भारतीय करले नेपाली अदुवा निर्यात रोकियो

भिडियो सहित हेर्नुहोस !
Advertisement


भारत सरकारले गत सातादेखि लागू गरेको गुड्स एन्ड सर्विस ट्याक्स (जीएसटी) का कारण नेपाली अदुवा निर्यात प्रभावित भएको छ । भारतले केही साताअघि जीएसटीअन्तर्गत स्वदेशी उत्पादन निर्यात र अन्य मुलुकबाट आयात हुने कृषिजन्य वस्तुमा समान भन्सार शुल्क लागू गरेपछि निर्यात प्रभावित भएको हो । भारतले जीएसटीअन्तर्गत कृषिजन्य वस्तुको निर्यातमा ५ प्रतिशत भन्सार शुल्क लगाइएको छ । यसअघि यो शुल्क एक प्रतिशत थियो ।

भारतीय नीतिका कारण काँचो माउ अदुवा निर्यात ठप्प भएको छ । अर्बौं रुपैयाँ मूल्य बराबरको अदुवा किसानको खेत र भन्सार नाकामा थन्किएको छ । पाँच करोड मूल्य बराबरको १५ ट्रक अदुवा भारतको नक्सलवाडीमा कुहिएर नष्ट भएको छ । नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्काले भारतले लगाएको जीएसटीका कारण नेपाली किसानसँगै व्यवसायी र निर्यातकर्ता मारमा परेको जानकारी दिए ।
संघका अनुसार जीएसटी लागू भएपछि हाल काँकडभिट्टा नाकाबाट थोरै परिमाणमा काँचो अदुवा भारत निर्यात भइरहेको छ । वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकाबाट भने अदुवा निर्यात ठप्प छ । खड्काले भने, ‘काँकडभिट्टा नाकामा करिब एक सातादेखि रोकिएको ९० ट्रकमध्ये १५ ट्रकको अदुवा कुहिएर नष्ट भयो । बाँकी अदुवालाई नष्ट हुन नदिन भारतका भन्सार एजेन्टसँगको सहकार्यमा अस्थायी प्रक्रियामार्फत दैनिक १० देखि १२ ट्रक पठाउने व्यवस्था मिलाइएका छौं ।’नेपाली अदुवा किसान यतिखेर दुई प्रकारका समस्याबाट मारमा परेका छन् । पहिलो जीएसटी र दोस्रो, जीएसटी लागू भएपछि नेपाली उत्पादक र व्यवसायीबाट खरिद गर्ने भारतीय एजेन्टले जीएसटी कोड नलिनु । ‘हामीबाट खरिद गर्ने भारतीय एजेन्टले पनि जीएसटी कोड प्राप्त नगरेकाले अदुवा थन्क्याउन बाध्य भएका छौं’, खड्काले भने । अवरोधका कारण पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्थुम, धनकुटा, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगा, मकवानपुर, नवलपरासी, धादिङ, नुवाकोट, रसुवा, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, सल्यान र कैलालीलगायत जिल्लामा उत्पादन भएको माउ अदुवा निर्यात भएको छैन ।

Related Posts: