श्रावण ८, २०७४- चीनसँग मोटरबाटो जोडिएपछि दुर्गम ओलाङचुङगोलाका बासिन्दा शुक्रबार रातभर जागै बसे। सदरमुकाम फुङलिङबाट २६ कोस उत्तरको यो विकट बस्तीमा रातभर नाचगान र भोज चल्यो। गाउँका गण्यमान्यदेखि सर्वसाधारणसम्मका गलामा माला सजिएका थिए।
आफ्नै सदरमुकाम पुग्नुभन्दा छिमेकी देशको सीमावर्ती बजार ‘रिउ’ यहाँका बासिन्दालाई पायक पर्छ। तिब्बतसँग भाषा, संस्कृति, संस्कार पनि मिल्दोजुल्दो रहेकाले उनीहरू खाद्यान्नदेखि जुत्ता–कपडासम्म किन्न उतै पुग्छन्। कस्सिएर हिँड्न सक्नेहरू ओलाङचुङगोलाबाट एकै दिनमा रिउ पुग्थे। तर, अब सडक नै बनेपछि पैताला खियाउनुपर्ने बाध्यता हट्दै छ। खाद्यान्न ढुवानीका लागि चौंरी, याक लैजानुपर्ने झन्झट अब रहँदैन। नियमित यातायात चलाउन सके तिब्बतमा लोड गरिएको सामान बस्तीमै झर्छ। शुक्रबार सीमा प्रहरी चौकीको छेउसम्म सडक ट्रयाक पुर्याइएको छ। उत्तर–दक्षिण लोकमार्ग सडक आयोजनाका प्रमुख कुवेर नेपाली यो सडकलाई दैनन्दिन जीवनदेखि आयआर्जनका लागि भरपुर उपयोग गर्न सकिने बताउँछन। पर्यटन विकास तत्कालदेखि गर्न सकिने उनको दाबी छ। ‘तापेथोक बगर पुगेको सडक अब हामी तत्काल लेलेपको रानी पुलसम्म विस्तार गर्दैछौं। त्यहाँबाट लेलेपको बस्ती नजिक पर्छ,’ उनले भने, ‘यहाँबाट ओलाङचुङगोला र कञ्चनजंघा आधारशिविर जाने पैदलमार्ग छोटिन्छ।’ सदरमुकाम फुङलिङबाट रानीपुलसम्म सानो गाडी (ट्याक्सी) मा तीन घण्टामा पुगिन्छ। त्यहाँबाट अढाई/तीन घण्टाको पैदलमा लेलेपको इलाडाँडा पुगिन्छ। होमिस्टे सेवासमेत रहेको यहाँ झुरुप्प बस्ती छ। यो बस्तीबाट हिँडेर पाँच/छ घण्टामा ओलाङचुङगोला पुगिन्छ। यो मार्गबाट इलाडाँडा झरना, तमोर, घुन्साजस्ता नदीको छाल, तमोर फल्स, भष्मे पँmडानी गरेर बसेको बस्ती, हिमाली सौन्दर्य र हिमशृंखला नियाल्न पाइन्छ। चैत–वैशाखमा गुराँस, चिमालले भरिने डाँडा पार गर्दै गोलासम्मको यात्रामा विभिन्न चराचुरुङ्गी, वन्यजन्तु देख्न सकिने सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष कृष्ण ओझा बताउँछन्। मालिङ्गो घारीमा रेडपाण्डा जस्ता दुर्लभ वन्यजन्तु पनि भेटिने उनको दाबी छ। गोलामा चार सय वर्ष पुरानो दिकिछ्योखोलिङ गुम्बा छ। ओलाङचुङगोला–टिप्ताला भन्ज्याङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष छेतेन वालुङका अनुसार नेपाली सिमाना टिप्तालासम्म पुग्दा सिंजेमा ताल, ठूल्ठूला फाँट, हिमनदीको सौन्दर्य र दुर्लभ वन्यजन्तु नियाल्न पाइन्छ। दुई नदीले छेकेको मौवाटार, टिप्ताला भन्ज्याङमा उद्गम रहेको तमोर नदी, हिमाली क्षेत्रमा विचरण गर्ने वनभेडा (नाउर) र यहाँका वनजंगल पर्यटकका लागि आनन्द प्रदान गर्न सक्ने क्षेत्र तथा स्थल हुन्। रमणीय सिंजेमा ताल हेर्न मोटरबाटोबाट एक घण्टाजति हिँड्नुपर्छ। छेतेनका अनुसार तिब्बत प्रशासनले अहिले ओलाङचुङगोलाका बासिन्दालाई मात्रै रिउ सहर जान अनुमति दिन्छ। पर्यटकलाई पनि तिब्बत घुम्ने अनुमति दिए छिमेकी देशको रहनसहन बुझ्न र जान्न सकिने उनको भनाइ छ। त्यसका लागि यही असोजदेखि पहल गर्ने तिब्बतसँग व्यापार गर्दै आएका पूर्वजिल्ला विकास समिति सदस्य दावा एण्ड लामा बताउँछन्। ‘आन्तरिक पर्यटनको योजना सफल भए राम्रो ट्रेकिङ रुट बन्छ, धेरै हिँड्नुनपर्ने भएकाले त्यहाँको व्यापार पनि बढ्छ।’ विगतमा सबैभन्दा टाढाको बस्ती मानिए पनि ओलाङचुङगोला अब कम लागतमा लामो दूरीको गन्तव्य भएको छ। सदरमुकामबाट तापेथोकसम्मको भाडा ६ सय लाग्छ। इलाडाँडामा सादा खानाको २ सय रुपैयाँ पर्छ। ओलाङचुङगोलामा खाना प्रतिछाक तीन सय रुपैयाँमा पाइन्छ। २१ किमि मात्रै भएकाले यहाँबाट टिप्तालासम्मको भाडा ५ सय हाराहारी हुने व्यवसायी बताउँछन्। तिब्बती बजारमा कपडा, जुत्तालगायत सामग्री सस्तो मूल्यमा पाइन्छ।