाको गृहजिल्लामै हार , एमालेले देखायो चमत्कार प्रमुख र उपप्रमुख दुवै एमालेको हातमा

भिडियो सहित हेर्नुहोस !
Advertisement


डडेल्धुरा, असार २१| प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला भएकाले डडेल्धुरालाई कांग्रेसको किल्ला भनेर चिनिन्छ । तर, मतपरिणामले कांग्रेसले गृहजिल्लामै धक्का खायो । कांग्रेसका नेता-कार्यकर्ताहरू अहिले एकले अर्कोलाई अन्तरघातको आरोप लगाइरहेका छन् ।

०४८ देखिका कुनै पनि चुनावमा देउवाले डडेल्धुरामा पराजय भोग्नुपरेको छैन । तर, यो पटक ७ वटा स्थानीय तह रहेको डडेल्धुरामा कांग्रेसले चार वटा स्थानीय तहमा जित हासिल गरेको छ ।
कुल ७५ हजार ७ सय ८० मतदाता रहेको डडेल्धुरा ‘क्लिन स्वीप’ गरेर आफ्नो प्रतिष्ठा जोगाउने देउवाको भगीरथ पयत्न सफल भएन । उनले कांग्रेस जिताउन सकेसम्म सबै प्रयत्न लगाएका थिए ।

कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा बहुमत वडाहरुसहित प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । यसअघि ०४९ र ०५४ को दुवै स्थानीय चुनावमा कांग्रेसले सबै वडासहित मेयर र उपमेयर जितेको थियो । यसपटक एमालेका एमालेका विपिन ओझा १ सय २८ मत अन्तरले मेयरमा विजयी भए ।

एमालेले जिते लगत्तै प्रदेश नम्बर ७ का संयोजक समेत रहेका उपाध्यक्ष भीम रावल डडेल्धुरा पुगेका थिए । बसपार्कमा आयोजित विजय सभामा बोल्दै उनले यसपाली कांग्रेसको किल्ला भत्काएर एमालेले आफ्नो झण्डा फहराएको भन्दै अब डडेल्धुराबाट कांग्रेसको पराजय सुरु भएको बताए ।

किन हार्यो कांग्रेस
कांग्रेसले डडेलधुरामा पराजय भोग्नुका धेरै कारण छन् । डडेल्धुरामा देउवा बाहेक कांग्रेसको रामचन्द्र पौडेल गुट छैन । तर, देउवा गुटमै दुई उपगुट छन् । जसमा एउटा गुटलाई आरजु देउवाको समर्थन छ ।

टिकट वितरणमा देखिएको असन्तुष्टिले पनि कांग्रेसको पराजपयमा साथ दियो भने त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति भइसकेका नेता देवराज भट्ट बागी उठ्नुपर्ने अवस्था आयो
कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा नै कांग्रेसले हार बेहोर्नुपरेपछि अन्तरघात गर्ने कार्यकर्ताहरुलाई पार्टीले कडा कारबाही गर्नुपर्ने माग गर्दै आइतबार जुलुस प्रदर्शन समेत गरेका छन् । एमालेलाई सघाएको भन्दै नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार डिल्लीराज जोशीले सोही कार्यक्रमबाट आरोप लगाएका छन् ।

देउवा गुटमा पनि दुई उपगुट
कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि डडेल्धुरामा दुई उपगुट छन् । जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्व सभापति रघुवर भट्टका अलग उपगुट रहेका छन् ।

दुवै पक्ष कांग्रेसको छैटाैं जिल्ला अधिवेशनबाट नै दुई वटा गुटमा विभाजन भएका थिए । रघुवर प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नजिक मानिन्छन् भने सभापति कर्णबहादुर खुमबहादुर खड्काको निकट मानिन्छन् । कांग्रेसभित्रका यी दुई गुटमा तालमेल नमिल्नु नै हारको प्रमुख कारण रहेको केही बिश्लेषकहरुको भनाइ छ ।

टिकट प्रक्रियामा ढिलाइ
कांग्रेसको बलियो प्रतिद्वन्द्वी नेकपा एमालेले आफ्ना उम्मेदवारको टुङ्गो लगाएर प्रचारप्रसारमा हिँडेको एक महिनापछि मात्र कांग्रेसले टिकट वितरण गर्दा हारको अर्को कारण बनेको छ ।
एमालेतर्फका उम्मेदवार प्रतेक वडाका दोहोर्याएर-तेहेर्याएर मत माग्न पुगिसक्दा मनोनयन दर्ताको चार दिन अगाडि मात्र कांग्रेस उम्मेदवारको टुङ्गो लागेको थियो । टिकट प्रक्रियामा ढिलाइ भएका कारण कांग्रेसको तयारी नपुग्नु हारको अर्काे कारण मानिएको छ ।

टिकट प्रक्रियामाप्रति असन्तुष्टि
अमरगढी नगरपालिकाको मेयर तथा उपमेयर पदमा रघुवर भट्ट निकट दिल्ली राज जोशी र पार्वती झुकालले टिकट पाएका थिए । त्यसपछि सभापति देउवाले टिकट वितरणमा एकलौटी गरेको भन्दै डडेल्धुरामा तीन दिन नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन समेत गरेका थिए ।
मनोनयन हुनुभन्दा केही दिन अगाडि मात्रै कार्यकर्ताको मूल्यांकन नगरी आर्थिक चलखेलमा टिकट वितरण भएको आरोप लगाउँदै कांग्रेस कार्यकर्ता विरोध प्रदर्शनका उत्रिएका थिए । तर पनि टिकट वितरण नसच्याइएकामा उनीहरु निर्वाचनको दिनसम्म पनि रुष्ट रहेका थिए ।

रुष्ट रहेका समूह मनैदेखि प्रचारप्रसारमा नलागेकोे तथा चुनावलाई लिएर बेवास्ता गरेकाले कांग्रेस हार्नुपरेको आरोप लागेको छ ।
अन्तरघात गर्ने ‘मास्टर प्लान’
निर्वाचनको एक रात अगाडि असन्तुष्ट भएको समुहको विशेष बैठक बसी कांग्रेसलाई भोट नहाल्ने र विपक्षी पार्टी एमालेलाई भोट दिने निर्णय गरेको आरोप यति बेला उनीहरुमाथि लागेको छ ।

आफूहरुले टिकट नपाएको भन्दै हारको स्वाद चखाउन निवार्चनको एक दिन अगाडि मात्रै कांग्रेसमा भोट नहाल्ने मास्टर प्लान बनेको एक कांग्रेस कार्यकर्ता प्रकाश जैरु बताउँछन् ।

भोट नदिएर अन्त्तरघात गर्ने कार्यकर्ताहरुलाई पार्टीले कडा कारबाही गर्नुपर्छ भन्दै अर्को समूहले आइतबार प्रदर्शन समेत गरेका छन् । आइतबार पार्टी कार्यालयमा ताला बन्दी समेत गरेका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पराजित उम्मेदवार जोशीले उनीहरुलाई निश्कासन नगरिए कांग्रेस अब सधैं पराजित हुने बताए ।
हारबारे यसो भन्छन् पार्टी सभापति मल्ल

कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्ले अमरगढीको हारले पार्टीलाई ठूलो क्षति पुगेको बताए । आन्तरिक व्यवस्थापनका पक्षहरु नमिलेकाले पराजित भएको भन्दै उनले अब समीक्षा हुने बताए ।
पार्टीको बैठक बसाएर सबै उम्मेदवार तथा कार्यकर्ताबीच छलफल गराएर अब आफूले नयाँ दृष्टिकोण बनाउने भनेर प्रक्रिया दिए पनि हालको दिनसम्म कुनै बैठक बसेको छैन ।

कांग्रेसले अमरगढी नगरपालिकामा आफ्नो साख गुमाउनु भनेको अबका चुनावमा पनि हार सुनिश्चित गर्नु हो भन्ने विश्लेषण यहाँका स्थानीय बौद्धिक समुदायको रहेको छ । कांग्रेसले डडेल्धुराका सातमध्ये चार स्थानीय तह मात्र जित्नु शेरबहादुर देउवा आफ्नै गृहजिल्लामा कमजोर बन्नु हो भन्ने विश्लेषण गरिएको छ ।कांग्रेसका शुभचिन्तक तथा शिक्षक अशोक बमले प्रतिक्रिया दिए, ‘कांग्रेसमा ठूलो बुमेराङ आउनुका साथै जिल्लामा वर्चस्व गुमेको छ ।’-अनलाइन खबरबा

Related Posts: